जुम्लाः स्तरोन्नतिका लागि बनेको जुम्ला विमानस्थलको डीपीआर अलपत्र परेको छ। दुई वर्ष पहिले नागरिक उड्ययन प्राधिकरण र बुद्ध एयरले जुम्ला विमानस्थल स्तरोन्नती गर्न डीपीआर बनाएको थियो । त्यो डीपीआर कार्यान्वयन भएको छैन । विमानस्थलको स्तरोन्नति नाममै सिमित भएको छ ।
डीपीआरमा एक करोड रुपैयाँ बढीको लागत लाग्ने अनुमान गरिएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले चासो नदिएको सरोकारवाला बताउँछन् ।तत्कालिन पर्यटन मन्त्री स्वर्गीय रविन्द्र अधिकारी जुम्लामा आउँदा ४० सिटको जहाज अवतरण गर्न मिल्ने विमानस्थल बनाउने बचन दिएका थिए । तर उनको निधन भएपछि जुम्ला विमानस्थलको स्तरोन्नती बारेमा कसैको ध्यान पुगेको छैन ।
साँघुरो धावनमार्गका कारण विमानस्थल जहाज अवतरणमा समस्या भइरहेको छ । २०७५ साल जेठ २६ तारा एयरको जहाज जुम्ला विमानस्थकै धावनमार्गमा दुर्घटनामा परेको थियो । त्यो दुर्घटनामा मानवीय क्षति भने हुन पाएन । जहाज दुर्घटनासँगै विमानस्थलको स्तरोन्नतीको पहल सुरु भएको थियो । प्राधिकरणको टोली स्तरोन्नतीको लागि पटक पटक जुम्ला पुगेर फर्किएको छ।
डीपीआर समेत बनेको छ तर पनि विमानस्थलको स्तरोन्नति हुन भने सकेको छैन । जुम्ला विमानस्थलमा दैनिक न्युनतम ३ देखि ५ वटा उडान हुने गरेको छ। साँघुरो धावनमार्गमा जोखिम मोलेरै भएपनि चालकहरुलाई उडान भर्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ।
तारा एयरका पाइलट प्रभाकर घिमिरे धावनमार्ग जति लामो भयो उतिनै सुरक्षित र भर पर्दो हुने बताउँछन् । तर, जुम्लालगायत हिमाली जिल्लाका धावनमार्ग धेरै लामा छैनन् । जोमिखका बीच पनि उडान तथा अवरतण गर्नुपर्ने बाध्यता भएको बताउँछन् । कर्णालीका अन्य जिल्ला भन्दा जुम्ला विमानस्थल सुरक्षित नै मानिदै आएको छ ।
जुम्ला विमानस्थलका प्रमुख प्रकाश शर्माले जुम्लामा यात्रु चापलाई मध्यनजर गर्दा ठुलो जहाजको उडान सम्भव हुने बताए । त्यसका लागि विमानस्थलको स्तरवृद्धि आवश्यक छ, उनले भने, ‘डीपीआर बनिसकेको छ । कार्यन्वयनको आवश्यक छ।’
हाल जुम्ला लगायत कर्णालीका डोल्पा, मुगु, हुम्लामा १८ सिटे जहाज संचालित रहेका छन् । कर्णालीका अरु जिल्ला मध्ये जुम्लामा यात्रुको चाप अत्याधिक छ। धेरैले टिकट नपाउने समस्या छ। त्यसैले विमानस्थलको स्न्ति स्तरोन्नती गरेर ठूला जहाज सञ्चालनको सम्भावना रहेको प्रमुख शर्माको भनाइ छ ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा दुई वर्ष पहिले नै डीपीआर तयार भएपनि नागरिक उड्ययन प्राधिकरण र बुद्ध एयरले अहिले सम्म चासो नदिएको बताउँछन् । अहिलेसम्म डीपीआरकै अत्तोपत्तो समेत छैन् । धावनमार्ग छोटो हुँदा हुँदै पनि पाइटलहरूले जोखिमबीच उडान गरेका छन्। स्तरवृद्धिको आश देखाएर मात्र हुँदैन। स्तरवृद्धिको काम गर्न प्राधिरकणले छिटै प्रक्रिया सुरु गर्न समेत उनको माग छ।