सिमकोट : हुम्लाका दक्षिणी क्षेत्रमा दोस्रो लहरको कोरोना संक्रमणपछि केही दिन अगाडि सञ्चालनमा आएका तीन वटा गाउँपालिकाका विद्यालयहरुमा पठन पाठन बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको शुक्रबार बेलूकी बसेको बैठकले कोरोना संक्रमणको त्रास घटि नसकेको निष्कर्ष निकाल्दै सुचारु भएका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
अधिकाँश गाउँपालिकामा कोरोना परिक्षणको दायरा घटी रहेको र परिक्षण गरिएका गाउँपालिकामा जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै जिल्ला कोभिड व्यवस्थापन केन्द्रले हाल सञ्चालनमा रहेका विद्यालयमा पठन पाठन बन्द गर्ने निर्णय गरेको केन्द्रका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।
गाउँगाउँमा कोरोना संक्रमणका लक्षणसंग मिल्ने बिरामी बढी रहेको अवस्थामा विद्यालय जस्तो भिडभाड हुने स्थान सञ्चालन गर्न अनुपयुक्त हुने निष्कर्ष बैठकले निकालेपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
उनले हाल विद्यालयमा सञ्चालन रहेका जिल्लाका दक्षिणी क्षेत्रका तीन वटा गाउँपालिकाहरु चंखेली, अदानचुली र ताँजाकोटका विद्यालय वैठकको निर्णय अनुसार बन्द गर्न पत्राचार गर्ने जानकारी दिए । चंखेलीमा गत असार २९ गत, ताँजाकोटमा साउन १५ र अदानचुलीमा साउन २० गतेबाट विद्यालय सुचारु हुँदै आएका छन् ।
ती गाउँपालिकाका ६६ विद्यालयमा पठन पाठन भई रहेको जनाईएको छ । बैठकमा सहभागी सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाले कतै विद्यालय बन्द र कतै सुचारु गर्न नहुने तर्क गर्दै सबैतिर एकै प्रकारका नियम लागु गर्ने पर्ने तर्क राखेका थिए ।
कोरोना त्रास नहटेको कारण विद्यालय खुलाउन हतार गर्न नहुने र कतै विद्यालय खुली रहने भए विद्यालय खुलाउनु पर्ने निर्णय गर्नुपर्ने सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले सुझाव दिएका थिए । सबैको सल्लाहपछि तत्कालका लागि सञ्चालित विद्यालयको पठनपाठन रोक्ने निर्णय भएको हो ।