खुशी छौ त सरु ?
अँ ! खुशी नै छु ।
बच्चाले लात हान्यो नि । तर्सिएर डाक्टर भएकोमा गए । डाक्टर साब नै हाँस्नु भयो । तर, बच्चा उल्टो बसेको छ, भन्नुभयो डाक्टरले अप्रेशन गर्नुपर्छ रे । एकै स्वासमा मनका कुण्ठा फुकाँउदै सुनाई ।
हामी महिना दिनपछि समाजिक संजाल फेसबुक मेसेन्जर मार्फत कुरा गर्दै थियांै । एक महिना अगाडी वियोगको पिडाले अनुहारको रङ् नै उडेको रामेछापकी मेरी साथी (सरु)को अनुहारमा खुशी फर्किदै गरेको महसुस गरे ।
केही समय अगाडी सुसाइड गर्छु भन्दै भनिरहने उनीभित्र आजभोली बाँच्ने चाहाना बढ्दै गएको महसुस गरे । अरु कुरा यस्तै हो सुजु मैले घरबेटी चाहिँ साह्रै राम्रो भेटेकी छु । आमाले झैँ ख्याल गर्नुहुन्छ । अनी अफिसका स्टाफहरु उस्तै । मलाई आफ्नाले छोडेर के भयो रगत भन्दा गहिरो सम्बन्ध पाएको छु ।
आत्माविश्वासका साथ मसँग मनमा गुम्साएर राखेको भावना पोख्दै गर्दा ओँठमा मुस्कान, आँखाका डिलमा आँशुले घेरा हालिरहेको देख्न्थ्यिो । सकेसम्म आँसुलाई उनी भित्र नै लुकाउन कसरत गरिहेको देखिन्थिन् । म मौन भएर उनको आँसु र मुस्कानको संयोजनलाई नियालिरहे ।
उनको आत्मविश्वासलाई हेर्दै मनमनै खुशी थिए । उसलाई किन आँसु झार्न लागेकी भनेर प्रश्न गर्न सकिन । स्वभावैले मान्छे दुई कारणले आँसु झार्ने गर्छन । खुशी हुँदा या दुखमा । तर, यो पटक उनको आँखाको डिलमा आएर अड्केको आँसु खुशीको थियो । सरु कति चाँडै विगत भुलेर वर्तमानमा रमाउन सिक्दै रहेछिन् ।
थाहा छ ? म डिप्रेशनमा गए । तर, औषधी सेवन गरिन, मेडिटेशन गरे । अहिले ‘रिलिफ फिल’ हुँदैछ । म त्यो समय आमा बन्दै छु भन्ने कुरा भुलिसकेकी थिए । मलाई “म” (आत्महत्याको प्रयास) सिध्याउन मन लाग्थ्यो । तर जिन्दगीलाई गहिरिएर बुझ्ने हो भने कति सुन्दर रहेछ है ? जब मेरो बच्चाले पहिलो पटक पेट भित्रबाट एक किक दियो म झस्किए ।
म खुशीले रोए । श्रीमान नजिक भए, गर्लम्मै अंगालोमा बेरिएर भन्ने थिएँ, तिम्रो बच्चाले मलाई किक हान्यो । मेरी आमालाई तपाईको नातीले किक हान्यो भनेर सुनाउने थिए । मोबाइलमा नम्बर डायल नगरेको पनि होईन तर, म रोकिए । घरका मान्छे सबै टाढिएका छन् ।
डिभोर्स पछि एक्लो आमा बन्ने निर्णय लिए त्यो दिन देखि मेरो परिवारले मलाई एक्लो बनाइसकेको छ । मेरो एक्लो निर्णय समाज, परिवारको विरुद्ध नै हुन्छ, भन्ने थाहा थियो तर पनि मैले आफु खुशी निर्णय लिए । मैले लिएको निर्णयका कारण मेरो परिवारले समाजको खिसिट्युरीको सामना नराम्रोसँग गर्नुपरेको थियो रे । मलाई भाउजूले सुनाउनु हुन्थ्यो । आजभोली भाउजू पनि टाढिनुभएको छ ।
जब पहिलो पटक बच्चाले किक प्रहार ग¥यो त्यो दिनबाट जिउने हिम्मत बढेर आयो । आमा हुनुको आभास पाएको त्यो दिनदेखि मैले प्रण गरे म जिन्दगीदेखि हार मान्दिन । मेरो बच्चाको त्यो किक मरो डिप्रेशनको ओखती बन्यो । दिनप्रतिदिन पेट बढ्दै जाँदा मलाई नबुझे्काहरुले बच्चाको बुवाको बारे सोध्छन् । कतिपयले एकअर्का मुखामुख जोडेर कुरा काट्छन् । दुनियाँलाई बेवास्ता गर्दै मेरो निजि जिन्दगीलाई अगाडी बढाएर हिँडिरहेकी छु ।
समय कति बलवान रहेछ, हिजोका दिनहरुमा श्रीमानको नामबाट सरु भएर अन्त्य हुने उनको र मेरो गफ आजभोली उनी आफ्नो निजि जिन्दगी बारे सोँच्ने भइछिन् ।
मैलै बिचैमा प्रश्न गरे । अनि आजभोली उहाँ कता हुनुहुन्छ ?
सरुले अनुहार मलिन बनाइन् । मेरो प्रश्नको जवाफ दिन चाहिनन् । सरी ! यो विषयमा कुरा नगरौँ न है ? म जिन्दगी देखि धेरै अगाडि बढी सके । पछाडि किन धकेलिनु ? जुन घाउमा मलहम पट्टीका लागि आफ्नाको स्पर्श समेत भेटिन त्यही घाउ बल्झाउन चाहान्न । म मौन भए । त्यसो त भिडमा उभिनु जति सजिलो हुन्छ, एक्लै उभिनु साहस र हिम्मत चाहिन्छ । कुनै समय श्रीमानको साथ र मायाको गोडमेलमा हुर्केको काठमाण्डौ बसाईको उनको जीवन त्यहि ठाँउमा करोडौँको भिड माझ एक्लै उभिने हिम्मत गर्नु समान्य कुरो होईन् ।
सायद सरुलाई विगत याद आयो क्यारे उनी मौन भईन् । उनको मौनतालाई तोड्न प्रसंग मोड्दै प्रश्न गरे, अब भावी योजना के छ सरु ? मुस्कुराउदै जवाफ फर्काइन, के हुनु यार ! एक्लो आमा बन्दैछु सहास र हिम्मत बटुल्दैछु । अरु केही छैन । लगभग दुई घण्टाको संवादमा पहिलेको सरु र अहिलेको सरुमा धेरै परिवर्तन भटे । आँशुले पोतिएको आँखा भित्र विचराका भाव बाहेक केही देखेकी थिईन तर वर्तमान अवस्थामा उनको आँखामा सुन्दर भविष्य निर्माण गर्ने आँट देखे ।
झ्याप्प बत्ती गयो । बाई भन्न नपाई नेट काटियो । पछिल्लो समय बिराटनगरमा खुब लाईन जान थालेको । पर्दा खोलेर बाहिर हेरे झमक्क साँझ परिसकेको रहेछ । म खानाको तयारीमा लागे । बत्ती आयो तर उनको फोन आएन ।