सिमकोटः अघिल्लो बेलुका डोको (छान्नो) वा बाल्टीमा प्लाष्टिकको टर्नेलमा उत्पादन भएको टमाटर टिपेर राख्नु किसानको दैनिकी जस्तै भएको छ । आर्थिक कमाइ गर्न उत्पादन भएको टमाटर बिक्री गर्न सदरमुकाम सिमकोट लैजानका लागि यस्ता कार्य दैनिकी जस्तै भएको हो
खार्पुनाथ गाउँपालिका–४ का दुई वटा गाउँले आफ्नो गाउँ मात्र होइन् छिमेकी गाउँपालिकालाई बिक्री गर्ने टमाटर उत्पादन गर्न सफल भएका छन् । घरघरमै टर्नेल बनाएर टमाटर खेती सुरु भएपछि टमाटरमा आत्म निर्भर हुनुका साथै आम्दानी समेत बढाउन किसान सफल भएका हुन ।
बिहानै सदरमुकाम सिमकोटमा टमाटर बिक्री गर्न आउनु भएका छिप्रा गाउँका प्रगति रावलले गाउँभरि टमाटर उत्पादन हुन थालेको बताइन् । उनले किसानलाई उत्पादन भएको टमाटर बिक्री गर्न दैनिक दुई घण्टा पैदल हिड्नु परि रहेको बताइन् ।
उनले उत्पादन भएको टमाटरले सिमकोट गाउँपालिकालाई समेत धानेको उल्लेख गरिन । टमाटर पाकेर लटरम्म भएपछि एक जना किसानले दैनिक पच्चीस किलोसम्म टमाटर बोकेर सिमकोटमा बिक्री गर्न थालेका छन् ।
उनले प्रति केजी दुई सय रुपियाँ पर्ने टमाटर स्थानीय र बाह्रय जातका उत्पादन गरेर बिक्री गरि रहेको भएको जनाइन् । अर्का किसान संयोग शाहीले भारी बोकेर ल्याउन सक्ने क्षेमता अनुसार किसानले प्रति दिन छ देखि आठ हजार कमाई गरि रहेको बताए ।
प्लास्टिकको टर्नेल र खुल्ला क्षेत्रमा उत्पादन भएको टमाटर गाउँपालिकाको बजार क्षेत्रमा समेत बिक्री हुने गरेको छ । खार्पुनाथ गाउँपालिका–४ को नल्न र छिप्रा गाउँका तीस घरधुरीले यसरी टमाटर खेतीबाट दैनिक कमाई गर्दै आएका हुन । दैनिक सात देखि आठ घरधुरीले बिक्रीका लागि टमाटर सिमकोटमा ल्याउने गर्दै आएका छन् ।
दुई क्विन्टलसम्म बिक्री भइरहेको बताउँदै उनले वर्खा सिजनमा पुग्ने गरि उत्पादन भएको बताए । टमाटरबाट मात्र यी दुई गाउँमा लाखौ रुपियाँ भित्रिने गरेको छ ।
टमाटर अहिले दैनिक भित्रिन थालेपछि उपभोक्तालाई पनि सस्तो हुन थालेको छ । सधै नेपालगंज सुर्खेतदेखि हवाई मार्गमा आउने टामारको भर पर्नु पर्ने बाध्यता पनि हटेको छ । त्यो संगै प्रतिकेजी तीन सयसम्म पर्ने टमाटरको मुल्य दुई सयमा झर्दा उपभोक्तालाई सस्तो महशुस भएको छ ।