राजधानी वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलन गर्दै विद्यार्थीहरू, जहाँ स्वास्थ्यका मापदण्डको वेवास्ता गरिएको छ । तस्विरः कर्णालीखबर संवाददाता सुर्खेत
सुर्खेतः कर्णालीमा साउन महिना सुरु भएसँगै कोरोनाको संक्रमण दरको ग्राफ दिनौं उकालो लाग्दै गएको छ । असार सुरु भएसँगै संक्रमित घट्ने र कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या बढ्ने गरेको थियो ।
जसले गर्दा प्रदेशमा कोरोनाको जोखिम हट्ने करिब–करिब अनुमान गर्न सकिन्थ्यो । कोरोनाको मुख्य केन्द्र मानिएको सुर्खेतमा समेत कोरोना संक्रमित हुनेहरुको संख्यामा कमी आउन थालिसकेको थियो ।
त्यो समयमा कोरोना रोकथाम तथा नियन्त्रण हुनुमा मुख्य गरी निषेधाज्ञाको परिणाम पनि भनेर आंकलन जनस्वास्थ्य विद्हरले गरेका थिए । तर, यहाँका स्थानीय प्रशासनहरुले कोरोना संक्रमणका कमी आएसँगै निषेधाज्ञालाई खुकुलो पार्दै आएका थिए ।
संक्रमणको दरमा कमी आएपनि जोखिम उत्तिकै थियो । स्थानीय प्रशासनहरुले निषेधाज्ञा खुकुलो पार्दै लगेपछि सुन–सान बनेका सहर–बजारमा मान्छेको आवत–जावत ह्वात्तै बढ्यो । होटेल, रेस्टुराँ, तरकारी बजारदेखि बैँकहरु समेत धमाधम खुले । राजनीतिक दलहरुले आ–आफ्नो पार्टीका गतिविधिहरु समेत बढाए ।
स्वास्थ्यमा मापदण्डको ख्यालनै नगरेर भीडभाड र भेला तथा कार्यक्रम सञ्चालन हुन् थाले । जसको कारण अहिले पुनः कोरोना संक्रमणको ग्राफ उकालो लाग्दैछ । प्रदेश राजधानी वीरेन्द्रनगरमा हिजो–आज मान्छेको आवत–जावत निकै बाक्लिएको छ ।
तर, जनस्वास्थ्यविद्का अनुसारको कुनै पनि स्वास्थ्यका मापदण्डहरु अपनाइएको देखिदैन् । मान्छेको भीडभाड हुने स्थलहरु विशेष गरी बैँक, बसपार्क र अन्य सार्वजनिक स्थलहरुमा सामान्यतया मास्कको समेत प्रयोग भएको पाइँदैन् ।
बजारमा व्यापारीहरुले पनि मास्कको प्रयोग गरेको देखिदैन् । वीरेन्द्रनगरको मुख्य चोक, मंगलगढी, वीरेन्द्रचोक र एरिचोक आसपासका क्षेत्र निकै भिडभाड र आवत–जावत हुने स्थानहरु हुन् । यी स्थान वरपर व्यापार गर्ने देखि लियर सामान खरिदविक्री गर्नेहरुले स्वास्थ्यका मापदण्डको बेवास्ता गरिरहेको पाइन्छ ।
सामान्यतया नागरिक र व्यापारी मात्रै हैनन् सरकारी तथा गैरसरकारी निकायदेखि राजनीतिक दलका नेता कार्यकर्ताहरुले कोरोनासँग लापरबाही बढी गरिरहेको सरोकारवालाहरु बताउँछन् ।
वीरेन्द्रनगरका अन्य पसलहरु भन्दा भीडभाड हुने पसल मध्ये तरकारी पसल हो । तर, तरकारी पसलमा तरकारी बिक्री गर्नेहरुले समेत नत मास्कको प्रयोग गरिरहेका हुन्छन् नत सेनिटाइजरको प्रयोग नै। अझ, विभिन्न चोकहरुमा तरकारी तथा फलफुल बिक्री गर्न पसल थाप्नेहरुले कोरोनालाई बेवास्ता गरिरहेको एक स्थानीयले बताए ।
यता प्रशासनहरुले विज्ञप्ति मार्फत जनस्वास्थ्यका मापदण्ड पुरा अपनाउन भनिरहेको छ । तर, कोरोनासँग नागरिकहरुले लापरबाही गरिरहेका छन् । त्यसले पनि कोरोनाको दर वृद्धि हुँदै गएको हो । राजनीतिक दलहरुले अहिले गाउँबस्तीमा पार्टीका गतिविधिहरु बढाएका छन् ।
सामान्यतया २०–२५ जना भन्दा बढी व्यक्ति जम्मा गर्न नपाइने भनिएको छ। यद्यपी यो नियमको उल्लंघन धेरै जसो भएको स्थानीय बताउँछन् । कार्यान्वय गर्ने निकायबाट नै नियमको अवज्ञा हुने गर्दा नागरिकहरुले पनि त्यसैको सिको गर्ने गरेको जनस्वास्थ्यविद्हरु बताउँछन् ।
कर्णालीमा साउन १ गते प्रदेशभर ३५ जनामा मात्र कोरोना संक्रमण देखिएको रेकर्डमा थियो । त्यो बेलामा डिस्चार्ज गर्नेको संख्या ५२ थियो । प्रदेशमा संक्रमित घट्ने र निको हुने संख्या असार महिनाभरी नै चल्यो । साउन महिना सुरुभएयता दैनिक संक्रमितको संख्या वृद्धि हुने गरेको छ भने डिस्चार्ज हुनेको संख्या न्युन रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
साउन १ गते कर्णालीमा २९ हजार ३३३ जना संक्रमितको कुल संख्या थियो । साउन २१ शनिबारसम्म आइपुग्दा ३० हजार ७८९ मा उक्लिएको छ। २३ दिनमा प्रदेशमा एक हजार ४५६ जना कोरोनाको नयाँ संक्रमितहरु थपिएको स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्का बताउँछन् ।
खड्काका अनुसार साउन महिनाको २३ दिनमा ११ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।
साउन महिनाको १२ गते कर्णालीमा सक्रिय संक्रमितको संख्या ६२६ मा झरेको देखिन्छ । त्यसपछि निरन्तर घट्नुपर्नेमा दैनिक बढेर ८४६ मा उक्लिएको तथ्याङ्कमा उल्लेख छ। यो तथ्याङ्कले के देखाउँछ भने कर्णालीमा पुनः कोरोनाको भयावहस्थिती आउन सक्ने चिकित्सक बताउँछन् ।
साउन १५ गते यता संक्रमित हुने दर उच्च रहेको छ । निर्देशक खड्का कोरोना संक्रमण पुनः बढ्नुमा जनस्वास्थ्यमा मापदण्डको चरम लापरबाही भएको बताउँछन् । असार महिनामा प्रदेशमा संक्रमितको दर शुन्यमा झर्नै लागेको थियो’ , डाक्टर खड्का भने ,‘ हिजो–आज निकै बढेको देखिन्छ।’
असार महिनासम्म शुन्य संक्रमित रहेका कर्णालीका हिमाली जिल्लाहरुमा पछिल्लो समय दैनिक २०–३० जनासम्म कोरोना संक्रमितहरु देखिने गरेका छन्,’ खड्काले भने, ‘अहिले गाउँबस्तीमा पनि कोरोना संक्रमित भेटिने गरेका छन्।’
त्यस्तै स्वास्थ्य सेवा निर्देशनालयका सुचना अधिकारी नोदनारायण चौधरीले असार महिनामा रोपाइँको समय भएकाले त्यो बेलामा स्वास्थ्यमा मापदण्डमा हेलच्रकाइँ भएको बताए । त्यसको परिणाम अहिले देखिको छ । प्रदेश राजधानी सुर्खेतमा समेत केही साता अघिसम्म झण्डै २÷३ प्रतिशतको हाराहारीमा सक्रिय संक्रमित थिए ।
कोरोना कहरको दोस्रो चरणको सुरुवाती क्षणमा अधिकांश पुरुषमा कोरोना संक्रमण देखिने गरेको थियो । तर, पछिल्लो समय पुरुष भन्दा महिलाहरूमा कोरोना संक्रमणको दर बढ्दो छ । सुरु–सुरुमा रोजगारीको शिलशिलामा भारत गएका युवाहरु गाउँघर फर्किएसँगै ती युवाहरूमा कोरोना संक्रमण बढी देखिने गरेको थियो । तर, पछिल्लो समय गाउँघरका सर्वसाधारणहरू सम्म पनि कोरोना पुगिसकेको जनस्वास्थ्यकर्मी बताउँछन् ।
स्वास्थ्य निर्देशक खड्का कोरोनाको कहर पुन बढ्नसक्ने भएकाले सतर्कता अपनाउनु पर्नेमा जोड दिन्छन् । विशेष गरी सुर्खेत कोरोनाको ‘हटस्पर्ट’ बन्ने निश्चित छ ।
सचेत गराउँदै प्रहरी
कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही देखिएपनि सुर्खेत लगाएत कर्णालीमा अन्य जिल्लाहरुमा ‘तपाईको मास्क खोई ? ’ अभियान थालिएको छ। सुर्खेतमा गतम मंगलबार र कालिकोट लगायत अन्य केही जिल्लाहरुमा बिहीबारदेखि यो अभियान थालिएको हो । कोरोना भाइरसको संक्रमण दर पुनः बढेकाले चेतनाको विकासका लागि अभियानको थालनि गरिएको स्थानीय प्रशासनहरुले बताएका छन् ।
१० प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम विश्व विद्यालयमा आन्दोलन गर्दै विद्यार्थीहरू । जहाँ स्वास्थ्यका मापदण्डको कुनै प्रवाह नै गरिएको देखिदैन्।