काठमाडौँः कालिकोट, अर्थात नेपालको कान्छो जिल्ला । विकटताको नमूना । त्यही विकटतालाई चिरेर संसारमै आफ्नो नाम कीर्तिमानी बनाउनु चानचुने होइन् । त्यही सफलता (जुन भनिएको छ तर विवादित) विजय शाहीले प्राप्त गरे ।
उनी उमेरले युवा छन् । २० वर्षकै उमेरमा उनले पाएको सफलता लोभलाग्दो छ । त्यो पनि गिनिज बुकमा नाम लेखाएर पाएको रेकर्ड सानो थिएन । तर यो सबै सत्य हो भनेर पत्याउने ठाउँ भने छैन । उनले पाएको पुरस्कार र अवार्डमा पनि अनुसन्धान आवश्यक छ ।
झण्डै दुई वर्ष यता विजय शाहीले युट्युबरको सहायतामा सबै किसीमका चर्चा पाए । उनलाई चर्चामा ल्याउने पहिलो काम भाग्य न्यौपानेले गरेका हुन् । भाग्य न्यौपानेको साथपछि विजय शाही कालिकोटबाट एकाएक अन्तराष्ट्रिय चर्चाका पात्र बने । प्राय विदेशमा रहेका नेपालीले पनि उनलाई साथ सहयोग गरेका थिए ।
मोटा तथा ठूला किताबका अक्षर अक्षर कन्ठस्थ पार्ने विवादित कीर्तिमान विजय शाहीले राखेको चर्चा थियो । तर रिर्पोट्स क्लबमा पुन्य गौतम (युट्युबबाटै चर्चामा आएका तर विवादित व्यक्ति) ले सोधेको एउटै प्रश्नबाट विजयको रेकर्ड धरापमा परेको थियो ।
जसरी उनी एकाएक चर्चामा आए । धेरैजसो मिडियामा । कतिसम्म भने राष्ट्रिय मानिने प्राइम टेलिभिजनमा पनि । ऋषि धमालाकै अगाडि पनि उनले मोटा मोटा किताब कन्ठस्थ पारेको भान पार्थे । तर सत्य धेरैबेर टिकेन ।
एउटा सत्य के हो भने, कुनै पनि मानिसले संसारमा भएका सारा कुरा सम्झिन सक्छ । त्यसलाई कण्ठस्थ पार्न सक्दैन । कन्ठस्थ पारेपनि त्यसलाई दिमागमा लेख्न सक्दैन ।
लेखेको कुरा पढ्न सक्दैन । किताबमा लेखिएका कुरा पढ्नु नौलो होइन । बाँकी भट्याउने कुरा भट्याउनका लागि मात्रै हो ।
तर त्यही कुरालाई उचाल्ने र पछार्ने नेपाली बानीका कारण विजय शाही चर्चामा आए । उनको चर्चा चुलियो । उनको चर्चासँगै सुरु भयो विवाद र बहस । तर उनले विवाद छाडेनन् ।
अचम्म त के भने आफ्नो गृह जिल्लाका शाहीले कीर्तिमानी काम गरेलगत्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उनलाई दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे ।
उनले कर्णाली मन्त्रिपरिषद बैठकबाटै सो निर्णय गराएका थिए । दुई वर्ष अघि गरिएको यही निर्णय र पुरस्कारबाट विजय शाहीको भ्रम छर्ने कामले प्रोत्साहन पायो ।
जुन अहिले एउटा विषय र संवेदनशिलताको हद मात्रै पार गरेको छैन, सबै किसीमका मानवीय मूल्य र मान्यतालाई समेत तिलाञ्जली दिएर बकबास साबित भएको छ ।
यसले विजय शाहीलाई भन्दा बढी कर्णाली प्रदेश सरकारलाई पनि गिज्याएको हुनुपर्छ । समृद्धिको नारा लगाउने कर्णाली प्रदेश सरकारले यसरी पुरस्कार बाँडेर त्यो कार्यान्वयन गर्न सक्दैन । यसप्रति हेक्का राख्न जरुरी छ ।