भारतको मध्य प्रदेशस्थित छतरपुर जिल्लामा एक मानसिक रोगीले डाक्टरको कुर्सीमा बसेर रोगीहरूलाई औषधि सिफारिश गरेका छन् ।
जिल्ला अस्पतालमा ती मानसिक रोगीले डाक्टरको च्याम्बरमा बसेर अनेकौं मानिसको उपचार गरे । डाक्टर हो भन्ठानेर रोगीहरू आए र उनले चेक गर्दै औषधि लेखिदिए । उनले १२ भन्दा बढी मानिसको स्वास्थ्य परीक्षण गरेर औषधि सिफारिश गरेको पाइयो ।
अस्पतालको ओपीडीमा भीडभाड हुँदा सबै डाक्टर रोगी हेर्न व्यस्त थिए । त्यतिखेर च्याम्बर नम्बर २० मा रोगीहरूको लाइन लाग्यो । त्यहाँको सीटमा बस्ने डा हिमांशु बाथम सीटमा थिएनन् । मानिसहरूले भित्र एकजना बसेर रोगी हेरिरहेको र औषधि दिइरहेको देखे ।
हेर्दाहेर्दै उनले १२ भन्दा बढी मानिसलाई औषधि लेखे ।
सरकारी औषधि पसलमा रातो पेनले लेखेको औषधि सिफारिश आउन थालेपछि पसलेलाई शंका लाग्यो । त्यसपछि उनले अस्पतालभित्र गएर हेर्ने निर्णय लिए ।
उनले औषधि लेख्ने डाक्टरको च्याम्बर गएर हेर्दा मानसिक रोगीले उपचार गरिरहेको देखे । अस्पताल व्यवस्थापनले पनि यो कुरा थाहा पायो र हंगामा मच्चियो ।
अनि अस्पतालका स्टाफहरूले मानसिक रोगीलाइृ च्याम्बर बाहिर निकाले र अलर्ट जारी गरे ।
रमाइलो कुरा त, उसलाई किन यसो गरेको भनी सोध्दा उसले रोगीहरू चिन्तित थिए अनि डाक्टर उपलब्ध थिएनन् त्यसैले म आफैंले उपचार गरें भने । उनले आफूलाई एम्सको चिकित्सक भएको बताउँदै रोगीको शतप्रतिशत ग्यारेन्टी लिने बताए ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । लापरवाही गर्नेमाथि कारवाही गर्ने जिला कलेक्टरले बताए ।