सिमकोटः अग्लो लेकमा पुगेर चौँरी गाईसहित अन्य पशुवस्तुको उपचार गरिएको छ । बर्खा लागेसँगै सम्भावित पशुवस्तुमा देखिन सक्ने रोगविरुद्ध उपचार गरिएको हो । नाम्खा गाउँपालिका – ३ का पेमा लामा चौरीसहितका पशुवस्तुमा रोगहरु देखिन थालेपछि पशु स्वास्थ्यकर्मी आएर उपचार गर्ने कार्य भएको जानकारी दिए । नाम्खा गाउँपालिकको रानी खर्कको उच्च पाटनमा पुगेर पशुको उपचार गरिएको हो ।
उनले दैनिक वर्षा हुने र पशुमा सम्भावित देखिन सक्ने रोगविरुद्ध उपचार गरिएको बताइन् । नाम्खा, खार्पुनाथ र सिमकोट गाउँपालिका पशु पालक किसानहरु गत जेठ महिनायता रानी खर्कमा अस्थायी रुपमा पशु पालन गर्दै आएका छन् ।
गाउँपालिका पशु स्वास्थ्य शाखाका संयोजक पठाने बुढाले तीन दिनमा दुई हजार ७१५ वटा पशुको उपचार गरिएको बताए ।
उनले शाखामा पशु बिरामी भएको खबर आएपछि पशु स्वास्थ्यकर्मीको टोली औषधी बोकेर खर्कमा पुगेर उपचार गरेको उनले भने ।
पाँच हजारको संख्यामा पशु भएपनि बिरामी भएका पशुको उपचार तथा औषधी बितरण गरिएको शाखाले जनाएको छ । उनका अनुसार खर्कमा पुगेर उपचार गरिएका पशुबस्तुहरुमा गाई घोडा पचास, याक र नाक चालीस, जुमा झोपा दुई सय, बाछा बाछी १२०, घोडा ५५ र भेडाबाख्रा पशु दुई हजार २५० रहेका छन् ।
पशु पालनका लागि निक्कै उपयोगी रहेको रानी खर्कमा पशुहरुमा जिवाणुबाट हुने रोग, आँखाको रोग, घाउँखटिरा, बिषाणुबाट हुने रोग र परजिवी हुने रोग लागेको र त्यसको उपचार गरिएको हो । पशुमा रोग लाग्ने क्रम बढ्न थालेपछि गाउँपालिकामा खवर गरिएको थियो ।