सिमकोटः चीनसँगको सिमाना हिल्सा नाका खुलाउनका लागि नेपाल सरकारसँग सरोकारवाला पक्षले आग्रह गरेका छन् । उत्तरी हुम्लाको चीनसँगको व्यापार व्यवसाय र पर्यटन क्षेत्र मारमा परेको र रोजगारी समेत गुमेको भन्दै नाका खुलाउनका लागि माग गरिएको हो ।
पर्यटन व्यवसायी बिजय लामाले दुई वर्षदेखि हिल्सा नाका बन्द रहेको हुँदा धेरैले रोजगारी गुमाउनु परेको र व्यापार व्यवसाय ठप्प भएकोले सो नाका खुलाउनका लागि सरकारसँग माग गरेका हुन् ।
उनले कोरोना कहर केही कम भएको कारण बन्द रहेको व्यापार र पर्यटन व्यवसायलाई माथि उठाउन र बेरोजगारलाई रोजगारीको अवसर दिनपनि नाका खोल्नु पर्ने माग गरेका हुन ।
उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष नाम्ग्याल तामाङले लामो समय बन्द रहेको नाका सुचारु गरेर खुलाउनका लागि सरकारले पहल कदमी चाँडै गर्नुपर्ने जानकारी दिए ।
धेरै कुरा चीनसँग निर्भर रहेको उत्तरी हुम्लाका लागि नाका बन्दले सबैतिर असर पुर्याएको छ । यो समय चीनको ताक्लाकोटमा व्यापार गर्ने, मानसरोवर कैलाशको दर्शन गर्न हुम्ला हुँदै पर्यटकहरु जाने र ताक्लाकोटमा जिल्लामा बेरोजगार युवायुवती रोजगारीका लागि जाने भएपनि दुई वर्षदेखि बन्द हुँदा हुम्लाबासीको आम्दानीमा हुन पाएको छैन ।
उनले यी कुरालाई ध्यानमा राखेर सरकारले नाकालाई सुचारु गर्ने पहल गरेर बेरोजगारलाई रोजगार र आम्दानीका बाटो खुलाउनु पर्ने उल्लेख गरे ।
दुई देशका छिमेकी जिल्लाको मित्रता कायम राख्न पनि नाका खोल्नु पर्ने बताउदै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले सरकारले त्यसका लागि पहल गर्नुपर्ने माग गरे ।
नाका बन्द कै कारण बिगत दुई वर्षयता दुई देशका सिमा क्षेत्रको स्थानीय प्रशासनबिच सिमा वार्ता समेत हुन सकेको छैन । यो नाका बन्द हुँदा वर्षमा दुई हजार हुम्लाका बेरोजगार युवायुवतीले चीनको ताक्लाकोट गएर काम गर्ने अवसर पनि गुमेको छ । त्यसबाट जिल्लामा पन्द्रदेखि बीस करोड रुपियाँ र सामान भित्रिने गथ्र्यो ।
तर हाल त्यो कमाई पनि बन्द रहेको छ । २०७६ सालमा ताक्लाकोटमा काम गर्न र व्यापार व्यवसाय गर्न गएका १४७ जना हुम्लाबासी भने हाल उतै काम गर्दै आएका छन् ।
नाका बन्द हुँदा हिल्सामा भन्सार तथा अध्यागमनका कार्यालय समेत बन्द रहदै आएका छन् ।