गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले छ महिनाभित्र सबै प्रदेशवासीले खोप पाउने बताएका छन् ।
तनहुँको ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको उल्लेख गरे ।
छ महिनाभित्र प्रदेशका सबै जनतालाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्योभन्दा पहिल्यै उक्त प्रतिवद्धता पूरा हुने मुख्यमन्त्री पोखरेलले बताए ।
प्रदेशका एक तिहाइ जनताले खोप पाइसकेको बताउँदै उहाँले भन्नुभयो, “मनाङ र मुस्ताङ पूर्णखोपयुक्त जिल्ला भइसकेका छन्, खोप अभाव हुँदैन । त्यसका लागि प्रदेश सरकारले प्रयत्न गरिरहेको छ ।”
मुख्यमन्त्री पोखरेलले विकास निर्माणका काम अर्काे वर्ष गरेपनि हुने भन्दै चालु वर्षको बजेटमा कोभिड नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो । “बाटो अर्को वर्ष बनाउँला, पुल पनि अर्को वर्ष निर्माण गरौंला, जनताको ज्यानभन्दा ठूलो कुरा अरु हुँदैन ।
पहिलो प्राथमिकता जनताको जीवनरक्षा गर्नु हो । कोरोनाको तेस्रो लहरको खतरा बढेकाले त्यसको पूर्वतयारीमा सरकार लागिसकेको उनले जानकारी दिए ।
मुख्यमन्त्री पोखरेलले गत असारमा आएको बाढीपहिराबाट क्षति भएको संरचना पुनःस्थापनाका लागि सरकार प्रतिवद्ध रहेको बताए । तीनवटै तहका सरकारको समन्वयमा पुनःस्थापनाका काम गरिने उहाँको भनाइ थियो ।
गण्डकी प्रदेशको समृद्धिका लागि सबै राजनीतिक दल एक ठाउँ उभिनुपर्नेमा उनले जोड दिए । “प्रदेशको समृद्धि र विकासका लागि हामी एक छौँ, प्रदेशवासीको जीवनस्तर उकास्न सरकार लागिपरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक, सरिता गुरुङ, संविधानसभा सदस्य झुलबहादुर आले, गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायतले धारणा राख्नुभएको थियो । रासस