सिमकोटः ३५ सय मिटर अग्लो स्थानमा रहेको रानी खर्कमा पुगेर स्थलगत रुपमा उपचार गरिएको हो । बझाङ, बाजुरा र हुम्ला जिल्लाको सिमाना रानी खर्चमा पुगेर खर्कालुहरुको उपचार गरिएको हो ।
खकालुहरु बिरामी भइरहने जानकारी आएपछि नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाद्धारा उच्च स्थानमा रहेको खर्कमै पुगेर उपचार कार्य गरिएको हो ।
गत जेठ महिनाबाट रानी खर्कमा पशुबस्तु हेदै आएकी नाम्खा गाउँपालिका–३ की खाण्डो लामाले चिकित्सककै आएर खर्कालाहरुले उपचार गर्न पाएको बताइन् ।
गाउँपालिका केन्द्र याल्बाङबाट एकदिन पैदल हिडेर चिकित्सकको टोली रानी खर्क पुगेर उपचार गरेको हो । ढाड दुख्ने रोगले पीडित उनले खर्कमा घरेलु उपचार विधि गर्दा सन्चो नभएको बेला चिकित्सक पुगेर उपचार गर्दा निक्कै राहत मिलेको जनाइन् ।
तीन हजार ५१० मिटर अग्लो स्थानमा पशुपालन गर्दै आएका सबै खर्कालाहरुले उपचार गर्न पाएका हुन् । अर्की बाथ रोग बिरामी पेमा लामाले खर्कमा पहिलो पटक उपचार गर्न पाएको बताइन् ।
यसअघि बिरामी भए घरमा खबर गरेर औषधी झिकाउने वा जटिल बिरामी भए बोकेर स्वास्थ्य चौकी तथा जिल्ला अस्पताल पुर्याउनु पर्ने बिकल्प नभएको समयमा उनले चिकित्सक नै आएर खर्कमै उपचारको व्यवस्थाले सहयोग मिलेको बताइन् । स्वास्थ्य जाँच गर्ने क्रममा प्रत्येक खर्कालुलाई कुनै न केनै समस्या देखिएको थियो ।
गाउँपालिकाका स्वास्थ्य संयोजक ग्याछो लामाले खर्कमा बस्दै आएका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिका खर्कालाहरु र जडिबुटी संकलन गर्न पुगेका बाजुरा र जुम्लाबाट आएका ब्यक्तिहरुको पनि उपचार भएको बताए ।
उनले गाउँपालिकामा रानी खर्कमा बिरामी भएको जानकारी आएपछि दुई दिने स्वास्थ्य उपचार कार्यक्रम लिएर उतै पुगेको जनाए । उपचारकै लागि गाउँपालिकाले चिकित्सकको व्यवस्था गरेर चेकजाँच कार्यक्रम सञ्चालन गरेको हो ।
सबै खर्कालामा केही केही समस्या देखिएको बताउदै उनले स्वास्थ्य जाँचपछि औषधीको पनि उपलब्ध गरिएको बताए । बालबालिकादेखि असी वर्ष उमेरका १५२ जना खर्कालाहरुको निशुल्क उपचारको ब्यवस्था गरिएको थियो । खर्कमा बिशेष गरि बाथ, स्वास्प्रस्वास, दम, ग्यास्टिक, रुघाखोकी, एलर्जीका बिरामीहरुको उपचार गरिएको थियो ।
खर्कालालाई परिवार नियोजनका साधन बितरण र उपचार पनि गरिएको थियो । बिरामीको उपचारका लागि रानी खर्क पुग्नु भएका चिकीत्सक नितेश घिमिरेले स्वास्थ्यकर्मी र औषधी सहित टोली पहिलो पटक उच्च स्थानमा पुगेको बताए । सबै बिरामीको उपचार उनैले गरेका थिए ।
खर्कालुलाई आधारभुत औषधी समेत वितरण गरिएको थियो । गाउँपालिका अध्यक्ष बिष्णुबहादुर लामा, उपाध्यक्ष पेमा लामा, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने समेत सोही टोलीमा पुगेको थियो ।