काठमाडौ । कर्णाली नदी माथिको एकान्त डाँडा । स्कुलको नाम, नेपाल राष्ट्रिय आधारभूत विद्यालय । स्कुलमा जम्मा जम्मी दुई वटा भवन देखिन्छन । चारदेखि पाँच वटा कोठा छन ।
स्कुल बन्द भएको झण्डै एक महिना बित्यो । बस्ती परको जंगलको स्कुल । एक महिनापछि एकान्तमा परेको स्कुलमा अहिले क्वारेन्टाइन निर्माण गरिएको छ ।
भारतबाट आएका १३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । तर फोटोमा देखिएजस्तै क्वारेन्टाइनमा बसेकाहरु भुईमा सुत्न बाध्य छन ।
एकान्त जंगलको स्कुलमा न बिजुली छ । न कुनै भरपर्दो सुरक्षा व्यवस्था । हालै पाँच जना प्रहरी आएर सुरक्षा दिइरहेका छन । तर सुरक्षा दिन आएका प्रहरीको पनि अवस्था बेहाल नै छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाले थानकोट पारीको ताउलेमा रहेको नेपाल राष्ट्रिय विद्यालयलाई क्वारेन्टाइनमा रुपान्तरण गरेको छ । तर क्वारेन्टाइनमा बसेका भारतबाट आएका परदेशीहरुको व्यवस्थापन भने झुर छ । उनीहरुलाई क्वारेन्टाइनमा जस्तो कुनै सेवा सुविधा भने छैन ।
क्वारेन्टाइनमा बसेकाहरुका लागि पञ्चपुरी नगरपालिकाले चामल, दाल, तेल लगायतका खाद्यान्न सामग्री उपलब्ध गराएको छ । तर चामल भने गुणस्तरीय छैन ।
क्वारेन्टाइनमा बसेका एक जनाले गुनासो गर्दै भने, ‘एक हप्तादेखि क्वारेन्टाइनमा बसेका छौ । तर चामल पकाएर खाने अवस्था छैन । पुरानो सडेगलेको चामल देखिन्छ । तै पनि खाइरहेका छौ । उज्यालो छैन । अन्धकारमै रात बित्छ ।’
खाना पकाउने, सुत्ने गतिलो व्यवस्थापन छैन । क्वारेन्टाइनमा बसेकाहरु भुईमा म्याट ओछ्याएर सुत्न बाध्य छन । क्वारेन्टाइन निर्माण गरेपनि नगरपालिकाले व्यवस्थापनमा कुनै ध्यान नदिएको युवाहरुको गुनासो छ ।
पञ्चपुरीकै कुइने गाउँका बासिन्दा तप्तबहादुर बिष्ट पूर्वराज्यमन्त्री हुन । उनी अहिले राहत बाड्दै पनि हिडिरहेका छन । तर आफ्नै गाउँमा बसेका युवाहरुप्रति पनि उनको ध्यान छैन । स्वास्थ्य राज्यमन्त्री नवराज रावत पनि क्वारेन्टाइनमा पुगेका युवाहरुको भनाई छ ।
तर मन्त्रीले फितलो व्यवस्थापनप्रति कुनै चाँसो देखाएनन् । यसबारे मेयर उपेन्द्र थापासँग गुनासो गरेपनि उनले क्वारेन्टाइन पालिका सरकारले नभई प्रदेश र संघीय सरकारले हेर्ने बताएको उनीहरुको गुनासो छ । केही दिनअघि मात्रै कर्णाली प्रदेश सरकारले कोरोना महामारी रोकथाम तथा क्वारेन्टाइनका लागि नगरपालिकालाई २० लाख र गाउँपालिकालाई १० रुपैयाँ दिने निर्णय गरेको थियो ।