सिमकोटः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले केही दिन अघि स्थापना गरेको हुम्लाको लिमी बिक्री केन्द्रका लागि एक हजार क्विन्टल खाद्यान्न कोटाको व्यवस्था गरेको छ ।
नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका लागि पैदल मार्गबाट ढुवानी हुने गरी लिमिटेडले सो खाद्यान्न कोटाको ब्यवस्था गरेको हो ।
हुम्ला शाखाका सुचना अधिकारी भरत अधिकारीका अनुसार चालु आर्थिक वर्षका लागि लिमी बिक्री केन्द्रका लागि एक हजार क्विन्टल खाद्यान्न कोटाको व्यवस्था भएको छ । लिमीको घरधुरी र जनसंख्याका आधार खाद्यान्न कोटा निर्धारण गरिएको हो ।
उनले लिमिटेडको केन्द्रीय कार्यालयद्धारा लिमी बिक्री केन्द्रका लागि कोटा निर्धारण गरि ढुवानीका लागि टेण्डर समेत आह्वान भइसकेको बताए । उक्त खाद्यान्न काठमाडौंदेखि केरुङ नाकाबाट तिब्बती मार्ग हुँदै हिल्साबाट लिमीसम्म ढुवानी हुनेछ । ढुवानीका लागि सरकारले अनुदान दिनेछ ।
उनले १४७ घरधुरी र एक हजार दुई सय जनसंख्या रहेको लिमीका तीन गाउँ तील, हल्जी र जाङका लागि पहिलो पटक लिमिटेडले गाउँसम्मै खाद्यान्न ढुवानीको व्यवस्था गरेको बताए ।
यसअघि लिमीका बासिन्दा सो खाद्यान्न लिन सदरमुकाम सिमकोटस्थित शाखा वा गाउँपालिका केन्द्र याल्वाङस्थित बिक्री केन्द्रबाट खाद्यान्न लिदै आउनु भएको थियो । उक्त ढुवानी स्थानीयले आफै व्यहोर्नु पथ्र्यो ।
यसवर्षबाट लिमीका लागि खाद्यान्न बिक्री केन्द्र व्यवस्था लिमिटेडले गरेको हो । यता नाम्खा गाउँपालिकाका अन्य छ वटा वडाका लागि दुई हजार क्विन्टल खाद्यान्न कोरोनाको ब्यवस्था गरेको छ । सो खाद्यान्न पनि केरुङ नाकाबाट ढुवानी हुनेछ ।