काठमाडौँ : उपकूलपति मूर्दावाद । उपकूलपतिको पुत्ला दहन । त्यतिले मात्रै आन्दोलनमा उठाएको माग पूरा नभएपछि शनिबार एउटा सनसनी विज्ञप्ति फैलियो । उपकूलपतिको मृत्यु भयो ।
मध्यपश्चिम विश्वविद्यालयमा उपकूलपतिको कुर्सीमा नन्दबहादुर सिंह छन् । सिंह त्रिभुवन विश्वविद्यालयमा कार्यरत थिए । तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कर्णाली प्रदेशका एमाले संसदीय दलका प्रमुख यामलाल कँडेलको रोजाईमा सिंह एमयूको उपकूलपतिमा नियुक्त भएका हुन् ।
कालिकोट स्थायी घर भएका सिंहले उपकूलपति नियुक्तीका लागि महिनौसम्म राजनीतिक दलका नेताहरुसँग लबिङ गरेका थिए । महिनौ नेताहरुसँगै हिडडुल गरेर उनले उपकूलपति पद पाएका हुन् । यो उनको रहर थिएन । बाध्यता हो ।
राजनीतिक दलका नेताहरुसँग चाकडी नगरी पद पाइँदैन भन्ने सर्वमान्य सिद्धान्त नेपालमा छ । जहाँ पद पाउन, पदमा टिकिरहन पनि नेताहरुकै चाकडी गर्नुपर्छ । अहिले उपकूलपति बनेका सिंहले पनि त्यही गरेका थिए । तर त्यही कुरा दोहोर्याउन उनी अहिले चुकिरहेका छन् ।
उपकूलपति सिंहले नियुक्ती पाउने वित्तिकै एमालेका अध्यक्ष ओली, कर्णाली प्रदेशका इन्चार्ज कँडेलसँग बढी इमान्दारिता देखाए । त्यसबाहेकका दलका नेता र कार्यकर्तासँग उनले आवश्यक सहकार्य गर्न नसकेको देखिन्छ ।
प्राज्ञिक क्षमता र विश्वविद्यालय स्थापना गर्नमा योगदान दिएकै भएपनि उनले आफ्नै बोलीलाई नियन्त्रण गर्न नसक्दा झन चुनौति झेल्नुपरिरहेको छ । उनले यसबीचमा मेरा कूलपति प्रधानमन्त्री शेरबहादुर देउवा होइनन, केपी ओली हुन भने ।
त्यसअघि उनले कांग्रेसको भातृ संगठन नेविसंघ चिन्दैन भनेका थिए । उनी हरेक बोलीमा संयमता होइन, बन्दुकको गोली जस्ता अभिव्यक्ति सार्वजनिक गर्छन् । यसले गर्दा पनि उनीविरुद्ध आन्दोलित पक्ष चिढिएको छ ।
यसबीचमा उनले परीक्षामा मापदण्ड विपरित काम गर्ने दुई जना प्राध्यापकलाई कारबाही गर्ने आँट देखाए । यो आफैमा गल्ती गर्नेलाई सबक सिकाउने निर्णय थियो । तर नेपालका विश्वविद्यालयमा राजनीतिक भागबण्डा हावी हुँदा यस्ता काममा विरोध मात्रै हुँदैन, हंगामा हुन्छ ।
दलीय भागबण्डा गर्दा एकले अर्कोलाई हदैसम्म लखेट्ने प्रवृत्तिले गर्दा उपकुलपति सिंहविरुद्ध आन्दोलनको आगो दन्कियो । सुरुमा वार्ता, वार्ता भनेपनि अहिले वार्ताको नाममा विवाद र सडकमा आन्दोलन चल्यो । यो क्रम चलिरहेकै छ । युवा नेताहरु अहिले विश्वविद्यालय जलाउने गरी आन्दोलनमा छन् ।
राजनीतिक दलका नेताहरुकै साथ, सहयोग र समर्थनले गर्दा मध्यपश्चिम विश्वविद्यालयमा आगो दन्किरहेको हो । जसमा प्रयोग भएका छन्, आफ्नो भविष्य उज्यालो बनाउने उद्धेश्य बोकेर विश्वविद्यालय छिरेर युवा विद्यार्थीहरु । त्यो भन्दा बढी विद्यार्थीको नाममा राजनीति गर्नेहरु अहिले आगोको मुस्लो बोकेर विश्वविद्यालय जलाउन उद्धत देखिन्छन् ।
यसका लागि कर्णालीकै शीर्ष तहका नेताहरुले आफ्ना भा्रातृ संगठनलाई प्रयोग गरिरहेका छन् । विश्वविद्यालयमा आफ्ना माग राख्नु, आन्दोलन गर्नु, शिक्षाको सुधारका लागि विद्रोह गर्नु सकारात्मक पक्ष हो । तर माग सुनुवाईको लागि प्राज्ञिक क्षेत्र र मर्यादाकै ख्याल नगरेर जथाभावी गर्नु अपराध हो ।
जुन अपपराध अहिले मध्यपश्चिम विश्वविद्यालयमा देखिएको छ । एकातिर विश्वविद्यालयको लेटरप्याडमा किर्ते गरेर उपकूलपतिको मृत्युको सनसनी फैलाउने र अर्कोतिर विश्वविद्यालयमा माग सुनुवाईका लागि आगो सल्काउने हर्कत कदापी स्वीकार्य हुन सक्दैन ।
त्यसमाथि नेपालमा सबै किसीमको व्यवस्था परिवर्तन गरेर विश्वविद्यालयमा एउटा शैक्षिक पद्धति बसाल्न नसक्नु विश्वविद्यालय स्थापना गरेको धाक लगाउने नेताहरुको पनि गम्भीर कमजोरी हो । यसमा सबै पक्ष समयमै गम्भीर भएर सुध्रिन आवश्यक छ ।