सिमकोट : हुम्लामा एकिकृत स्वास्थ्य शिविर सञ्चालन हुन लागेको छ । उपचार गर्नै पर्ने र आर्थिक अबस्था न्यून भएका सेवाग्राहीहरुले उपचार पाउनका लागि छनौट भएर पठाईएका बिरामीको उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।
गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले छनौट गरेर पठाएका बिरामीहरुको उचारका लागि स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । गोरखाको वेल्फेटार ट्रष्टको आयोजना र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा सञ्चालन हुने शिविरमा बिरामीको उपचार हुनेछ ।
सो शिविर आगामी भदौ १२ देखि १४ गतेसम्म सञ्चालन हुने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिस गरेको बिरामीहरुको पुर्ण रुपमा सो शिबिरमा उपचार हुने भएको छ । सात वटै गाउँपालिकाका स्वास्थ्यकर्मीलाई बिरामी छनौट प्रक्रियाका बारेमा अनुशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा यो जानकारी दिईएको हो ।
यसअघि जिल्लामा सञ्चालन भएका शिविर उपस्थितीका लागि सुचना जारी गर्ने खालका मात्र भएको सन्दर्भमा यो शिविरले गाउँपालिका स्तरमै बिरामी छनौट गरेर शिविरमै पठाउनु पर्नेछ । गाउँपालिकाले पनि सेवाग्राहीको आर्थिक अवस्था, बिरामीको जटिलता र बिरामी संख्याका आधारमा छनौट गरेर शिविरमा बिरामी पठाउनु पर्नेछ ।
उक्त शिविरमा विशेषज्ञ बिशेषज्ञ चिकित्सकबाट उपचारका साथै आवश्यक सामाग्री र औषधी पनि निशुल्क रुपमा वितरण गरिनेछ । गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिस गरेका बिरामी बाहेक अन्य कसैले पनि शिविरमा सहभागिता जनाउन पाउने छैनन ।
यसका लागि ट्रष्टका प्रबन्धक जय लिम्बु र डाक्टर देउमान लिम्बुको टोली जिल्लामा आईपुगेको हो । शिविरमा आउने प्रत्येक बिरामीको कोरोना परिक्षण पछि मात्र उपचार हुनेछ । आँखा, कान, अंग नभएका बिरामीलाई कृतिमा अंग प्रत्यारोपण समेत शिबिरमै गरिनेछ । बिरामीले शिबिर अबधिभर खाना र बस्नको लागि व्यवस्था गरिनेछ ।
बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको दाबी आयोजकले गरेको छ । शिविरमा चेकजाँच गरेर उपचार गर्न नसकिएका बिरामीको लागि रिफरको समेत व्यवस्था गरिने र त्यसको लागि लाग्ने खर्च समेत आयोजकले नै व्यहोर्ने छ ।
त्यो संगै चेकजाँच गरेर उपचाररत बिरामीको फ्लोअप पनि जिल्ला अस्पतालको चिकित्सको समन्वयमा ट्रष्टले गर्ने भएको छ । गुणस्तरीय सेवालाई महत्व दिदै आएको आयोजकले बिशेषज्ञ चिकित्सक आवश्यकर उपकरण र अन्य दक्ष जनशक्ति पनि ल्याउने जनाएको छ ।
कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा, सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले दुर्गममा यस्ता शिविर उपयोगी हुने बताएका थिए ।