काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिम थप बढेकाले लकडाउन लम्बिन सक्ने बताएका छन । साथै अहिले घोषित लकडाउन कुनै पनि हालतमा खुकुलो नहुने पनि उनले स्पष्ट पारेका छन ।
सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समा कुरा गर्दै प्रधानमन्त्री ओलीले लकडाउन लम्बिन सक्ने बताएका हुन । अझै कम्तीमा दुई हप्ता लकडाउन थपिने सम्भावना भएकाले सुरक्षित, सतर्क र सावधानी अपनाउन पनि प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग अपील गरेका छन ।
प्रधानमन्त्री ओलीले कोरोनाबट बच्न सामाजिक दुरी कायम गर्नुपर्ने, लकडाउनको पूर्ण पालना गर्नुपर्ने, विदेशबाट फर्केकाहरुलाई कडिकडाउका साथ क्वारेन्टाइनमा राख्ने कुरामा कही कतै लापरबाही नगर्न पनि मुख्यमन्त्रीहरुसँग आग्रह गरेका छन ।
उच्चस्तरीय संयन्त्र आवश्यक छैन !
सिंहदरबारमा झण्डै ५ घण्टा मुख्यमन्त्रीहरुसँग छलफल गरेका प्रधानमन्त्री ओलीले अहिले नेताहरुले उठाएजस्तो उच्चस्तरीय सर्वदलीय संयन्त्र आवश्यक नरहेको पनि बताएका छन ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरुले उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउन माग गरेपनि प्रधानमन्त्री ओलीले त्यसलाई अस्वीकार गरेका छन ।
उनले सरकारले अहिले प्रभावकारी काम गरिरहेको, सरकारले चालेका कदम सफल भएकाका कारण सरकारलाई नै अफ्ठ्यारो पार्ने कुनै संयन्त्र आवश्यक नपर्ने ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पार्दै सरकार स्वंयमले पूरा अधिकार र निर्देशनका काम गरिहेको दाबी गरे । सरकारले जोडतोडका साथ काम गरिरहेका बेला १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्ने पनि बताए ।
प्रधानमन्त्री ओलीले कोरोनाबट बच्न सामाजिक दुरी कायम गर्नुपर्ने, लकडाउनको पूर्ण पालना गर्नुपर्ने, विदेशबाट फर्केकाहरुलाई कडिकडाउका साथ क्वारेन्टाइनमा राख्ने कुरामा कही कतै लापरबाही नगर्न पनि मुख्यमन्त्रीहरुसँग आग्रह गरेका छन ।
भारतबाट जोखिम बढ्यो, लापरबाही हुदैन
भारतमा कोरोना संक्रमणको संख्या बढ्दै जाँदा नेपालमा जोखिम बढेको पनि प्रधानमन्त्री ओलीको भनाई छ । यो जोखिम भोलि संकटमा रुपान्तरण हुन सक्ने भन्दै लकडाउनमा कही कतै लापरबाही नगरिने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
लकडाउनका कारण नागरिकमा कही कतै समस्या परेपनि त्यसको स्थानीय रुपमै समाधान खोज्न उनले आग्रह समेत गरे । यसका लागि प्रदेश, पालिकाले सुरक्षा र प्रशासनसँग विशेष पहल तथा समन्वय बढाउनुपर्ने पनि उनले बताए ।
कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार प्रभावकारी तथा सफल भएको दाबी पनि गरे । कोरोना केन्द्रित काममा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि उनले सबैलाई आग्रह गरेका छन ।
कोरोना संक्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फ्ड्को मार्ने पनि प्रधानमन्त्री ओलीको भनाई छ । कोरोना भाइरसको लडाईसँगसँगै स्वास्थ्य क्षेत्रका प्रयोशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि उनको दाबी छ ।
प्रशासनिक कडाई थप : मेला, भेला बन्द !
प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने स्पष्ट पारेका छन । संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै नेपालमा लकडाउन खुला गर्न नसकिने र यसमा नरम बनेर लापरबाही नगर्न पनि प्रधानमन्त्रीले आग्रह गरेका छन ।
लकडाउनमा प्रशासनिक लापरबाही गर्न नहुने, मेला लाग्ने, मान्छे जम्मा हुने आदी गतिविधि रोक्न पनि प्रधानमन्त्रीले सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन । यस्तो बेला स्पष्ट निर्देशनका लागि प्रशासन र प्रहरी संगठनलाई केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिने उनले बताए ।
लकडाउने नागरिकलाई दुःख दिन नभई, जनताको जीवन रक्षाका लागि भएको पनि प्रधानमन्त्रीको भनाई छ । लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि प्रधानमन्त्री ओलीले आह्वान समेत गरेका छन ।
साथै कोरोनाबाट बच्न सरसफाईमा ध्यान दिन, माक्स र चश्मा प्रयोग गर्न र मनोवैज्ञानिक काउन्सेलिङ बढाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन ।