दैलेखः दैलेखको नौमूले गाउँपालिकाका जनतालाई वितरण गर्ने भन्दै पालिकाले खरिद गरेको चामल दुई वर्ष गोदाममै थन्कियो । दुई वर्षअघि असिना पीडित जनताका लागि भनेर गाउँपालिकाले खाद्य डिपो दैलेख अन्तर्गत पालिकाको रकममा लाखौँको चामल खरिद गरेको थियो ।
ढुवानी भाडा पालिकाले व्यहोरेको र जनतालाई सस्तोमा चामल वितरण गर्ने अभियान अन्तर्गत लगिएको चामल मध्ये बचेको चामल कुहिएपछि स्थानीय प्रशासन र प्रहरीको रोहवरमा एक सय ५५ बोरा चामल गाडिएको छ ।
दुई वर्षदेखि गोदाममै थन्किएपछि एक सय ५५ बोरा चामल कामै नलाग्ने अवस्थामा पुगेको थियो । स्थानीयले खवरदारी गरेपछि गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरीको रोहवरमा चामल गाडिएको छ । तत्कालिन समयमा नौमूले गाउँपालिकामा असिना परेर मकै र धान बाली नष्ट भयो, स्थानीयहरू भोकमरीको चपेटामा पर्न सक्ने अवस्था आएपछि दुई वर्ष अघिदेखि पालिकाले जनता बचाउने अभियान अन्तर्गत सस्तो मूल्यमा चामल खरिद गरेर पालिकाका जनतालाई वितरण अभियान पनि थाल्यो ।
करिब पाँच ट्रक भन्दा बढी चामल नौमूले लगिएको थियो, पालिका नजिकै गोदाम बनाएर वडा वडामा चामल वितरण गरिएको नौमूले गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले आफूले कार्यालय प्रमुखको जिम्मेवारी पाउनुभन्दा करिब दुई वर्षअघिको विषय भएको बताउँदै बिग्रेको चामललाई मुचुल्का उठाएर बिर्सजन गरिएको बताए । पालिकामा विभिन्न खाले समस्याहरु, कोभिड समस्या निरन्तर रहिरहेकोले अति आवश्यकता परेको बेलामा चाहिने होला भन्दै पालिकाले स्टक राखेको हो धेरै समय गोदाममै रहेपछि बिग्रेको बताएका छन् ।
गोदाममा चामल कुहिनुको कारण पालिकाको कमजोरी
दुई वर्षसम्म जनतालाई चामल वितरण नगरेर राखिनुमा पालिकाको कमजोरी भएको स्थानीयको आरोप छ । जनताको करको रकमबाट आएको पैसा हो । गरिब र निमुखा जनतालाई समयमै वितरण गर्नुपर्नेमा पालिकाकै कमजोरीका कारण जनताले चामल नपाएको र लाखौँको चामल कुहिएको प्रति स्थानीय बासिन्दाहरूले आक्रोश पोखेका छन् ।
लापरबाही गर्ने जो कोहीलाई पनि कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् । जनताका लागि भनेर ल्याएको भए किन बाँडिएन्..... कसको आदेशमा चामल राखिएको हो..... यो विषयमा व्यत्तिगत स्वार्थ हाबी भएकोले यसको जिम्मेवारी अध्यक्ष र कार्यपालिका सदस्यहरुले लिनुपर्ने एक स्थानीएको भनाइ छ ।
मैले मेरो घरमा चामल राखेको हैनः अध्यक्ष भदे बुढामगर
‘जनताकै लागि हामीले हजारौँ बोरा चामल वितरण गर्यो, असिना पीडितदेखि, कोरोना महामारीका बेला आइसोलेसन, क्वारेन्टाइनमा बसेका जनतालाई पालिकाले खरिद गरेको चामल प्रयोगमा ल्याएका हौँ । पालिकामा समस्या धेरै भएपछि चामल ल्याउँदा, पल्टी गर्दा, एक स्थानबाट अर्को स्थानमा सार्दा भिजेका बोराहरू र गोदामको मुनि परेका बोराहरू मध्ये केही चामल बिग्रेको अवस्था आएको हो ।
हामीले नमस्ते होटेलको पछाडि गोदाममा राख्दा हजारौँ बोरा मध्ये केही चामल बिग्रिन पुगेछ, मैले चामल घरमा लगेर राखेको भन्ने विषय गलत हो । व्यवस्थापनमा केही कमजोरी भएको होला तर मैले व्यक्तिगत स्वार्थमा चामल प्रयोग गरेको छैन, जनताकै लागि ल्याएका हौँ, व्यक्तिगत कमजोरी देखाउने काम कहीँ कतैबाट भएकोमा मलाई दुःख लागेको छ’ बुढाले भने ।