काठमाडौ । भारतीय क्रिकेटर गौतम गम्भिरले पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई अहिलेका युवा व्याट्सम्यान विकेटकिपर लोकेश राहुलले विस्थापित गर्ने बताएका छन । भारतले सन् २०११ को विश्वकप जित्दा ९७ रनको योगदान दिएका गम्भिरले भारतीय टिममा राहुलको प्रदर्शन निर्णायक बन्दै गएकाले अब उनले धोनीलाई पनि विस्थापित गर्ने बताएका हुन ।
सन् २०१९ को एकदिवसीय विश्वकपपछि धोनीलाई राष्ट्रिय टिममा राखिएको छैन । इंग्ल्याण्डमा भएको विश्वकपमा भारत सेमिफाइनलमा न्युजिल्याण्डसँग पराजित भएको थियो । त्यसयता राष्ट्रिय टोलीमा नअटाएका धोनीले आउँदो अक्टोबरमा हुने ट्वेन्टी ट्वेन्टी विश्वकप खेल्नेमा शंका छ ।
धोनीको ठाउँमा भारतले युवा व्याट्सम्यान रिषभ पन्तलाई विकेटकिपरको जिम्मेवारी दिदै आएको छ । पन्तको प्रदर्शन खस्किएका बेला राहुलले समेत विकेटकिपरको भूमिका निर्वाह गर्दै आइरहेका छन । जुन धेरै हदसम्म प्रभावशाली देखिन्छ ।
अहिले भारतको शीर्ष र मध्यक्रममा रहेर व्याटिंग गरिरहेका राहुललाई भारतीय टिमका वर्तमान कप्तान विराट कोहलीको विकल्पका रुपमा पनि हेर्न थालिएको छ । जुन उनीमाथिको अर्को भरोसा हो ।
ओपनिंग, मध्यक्रम र फिनिसिंगमा पनि सफल देखिदै आएका राहुल आक्रामक व्याटिंग गर्छन । खासगरी टिमलाई आवश्यक परेका बेला चौका र छक्का प्रहार गर्नमा उनी धोनी भन्दा कम छैनन् । यसर्थ पनि गम्भिरले राहुललाई धोनीको सबैभन्दा उपयुक्त विकल्प भएको दाबी गरेका हुन ।
अहिले ३८ बर्ष लागेका धोनीको प्रदर्शन खस्किदै गएको छ । सन् २००७ को ट्वेन्टी ट्वेन्टी विश्वकप र सन् २०११ को एकदिवसीय विश्वकप जितिसकेका धोनीले सम्भवतः आउँदो विश्वकपपछि सन्यास लिन सक्ने अनुमान छ ।
यसका लागि आउँदो सिजनको इण्डियन प्रिमियर लिग आइपिएलमा धोनीको प्रदर्शन निर्णायक हुने पनि गम्भिरको भनाई छ । चेन्नेई सुपर किंग्सका कप्तान धोनीलाई आइपिएलमा राम्रो प्रदर्शन गर्न नसके सन्यास लिनुको विकल्प नहुने पनि गम्भिरको दाबी छ ।
आइपिएलमा सर्वाधिक सफल कप्तान धोनी भारतकै सबैभन्दा सफल र उत्कृष्ट कप्तान मानिन्छन । तर पछिल्लो समय उनको उमेरका सबै खेलाडीले सन्यास लिइसकेको र प्रदर्शन पनि खस्किदै गएपछि धोनीलाई सन्यास लिन दबाब बढ्दै गएको छ ।