आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
सर्वप्रथम म यहाँहरु सबैलाई नयाँ वर्ष विक्रम सम्वत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु । पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमङ्गको पर्व हुनुपर्ने थियो । समीक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं ।
सिंगो विश्व समुदाय आज कोरोना सङ्क्रमणको महामारीबाट आक्रान्त छ । यस महामारीले हामी नेपालीहरूलाई पनि छोएको छ । संसारभर छरिएर रहेका नेपालीहरुका आफन्तजनमध्ये कतिपयलाई सङ्क्रमित तुल्याएको छ र केहीलाई हामीबाट खोसेको छ ।
तपाईहरुको प्रधानमन्त्रीका रुपमा मैले यही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको छ ।
यतिखेर देशभित्र र बाहिर रहनु भएका सबै नेपाली दिदीबहिनी दाजुभाइहरुलाई मेरो कामना छ– तपाईँ र तपाईका परिवारजन र आफन्तहरू सबै कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सक्नुहोस् । जसलाई सङ्क्रमण भएको छ ।
उहाँहरुले यसमाथि विजय हासिल गर्न सक्नुहोस् । अनि, कोरोना भाइरसको विश्व महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं ।
यस भाइरस विरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको छ । हरेक दुःखका पलहरुमा हामीले तपाईँहरुको हौसलापूर्ण साथ, सहयोग र सद्भाव पाएका छौं । आगामी दिनमा पनि सम्पूर्ण देशवासीहरुको निरन्तर साथ रहनेमा सरकार विश्वस्त छ ।
मेरो नेतृत्वमा रहेको नेकपाको वर्तमान सरकार गठन भएको २ वर्ष वितेको छ । तपाई हामी सबैलाई थाहा छ, विगत दुई बर्षको प्रगति उत्साहजनक रहेको थियो ।
यदि यस महामारीको चपेटामा नेपाल नपरेको भए आज हामी, विकासको दरका बारेमा चर्चा गरिरहेका हुने थियौँ । विगतका उपलब्धिहरूको जगमा उभिएर नयाँ उचाइ हासिल गर्ने योजना बनाइरहेका हुने थियौँ ।
स्वदेशमै फलदायी रोजगारी वृद्धिदेखि कृषिको आधुनिकीकरणको कुरा गरिरहेका हुने थियौं । खनिज पदार्थको उत्खनन् कार्यलाई तीब्रता दिने तयारी गरिरहेका हुने थियौँ ।
यतिबेला नेपाल भ्रमण वर्ष, २०२० को उल्लास फैलिरहेको हुने थियो । वर्षभरि २० लाखभन्दा बढी विदेशी पर्यटकहरुले नेपाल भ्रमण गर्ने अभियानका रुपमा होमस्टे, होटल र रेष्टुराँहरु भरिभराउ हुने थिए । शहर–बजार, टे«किङ स्थल र पर्वतारोहणका गन्तव्यहरुमा पर्यटक र पर्वातारोहीहरुको चहलपहल व्यापक हुने थियो ।
अहिले हामीहरु दूरगामी लक्ष्यसहित थालिएको ‘सगरमाथा सम्वाद’ भव्य रुपमा सम्पन्न भएकोमा खुशी मनाइरहेको हुने थियौँ । जलवायु परिवर्तन, पर्वत र मानव जातीको भविष्यका बारेमा हामीले गरेका छलफल र निकालिएका निष्कर्षको बारेमा विमर्श÷विश्लेषण गरिरहेका हुने थियौँ ।
समग्रमा विगतमा हामीले गरेका वाचाहरु, तिनको प्रगति र अब गरिने कामका योजनाबारे मैले यतिखेर देशवासीका सामू आप्mनो विश्लेषण राखिरहेको हुने थिएँ । पाँचवर्षको जनादेशको झण्डै मध्यतिर आइपुग्दा हाम्रा अपेक्षा र परिणाम बीचको दूरीबारे सम्वाद गरिरहेका हुने थियौँ ।
तर आज हामीहरु एउटा भिन्न प्रकृतिको असहज परिस्थिति बीच नयाँ वर्षको आगमनलाई स्वागत गरिरहेका छौँ । यस असहज परिस्थितिको शीघ्र अन्त्यको अपेक्षासहित म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्ष २०७७ शुभ रहोस् भन्ने पुनः हार्दिक कामना गर्दछु ।
कोरोना भाइरस महामारीका कारण अहिले हामी भयावह अवस्थाबाट गुज्रिरहेका छौं । मेरो पछिल्लो पटकको संबोधनदेखि यताको पाँच दिनको यस अवधिमा थप ३५ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।
मानिसको जीवन रक्षाका लागि सिङ्गो विश्व अहिले ‘लकडाउन’मा छ । हाम्रा सम्पूर्ण गतिविधिहरु लकडाउनमा छन् । कतिपय परिवारका सदस्यहरु आफन्तबाट टाढा लकडाउनमा छन् । सङ्क्रमणबाट जोगिन सामाजिक दूरी कायम राख्नका लागि एकै ठाउँमा रहेर पनि कतिपय हामीहरु पारस्परिक दूरीमा छौं ।
निःसन्देह, दुःखको यस घडीमा हामीभित्रको मानवीय भावनाले हामीलाई अझ दह्रो गरी जोडिरहेको छ । सिङ्गो नेपाली समुदाय राष्ट्रिय एकताको भावनात्मक एकतामा अझ घनिष्ट रुपमा आवद्ध भएको छ ।
तर भौतिक रुपले भन्ने हो भने चाहिँ हाम्रो सामाजिक सम्बन्ध जोड्ने धागो टुटेको छ । सिङ्गो विश्वको अर्थ व्यवस्थालाई गतिशील बनाइराख्ने उत्पादन प्रणालीको कडी टुटेको छ । अन्योल र भयको कहालीलाग्दो अवस्थाबाट अहिलेको समय गुज्रिरहेको छ ।
दिदीबहिनी तथा दाजुभाइहरु,
म अहिले पाँच वर्ष अघिको त्यो कोलाहलपूर्ण अवस्था पनि संझिरहेको छु । त्यतिखेर विनाशकारी भूकम्पका कारण हाम्रा धेरै घरहरु ध्वस्त भएका थिए । आपूm उभिएको भूँइ घरीघरी नाचिरहेको अवस्था थियो ।
अस्पतालहरु घाइतेहरुबाट भरिभराउ थिए । कति उद्धारको अपेक्षामा चिच्याइरहेका थिए । कोही आफन्तको वियोगमा भावविह्वल थिए । न बस्ने ठाउँ छ, न सञ्चित गरिएका खानेकुरा बाँकी रहेको छ । घरबाट मानिस एकाएक सडकमा फ्याकिएका थिए ।
त्यतिबेलाको अत्यासलाग्दो अवस्थालाई हामीले एक भएर सामना ग¥यौं । धैर्यता र साहसका साथ उभियौं, अघि बढ्ने प्रयास ग¥यौं । हजारौं भौतिक संरचना भत्किए पनि हामीले मनोबल भत्किएन दिएनौं, सङ्कटका काला बादलहरु हटेर सूर्यको उज्यालो छरिने विश्वासलाई टुट्न दिएनौँ । त्यसपछि आएका सबै अप्ठ्याराहरुलाई एक भएर एकएक गरी छिमल्दै गयौं ।
प्राकृतिक विपत्तिका कारण नेपालीहरु भौतिक संपत्तिका हिसाबले कमजोर भए होलान्, तर मानसिक रूपमा दरिद्रचाहिँ छैनन् भन्ने परिचय हामीले साहसका साथ दियौं । हामीहरुको यो साहस र धैर्यतालाई धेरैले प्रशंसा गरे, हामीलाई धुलो टक्टक्याएर उठ्न हात दिए ।
हामी नेपालीले परेको बेलामा प्रदर्शित गर्ने गरेको एकता र अनुशासनले नै भत्किएको धरहरा फेरि ठडिन लागेजस्तै शीर ठाडो पार्ने स्थानमा आइपुगेको स्मरण गर्न म सबैलाई हार्दिक आग्रह गर्दछु ।
तर अहिले हामी, त्यस समयभन्दा भिन्न एक अदृश्य ‘शत्रु’ विरुद्ध युद्ध लडिरहेका छौं । यस्तो शत्रु, जसलाई रोकथाम गर्ने खोप या निको पार्ने औषधी अझै आविस्कार भएको छैन ।
यस्तो शत्रु, जसले हामीजस्ता विकासोन्मुख मुलुकलाई मात्रै होइन, विकसित र बलियो स्वास्थ्य संरचना भएका मुलुकहरुलाई पनि हायलकायल पारिरहेको छ ।
हामीले यो युद्ध जित्नका लागि त्यसबेलाको भन्दा भिन्न ‘युद्धका नियम’हरु पालना गर्नु आवश्यक छ । यस युद्धमा ‘दूरीमा शक्ति’ छ, दूरीबाट नै हाम्रो एकता प्रदर्शित हुन्छ भन्ने जस्तो नियमको पालना गर्नुपर्ने अनौठो अवस्था आएको छ । एक्लाएक्लै उभिंदै सामाजिक दूरी कायम राखेर अदृश्य शत्रु– कोरोना भाइरसलाई छल्नु पर्छ भन्नेमा हामी सचेत हुनुपर्छ ।
अहिले जो जहाँ छ, त्यहीँ रहने, स्वास्थ्यकर्मीहरुले दिएका सुझाव र सरकारले जारी गरेका निर्देशनहरुको पालना गर्दै स्व–अनुशासनमा रहने र कोरोना भाइरसको चक्र समाप्त हुने अवधिसम्म धैर्यताका साथ पर्खिने नीति अपनाउनु अपरिहार्य छ ।
हरेक अप्ठ्यारोमा मानिस स्वभावैले अत्तालिन्छन् । यस्तो समयमा मनलाई नियन्त्रणमा राख्नु पर्छ भन्ने म ठान्दछु । यो काम, भनेजस्तै सजिलो पक्कै छैन, तर परेपछि मानिसले त्यसलाई सामना गर्न सक्छ भन्ने मेरो आप्mनै भोगाइले बताउँछ ।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
भनिन्छ, अनिकालमा घरभित्रका भाँडाहरु बज्न थाल्छन् । तर त्यसलाई रडाको मच्चिएको ठान्नु भूल हुन्छ । मन आत्तिएको, भत्किएको बेला ‘गर्नेले गरेन कि’ भन्ने आशङ्का मनमा पैदा हुन सक्छ । गरेको पुगेन कि भन्ने लाग्न सक्छ ।
अझ छिटो, अझ राम्रो र तत्काल परिणाम आउने गरी काम गरिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ । तर अन्यौल र भ्रममा पर्ने या विचलित हुने होइन, मन बलियो बनाउनु आवश्यक हुन्छ ।
विश्वका विभिन्न मुलुकहरुमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या र यसको अनुपात फरक फरक छ । हाम्रो देशमा संक्रमितको संख्या प्रति १० लाखमा ० दशमलव ३ मात्रै छ । अहिलेसम्म संक्रमितको अवस्था सामान्य रहनु र कसैको पनि मृत्यु नहुनुलाई हाम्रा प्रयासको सफलताको रुपमा लिन सकिन्छ ।
हो, अहिले संक्रमणको आशङ्का गरिएका व्यक्तिहरुको जति परीक्षण भइरहेको छ, पर्याप्त छैन । अहिलेसम्म हामीले प्रति १० लाख जनसंख्यामा १५२ को परीक्षण गरेका छौं । संक्रमणमुक्त स्थितिको सुनिश्चितताको लागि यस परीक्षणको दायरालाई निरन्तर बढाउँदै लगिने छ ।
तर, हामी भएका राम्रा कामहरू आफसेआफ वा संयोगले मात्रै भएका हुन् भन्ने पनि नसोचौं । यतिसम्म पनि नभनौं, सीमित कमी कमजोरी र हुन बाँकी कामहरु भने सरकारको अकर्मण्यताका परिणाम हुन् ।
हामी यति त संवेदनशील बनौं, हाल भएका कामहरु दिनरात खटिरहेका चिकित्सक, स्वाथ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सम्बद्ध श्रमिकहरुको मिहेनेतको परिणाम हो । सीमित साधनस्रोतका बाबजुद हामीले गरिरहेका कामहरु सकारात्मक छन् र यिनले परिणाम दिइरहेका छन् भन्ने कुराको दृष्टान्त चैत २५ गते सार्वजनिक भएको एउटा राष्ट्रिय सर्वेक्षणबाट पनि देख्न सकिन्छ ।
जहाँ अधिकांश नागरिकहरुमा कोरोना भाइरसबारे आधारभूत जानकारी पुगेको, त्यसबाट जोगिन अपनाउनु पर्ने कदमबारे उहाँहरु सचेत रहेको र सरकारका कामप्रति अधिकांश नागरिकहरुले सन्तुष्टि व्यक्त गरेको निष्कर्ष प्राप्त भएको छ ।
जति कामहरु हुन बाँकी छन्, तिनलाई तीनै तहका सरकारहरुको नेतृत्व र समन्वयमा निरन्तरता र तीब्रता दिइने छ ।
दिदीबहिनी तथा दाजुभाइहरु,
कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र र समग्र विश्व प्रणालीमै गहिरो र दूरगामी असर पर्ने कुरा निश्चित छ । यस महामारीले हाम्रो जमानाकै सर्वाधिक गंभीर विश्व आर्थिक मन्दी निम्त्याउने सहजै अनुमान गर्न सकिन्छ ।
प्रक्षेपण गरिएका तथ्याङ्कलाई उल्लेख नगर्ने हो भने पनि विश्व व्यापार नराम्रो गरी खुम्चिने, करोडौंले रोजगारी गुमाउने र लगानीका स्रोतहरु सुक्ने कुरा निश्चितजस्तै छ ।
कोरोना भाइरसको यस महामारीबाट सामाजिक र मनोवैज्ञानिक क्षति मात्रै होइन, यस पश्चात् आउने विश्वव्यापी आर्थिक मन्दीले हाम्रो जस्तो उदीयमान अर्थतन्त्रलाई गहिरो धक्का दिने देखिएको छ । ‘यस महामारीबाट कूल ग्रार्हस्थ उत्पादनको २ देखि ४ प्रतिशतको हाराहारीमा हाम्रो अर्थतन्त्रमा क्षति पुग्ने’ भन्ने विभिन्न क्षेत्रका विद्वानहरुको विश्लेषणप्रति सरकारको पर्याप्त ध्यान गएको छ ।
कोरोना पछिको क्षतिको आँकलनका लागि सरकारले आपूmसम्बद्ध विभिन्न निकायहरुलाई परिचालित गरिसकेको छ । आउने हप्ता दिनसम्ममा महामारीको वेगको पूर्वानुमान हुनसक्ने हुँदा समग्र मूल्याङ्कनको प्रक्रिया त्यसपछि मात्रै निष्कर्षमा पुग्ने अवस्था छ ।
हाम्रो योजना थियो– यस नयाँ बर्षमा, नयाँ बर्षको पहिलो महिनाको पूर्वाद्र्धमै रानीपोखरी उद्घाटनको कार्यक्रम राखिने छ । यस्तो लाग्दै थियो– धरहरा १० तल्लामा मात्रै होइन, त्यसभन्दा माथि अग्लिने छ ।
सुनकोशी–मरिन डाइभर्सनको ठेक्का लगाउने काम सकिने छ । सार्वजनिक यातायातमा नयाँ कार्यक्रम घोषणा गरिने छ । गत फागुन ३ गते प्रतिनिधिसभामा मैले संबोधन गर्दा उल्लेख गरिएका कामको विवरणको प्रगति अपडेट गरिनेछ ।
तर हामी महामारीका कारण धेरै कार्यक्रमहरु स्थगित गर्नुपर्ने, केहीको निर्माणमा स्वतः विलम्ब हुने, बजेटलाई रकमान्तर गर्नुपर्ने वा हाम्रा प्राथमिकताका क्षेत्रलाई पुनःव्यवस्थित गर्नुपर्ने अवस्थामा आइपुगेका छौं ।
हामी सबैलाई थाहा छ, यतिबेलाको सर्वोच्च र एकमात्र प्राथमिकता नागरिकहरुको स्वास्थ्य सुरक्षा हो, यतिबेलाको सबैभन्दा महत्वपूर्ण विकास निर्माण कार्य भनेको सङ्क्रमण फैलिन नदिने कुरा सुनिश्चित गर्ने हो ।
त्यसैले अहिले यतिबेला हामीले आप्mनो ध्यान संक्रमितहरुको पहिचान, परीक्षण अनि उपचारमा केन्द्रित गरेका छौं । जतिबेला हामी यस महामारीको ‘ग्राफ’लाई सीधा पार्छौं– त्यसपछि हाम्रा आर्थिक गतिविधिलाई तीब्रता दिन ‘लगानी, लगानी अनि फेरि लगानी’को नीति अपनाउने नै छौं ।
अहिले हाम्रो अध्ययन तथा सर्वेक्षण, ‘टुटेको उत्पादन सम्बन्धको कडी फेरि कसरी जोड्ने, अवरुद्ध उत्पादन प्रणालीलाई कसरी सुचारु गर्ने ?’ भन्नेमा केन्द्रित छ । यसै अध्ययन र सिफारिसको आधारमा सरकारले ‘अर्थतन्त्रको पुनरुत्थानको प्याकेज’ नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक गर्ने छ ।
यतिखेर धेरै महानुभावहरुले सुझाव र सल्लाह दिइरहनु भएको छ । सल्लाह, सरकारको कामको तरिकाका बारेमा छ र साधनस्रोतको सम्बन्धमा पनि छ । कतिपय मित्रहरुले चालू बजेटको विभिन्न शीर्षकमा रहेका स्रोतलाई रकमान्तर गर्न पनि सरकारको ध्यानाकर्षण गर्नुभएको छ ।
कतिपयले उच्च ओहोदामा रहेका र जनप्रतिनिधिले पाउने सुविधामा कटौती गर्नसमेत सुझाव दिनुभएको छ । यी सबै सुझावमा मेरो गम्भीररूपमा ध्यानाकर्षण भएको छ ।
मैले पटकपटक भन्दै आएको छु, यो युद्ध सबैको बलियो एकतामा जितिने युद्ध हो । विश्वव्यापी यस संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ । देश भित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरि रहनुपर्छ । मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारबहन हामी सबैले नै मिलेर गर्नुपर्छ ।
आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो । मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आप्mनो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु ।
विद्यमान कठीन परिस्थितिको सामना गर्न मित्र राष्ट्रहरुबाट प्राप्त सद्भाव, ऐक्यवद्धता र सहयोगप्रति हामी आभारी छौँ । हामीले ब्यहोर्नु परेको क्षतिको मुकाबिला गर्न आवश्यक स्रोत जुटाउन विकास साझेदारहरुबाट प्राप्त साथ र समर्थन प्रशंसनीय रहेको छ ।
यस अवधिमा विश्व बैंकबाट कोरोना संक्रमण रोकथाम आपतकालीन सहयोगका लागि २९ मिलियन अमेरिकी डलर बराबरको सहायता संझौता भइसकेको छ । यसैगरी विभिन्न शीर्षकमा विश्व बैंकसहित विभिन्न साझेदार संस्थाबाट १ हजार ५६३ मिलियन अमेरिकी डलर बराबरको रकमको व्यवस्था भइसकेको छ ।
परम्परागत सहायता नीति, कार्यक्रम तथा सहायताका उपकरणबाट मात्र अहिलेको संकटको समाधान हुन सक्दैन भन्ने स्पष्ट छ । नवीन सहायता नीति, कार्यक्रम र सहायता उपकरणबाट मात्र हाम्राजस्ता जोखिमयुक्त देशले संकटमाथि विजय हासिल गरेर अगाडि बढ्न सक्छन् ।
त्यसैले नियमित रुपमा उपलव्ध भइरहेकोभन्दा थप स्रोत साधन अपरिहार्य भएकाले विकास सहायताको प्रकार, विधि, शर्त तथा ऋणको लागत एवम् प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्न सरकारले पहल गर्ने छ ।
भनिन्छ, संकटले संभावनाको पनि ढोका खोल्छ । कोरोना भाइरसको महामारीले सिर्जना गरेका चुनौतिलाई हामीले अवसरमा रुपान्तरित गर्न प्रयाश गर्नुपर्छ । यस महामारीले स्वास्थ्य पूर्वाधारमा लगानी गर्न सिङ्गो विश्वलाई र हामीलाई पनि बेस्सरी घच्घच्याएको छ । सरकारले यसलाई गंभीर ध्यान दिने नै छ ।
विश्वव्यापी आर्थिक मन्दीका कारण वैदेशिक रोजगारी गुम्नसक्ने जोखिममा रहेका र मुलुकभित्रै वेरोजगार रहेका युवाहरुलाई केन्द्रित गरेर रोजगारीका कार्यक्रम लागू गर्ने नीति अपनाइने छ । कृषि, साना तथा मझौला उद्योगका अतिरिक्त स्वरोजगारीका नयाँ संभावनाहरुको खोजी गर्न सम्बन्धित क्षेत्रका व्यवसायी, विशेषज्ञहरु र स्वयं युवाहरुसँग मिलेर ठोस योजना अगाडि सारिने छ ।
दिदिबहिनी तथा दाजुभाईहरु,
कोरोना भाइरसबाट प्रभावित हुने सबै वर्ग र क्षेत्रका नागरिकको अभिभावकत्व सरकारले लिन्छ । सबैभन्दा पहिले जनतालाई महामारीबाट उम्काइने छ, सँगसँगै रोजीरोटीको जोहो गरिने छ ।
सर्वसाधारण जनता र कमजोर वर्गलाई यथासंभव सामाजिक संरक्षण प्रदान गर्ने, यस समस्याबाट प्रभावित निजी क्षेत्रलाई प्रोत्साहन उपलब्ध गराउने, कृषक तथा आम श्रमिकहरुको आय निरन्तरताका लागि आवश्यक व्यवस्था गरिनेछ ।
मैले पहिले नै घोषणा गरिसकेको छु– आपैंmलाई जोखिममा राखी उपचारमा सङ्लग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र नागरिक सुरक्षामा अहोरात्र खट्ने सुरक्षाकर्मी जस्ता यस युद्धको अग्रपङ्क्तिका योद्धाहरुको व्यक्तिगत र व्यवसायिक सुरक्षामा कुनै कमी हुन दिइने छैन । उहाँहरुको हिफाजत सरकारले हरतरहले गर्नेछ ।
सङ्कटको यस घडीमा जनताको घर आँगनमै पुगेर सेवा पु¥याइरहेका स्थानीय जनप्रतिनिधिहरुप्रति म उच्च सम्मान व्यक्त गर्न चाहन्छु । यसले स्थानीय तहहरुलाई जनताको सबैभन्दा नजिकको सरकारका रुपमा स्थापित गरेको छ ।
आफ्नो प्रदेशको विशिष्ट अवस्था र चुनौतीलाई हेरेर प्रभावकारी ढङ्गले संभाव्य सङ्क्रमणको सामना गरिरहनु भएका प्रदेश सरकारहरुको भूमिकालाई म हार्दिक प्रशंसा गर्न चाहन्छु ।
रोजगारी गुमाएर बिहान साँझको छाक टार्न कठीन भएका, अपाङ्गताका कारण औषधी लगायत अन्य अत्यावश्यकीय सुविधाको पहुँचबाट टाढा रहनु भएका, वृद्धावस्थामा रहनु भएका र विभिन्न हिसाबले असहज अवस्था भोगिरहनु भएका बिपन्न र असहाय दाजुभाइ दिदीबहिनीहरूसमक्ष स्थानीय सरकारहरु स्वयं राहत लिएर पुग्ने छन् ।
अप्ठ्यारोमा पर्नुभएका त्यस्ता व्यक्ति, परिवार या समुदायको पहिचान गर्न र सरकारले उपलब्ध गराउने राहत वास्तविक मर्कामा परेकाको हातमा पुगोस् भन्ने सुनिश्चित गर्न म सबैको सहयोगका लागि हार्दिक अनुरोध गर्दछु ।
विदेशमा रहनुभएका नेपालीहरुप्रति म संवेदनशील छु । विश्वव्यापी सङ्कटको घडीमा उहाँहरु आधारभूत सुविधा र उपचार सेवाबाट बञ्चित हुन नपरोस् भनेर सरकारले विभिन्न तहमा सम्बन्धित देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विदेशमन्त्रीहरुसँग निरन्तर संवाद गरिरहेको छ । नेपालीलाई संरक्षण दिने र आफ्नै नागरिकसरह आधारभूत सुविधा उपलब्ध गराउने बचन दिनुभएकोमा म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।
सङ्कटको यस बेलामा सिङ्गो राष्ट्र एकताबद्ध छ । सबै राजनीतिक दलहरुबाट प्राप्त साथ, समर्थन तथा उहाँहरुबाट प्राप्त रचनात्मक सुझावले सरकारलाई अझ उर्जा थपिदिएको छ । यसका लागि म सबै राजनीतिक दलहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । जनताबाट निर्वाचित सरकार नै सङ्कटको सामना गर्ने नेतृत्वदायी संस्था हो ।
तीनै तहका सरकारहरुले सम्बद्ध सबैका सुझावहरुलाई ध्यानमा राख्दै यस असामान्य अवस्थाको प्रभावकारी ढंगले सामना गर्ने कुराको विश्वास दिलाउन चाहन्छु ।
चैत २५ गते मैले भनेको थिएँ– यस खालको महामारीसँग जुझ्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा आज प्रत्यक्ष देखिएको छ । मानव स्वास्थ्यमा उच्च लगानी गर्ने नयाँ विश्व प्रणालीको आवश्यकता टड्कारो बनेको छ ।
यस महामारीको समाप्तिसँगै मानवकेन्द्रित नयाँ विश्व प्रणालीका बारेमा विमर्शको पनि थालनी गर्नुपर्छ । नेपालले यसमा अग्रसरता लिने छ ।
कुनै पनि युद्धमा विजयका लागि आत्मविश्वास, मनोबल र एकता सर्वाधिक महत्वपूर्ण हतियार हुन् । आत्मविश्वास गुमेको र आत्मबल खस्किएको सेनाले जतिसुकै आधुनिक संशाधनबाट सज्जित भए पनि युद्ध जित्न सक्दैन ।
यस घडीमा म सबैसमक्ष विशेष आह्वान गर्न चाहन्छु– अग्रमोर्चामा रहेर कोरोना भाइरसका विरुद्ध कठीन लडाइँको अगुवाइ गरिरहेकाहरुको मनोबल उच्च पारौँ, राष्ट्रिय एकतालाई थप सुदृढ पारौँ र कोरोना भाइरसलाई समाजमा फैलिनबाट रोक्न र सङ्क्रमण भइहालेमा पनि पराजित गर्न सकिन्छ भन्ने जनताको आत्मविश्वासलाई थप बलियो बनाउन सकारात्मक भूमिका खेलौं ।
आगामी बैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुन्छ । यिनै दुई दिनको अवधिमा हुने प्रगतिको आधारमा कोरोना–महामारी विरुद्धको हाम्रो नीति कस्तो हुने भन्ने सरकारले निर्णय गर्ने छ । ढुक्क होऔं, कस्तै प्रतिकूल अवस्थामा पनि आपूर्ति प्रणालीलाई कमजोर हुन दिइने छैन ।
– फेरि एकपल्ट यहाँहरु सबैको सुस्वास्थ्यको कामनासहित नयाँ बर्ष २०७७ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । सबैमा धेरै धेरै धन्यवाद ।
धन्यवाद ।
(नयाँ बर्षको अवसरमा प्रधानमन्त्रीले जारी गरेको सम्बोधनको पूर्णपाठ)