काठमाडौ । सोमबार र मंगलबार चार जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । काठमाडौँमा मंगलबार मात्रै दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार पेप्सीकोलाबाट कोरोना आंशका गरिएका तीन जनालाई पाटन अस्पताल भर्ना गरिएको थियो । एक जनाको रिर्पोट आउन बाँकी छ ।
उनीहरुमध्ये ८१ बर्षीया महिला (आमा) र ५८ बर्षीय पुरुष (छोरा)मा संक्रमण पुष्टि भएको छ । बुहारीलाई भने कोरोना संक्रमण नभएको रिर्पोट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा एकैपटक दुई जनामा संक्रमण देखिएको यो पहिलो पटक हो । यसअघि चीनबाट आएका पहिलो संक्रमित र फ्रान्सबाट आएका दोस्रो संक्रमित काठमाडौँ उपत्यकाका थिए । यससँगै अब काठमाडौँमा मात्रै कोरोनाबाट संक्रमित हुनेको संख्या ४ पुगेको छ ।
यस्तै धादिङमा एक जना, बागलुंङमा दुई जना, पर्सा विरगञ्जमा तीन जना (भारतीय), कैलालीमा चार जना, रौतहट र कञ्चनपुरमा एक एक जनालाई गरी अहिलेसम्म १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसअघि ६ जना विदेशबाट आउँदा संक्रमित भएका थिए । पछिल्लो दुई जना पनि बेलायतबाट आएकाले उनीहरु पनि विदेशबाटै संक्रमित भएर आएको आंशंका गरिएको छ । बाँकी भारतबाट आएका र तीन जना नेपालमै संक्रमित भएको सरकारले जनाएको छ ।
नेपालमा अहिले दोस्रो चरणमा रहेको कोरोना भाइरस फैलिदो क्रममा देखिएको छ । भाइरस फैलिदै जाँदा सात वटै प्रदेशमा कोरोना परीक्षण शुरु गरिएको छ भने ५२ वटा जिल्लामा ¥यापिड टेस्ट थालिएको छ ।
सरकारले तीन हप्तादेखि लकडाउन जारी राख्दा थप एक हप्ता लकडाउन बढाउने योजना बनाएको छ । कोरोना भाइरस नियन्त्रणको एउटै उपाय लकडाउन भएकाले अवधि बढाउने तयारी भइरहेको उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बताए ।
लकडाउन बढेसँगै मजदुर र निम्न वर्गको जनजीवन भने कष्टकर भएको छ ।