काठमाडौं, ३० चैत । कीर्तिपुर नगरपालिकाले लकडाउनका कारण समस्यामा परेका कीर्तिपुरका विद्यार्थीलाई राहत वितरण गरेको छ ।
कीर्तिपुर क्षेत्रमा डेरा गरी बस्ने र होस्टलमा बस्ने विद्यार्थीलाई नगरपालिकाले राहत वितरण गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका उपमेयर सरस्वती खड्काले लकडाउन लम्बिँदै जाँदा विद्यार्थीहरु जीविका चलाउनै समस्यामा परेपछि नगरपालिकाले राहत वितरण गरेको बताएकी छिन । उनले भनिन्, ‘हाम्रो नगरपालिकाभित्र बस्ने कोही पनि भोकै छ भने त्यो हाम्रो जिम्मा हो । कोही पनि विद्यार्थी भोकै राख्दैनौं ।’
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभागहरु रहेको कीर्तिपुर क्षेत्रमा धेरै विद्यार्थीहरु कोठा भाडामा लिएर बसोबास गर्दै आएका छन् । सरकारी सेवामा प्रवेश गर्न चाहनेहरु लोकसेवा आयोगको परीक्षा लगायत विभिन्न परीक्षाको तयारीका लागि पनि यस क्षेत्रमा बस्दै आएका छन् ।
एक्कासी लकडाउन हुँदा उनीहरु घर जान नसकी काठमाडौंमै रोकिएका छन् । नियमित आम्दानी नभएको र लकडाउनका कारण घरबाट खाद्यान्न र पैसा ल्याउन नसकेका कारण विद्यार्थीहरु समस्यामा परेका छन् ।
उपमेयर खड्काले राहत दिने सूचीमा विद्यार्थीलाई प्राथमिकता दिएको बताउँछिन् । नगरपालिकाका वडा कार्यालयहरुले विद्यार्थीको विवरण संकलन गरिरहेको छ ।
‘यतिबेला विपन्न परिवार मात्र होइन, कोठा भाडामा लिएर पढ्न बसेका विद्यार्थीहरु पनि समस्यामा छन्,’ उनले भनिन्, ‘त्यसकारण हामीले उनीहरुको लागि राहत प्याकेज ल्याउन लागेका हौं ।’
समस्यामा परेका विद्यार्थीलाई अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको पनि उपमेयर खड्काले बताइन् ।