सिमकोटः कुनै समय बालबालिकाले कपडाको फुटबल बनाएर खेल्ने हुम्लामा अहिले सञ्चालन भएको प्रशिक्षणप्रति आकर्षण बढ्दै गएको छ । स्थानीय स्तरमा सुरु भएको र बालबालिका फूर्सदमा रहेको कारण फुटबल प्रशिक्षणप्रति आकर्षण बढेको हो ।
गत चार दिनदेखि जारी रहेको १३ वर्ष मुनिका बालबालिकाको ग्रास रुट फुटबल प्रशिक्षणमा रुचि एक्कासी बढेको छ । यो फुटबलप्रतिको माया र आकर्षणको परिणाम भएको बुझ्न कठिन छैन । आयोजक हुम्ला फुटबल एकेडेमीका अध्यक्ष बिष्णुबहादुर रावतका अनुसार तीस जना बालबालिकालाई सहभागिता गराउने लक्ष्य भएपनि मंगलबार बिहानसम्म एक सय जना पुगेका छ ।
उनले यसरी सहभागी संख्या पुग्ला भन्ने सोचेका थिएनन । अविभावकले आफ्ना नानीलाई प्रशिक्षणमा सहभागिता गराउनका लागि हारगुहार गर्ने गरेको उनले बताए । अझै बिहान आउने क्रम जारी रहेको छ ।
अब प्रशिक्षणमा सहभागिता बन्द गराउने पक्षमा आयोजक रहेको छ । घर आगनमै फिफा लाइसेन्स प्राप्त प्रशिक्षकबाट प्रशिक्षण सुरु भएपछि सिमकोट बजारमा विश्वका चर्चित खेलाडीको फोटो अंकित जर्सी खरिद गर्ने क्रम बढेको र अविभावक ती जर्सी किनेर आफ्ना बालबालिकालाई प्रशिक्षणमा सहभागिता गराउने घुइँचो बढेको उनले बताए ।
प्रशिक्षणमा खेलाडी बढी सहभागिता हुन थालेपछि चार वटा समुहमा विभाजन गरेर सुरु गरिएको छ । १३ वर्षमुनिका बालबालिकालाई निःशुल्क रुपमा प्रशिक्षणमा सहभागिता गराइएको छ । खेल सामग्रीको व्यवस्था सबै एकेडेमीले गरेको छ ।
प्रशिक्षक मदन बुढथापाले उच्च क्षेत्रमा फुटबलको सम्भावना राम्रो देखिएको बताए । उनले साना खेलाडीको फुटवल प्रशिक्षण प्रतिको लगाब हेर्दा राम्रो संकेत देखिएको जानकारी दिए ।
दुई हप्तासम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रम जिल्लाकै पहिलो हो । केही अगाडी युरो र कोपा अमेरिका कप सकिएको र ती प्रतियोगिता टिभीमा हेरेका बालबालिकामा त्यसको प्रभाव परेको सहजै देखिन्छ । खेल मैदान राम्रो निर्माण नभइ सकेको भएपनि लगनशिन भएर खेलाडीहरुले प्रशिक्षणमा सहभागिता जनाई रहेका छन् ।
आफु भन्दा ठुला दाईहरुले कुनै क्वलले आयोजना गरेको खेल हेरेर फुटवल सिक्नु पर्ने अबस्थाका वालवालिकाका लागि यो प्रशिक्षण कोषे ढुङ्गा सावित हुने बताउदै प्रशिक्षणमा सहजिकरण गरि रहनु भएका पबन रोकायाले अव यसको निरन्तरता दिनु चुनौती थपिने बताए ।
हालसम्म हुम्लाबाट उत्पादन भएका फुटबल खेलाडीले कपडाको बल बनाएर खेल सिकेको स्मरण गर्दै उनले यतिधेरै बलबाट फुटबल सिक्न पाएको पहिलो पटक भएको बताए । यसअघि फुटवल ग्राउण्ड नहुँदा विमानस्थलमा बेलुकाको समय मात्र फुटवल सिक्न र खेल्न बाध्य खेलाडीहरु गतवर्षबाट रंगशालाका लागि जग्गाको व्यवस्था हुँदा तयार भएको फुटबल मैदानमा खेल्दै आएका थिए ।