काठमाडौँ : एउटा नेताका लागि राजनीति गर्न जति गाह्रो छ । त्यो भन्दा धेरै गाह्रो छ, टिकट पाउन । अनि टिकट पाएर चुनाव जित्नु भनेको सगरमाथा चढ्नु सरह हो । दश जना व्यापारीले कमाएको सम्पति एकै चुनावमा खर्च गरेर विजयको माला लगाउन त्यति सजिलो छैन ।
कार्यकर्ता, राजनीति, चुनाव, उम्मेद्वारको टिकट नेपाली नेताका लागि मामुली कुरा हो । जुन बाहिरबाट देखिन्छ । तर भित्र यसको पीडा नै बेग्लै छ । यसभित्रको फोहोरी खेल, सत्ताको तुजुक र ज्यानकै बाजी लगाउनुपर्ने अनेक तिकडम झेल्नुपर्छ ।
जसले यी सबै कुराको सामना गर्छ, उसले चुनाव जित्छ । सांसद पद पाउँछ । सांसद बनेर तलब भत्ता र देशको नीति निर्माण गर्छ । अनि सांसद बनेका ती व्यक्ति विरलै मन्त्री बन्छन् । त्यसका लागि कति चाकरी र नेताहरुको पाउ मोल्नुपर्छ भन्ने कुरा स्वयंम मन्त्रीले पदबाट बाहिरिएपछि फेहरिस्त सुनाउँछन् ।
तर त्यो पद चाकडी नगरेको, पार्टीको निर्णयबाट बाहिर गएको भन्दै पार्टीले चाह्यो भने एकैपटक सकिन्छ । ठीक यस्तै इतिहास, कर्णाली प्रदेशमा दोहोरिएको छ । नेकपा एमालेले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना नेताको राजनीतिक जीवन नै कम्तीमा यसपटक र आगामी चुनावका लागि समाप्त गरिदिएको छ ।
एमाले नेता तथा प्रदेश सांसद प्रकाश ज्वाला, नन्दबहादुर सिंह, अम्मर थापा र कुर्मराज शाहीलाई नेकपा एमालेले पार्टी र सांसद पदबाट मुक्त गरेको हो । सर्वोच्चले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै चार जनाको सांसद पद गुमेको फैसला सुनाएको हो । यसअघि उनीहरुको पुनर्वहाली गर्ने आफ्नै निर्णय पनि सर्वोच्चले खारेज गरिदिएको छ ।
यामलालको मुख्यमन्त्री सपना समाप्त
चार जनाको सांसद पद गएसँगै कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यामलाल कँडेलको मुख्यमन्त्री सपना तत्कालका लागि समाप्त भएको छ । चार जना सांसद पदमुक्त भएपछि एमालेको बहुमत १६ जनामा सीमित भएको छ ।
तर कांग्रेस र माओवादी सरकारसँग अहिले स्पष्ट रुपमा १८ जनाको बहुमत छ । यसले अब कर्णालीमा एमाले स्वतः प्रतिपक्षी बनेको छ । यदि कांग्रेस वा माओवादीसँग मिलेको खण्डमा भने उसले सत्ता बनाउन सक्छ । तर यो सम्भावना निकै कम छ ।
यसअघि एमालेसँग २० जना सांसदको बहुमत थियो । यसबीचमा चार जनाले फ्लोर क्रस गरेपनि उनीहरु सर्वोच्चबाट पुनर्वहाली भएपछि कर्णालीमा यामलाल मुख्यमन्त्री बन्ने सम्भावना कायमै थियो । तर सर्वोच्चले फर्काएको सांसद पदविरुद्ध एमाले अध्यक्ष ओली भ्याकेटमा गए ।
यसले यामलालको सपना अब कम्तीमा पहिलो प्रदेशसभाको कार्यकालमा मुख्यमन्त्री बन्ने सपना तुहाएको छ । ओली र यामलालकै कारण बहुमत भएर पनि एमाले प्रतिपक्षीमा बस्नु परेको थियो । अब कम्तीमा यसपटकलाई उसले सरकार बनाउने सम्भावना पूर्ण रुपमा समाप्त गरिदिएको छ ।
यसले अहिले सत्ता गठबन्धन गरेका कांग्रेस र माओवादीलाई पूर्ण रुपमा फाइदा पुर्याएको छ । अहिले माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्री छन् । दशैँपछि कांग्रेस संसदीय दलका नेता जीवन शाही मुख्यमन्त्री बन्ने चर्चा छ ।