सिमकोटः हिमाली जिल्ला हुम्लाको विकासमा बजेटको खर्च निरासाजनक रहेको छ । लक्ष्य अनुसार कार्यालयहरुले विकासे काम गर्न नसकेपछि खर्चमा कम देखिएको हो ।
अघिल्लो आर्थिक वर्षको विकास बजेट ५१ दशमलब ६६ प्रतिशत मात्र खर्च भएको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित बजेटबाट सात वटा जिल्लाका स्थानीय तहसहित २७ वटा कार्यालयले सो खर्च गरेका हुन ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख नबिन बिश्वकर्माले अघिल्लो आर्थिक वर्षमा सबै कार्यालय गरी बिकास बजेट वार्षिक ५२ करोड ३५ लाख ७१ ह्जार विनियोजित भएकोमा २७ करोड ४ लाख ९१ हजार ५९६ बजेट मात्र खर्च भएर ५१ दशमलव ६६ प्रतिशत मात्र खर्च भएको जानकारी दिए । उनले यो विकासका लागि निरासाजनक उपलव्धि भएको जनाए ।
कोरोना, हिमपात, कर्मचारी जिल्लामा नवस्ने समस्याले बिकास बजेट कम खर्च भएको सेवाग्राहीको गुनासो रहदै आएको छ । बिकास बजेट कम खर्च हुनुमा, कार्यालय, निर्माण कम्पनी, उपभोक्ताहरुको पनि उत्तिक्कै दोष देखिएको छ ।
यता आर्थिक वर्ष२०७७/०७८ मा हुम्ला जिल्लाको कुल बजेट खर्च ८७ दशमलव १५ प्रतिशत पुगेको छ । कार्यालयका प्रमुख बिश्वकर्माले जिल्लाका कार्यालयहरुको खर्च प्रतिशत सकारात्मक रहेको बताए ।
आर्थिक वर्ष ०७७/०७८ मा कुल तीन अर्ब ३७ करोड ९२ लाख ४७ हजार १९४ को बजेट बिनियोजित भएकोमा दुई अर्ब ९४ करोड ४७ लाख २९ हजार २९४ रुपियाँ सबै कार्यालय गरेर खर्च भएको हो । यो खर्च चालु र पुँजीगत बजेटको हो ।
यसमा नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिका सहित हिल्सा सिमकोट सडम आयोजना, प्रधानमन्त्री कृषि स्याउ जोन, जिल्ला समन्वय समिति लगाएतका २७ वटा सरकारी कार्यालयहरु रहेका छन् । यो खर्चमा प्रदेश सरकार अन्तर्गत कार्यालयहरुको खर्च समावेश गरिएको छैन ।