अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यस वर्षको सर्वोत्कृष्ट फिल्मको अस्कर पुरस्कार प्यारासाइटले जितेकोमा असन्तुष्टि जनाएका छन् । बिहीवार कोलोराडोमा भाषण गर्ने क्रममा उनले दक्षिण कोरियाली फिल्मले अस्कर जितेकोमा असन्तुष्टि जनाएका हुन् ।
‘यो वर्ष एकेडमी अवार्ड्स कति खराब थिए, देख्नुभो नि ? अनि विजेता पनि दक्षिण कोरियाको फिल्मलाई बनाइयो,’ ट्रम्पले भाषणका क्रममा भने ।
‘के गरेको होला ? दक्षिण कोरियासँग हाम्रो व्यापारका विषयमा समस्या छन् र त्यस्तो बेलामा पनि उनीहरू कोरियालीलाई सर्वोत्कृष्ट फिल्मको पुरस्कार दिन्छन्,’ उनले भने ।
अस्कर अवार्ड जित्ने विदेशी भाषाको पहिलो फिल्म प्यारासाइट भएको छ । फिल्मले सर्वोत्कृष्ट निर्देशक र ओरिजिनल स्क्रीनप्ले अवार्ड पनि जितेको छ ।
तर ट्रम्पले यसमा चित्त बुझाएनन् । उनी ७० वर्षअघि बनेका अमेरिकी फिल्महरूमा बढी रुचि राख्छन् ।
उनले गन विथ द विन्ड र सनसेट बूलेभार्ड जस्ता फिल्मको नाम लिए ।
प्यारासाइट राम्रो भए नभएको आफूलाई थाहा नभएको ट्रम्पले बताए ।
प्यारासाइट फिल्मको अमेरिकी वितरक नियोनले ट्रम्पको आलोचनालाई ट्विटरलाई प्रतिक्रिया दियो ।
‘आलोचना बुझ्न सकिन्छ, उनलाई लेखपढ गर्न आउँदैन,’ कम्पनीले लेख्यो ।