काठमाडौँ : भनिन्छ, राजनीति नीतिहरुको पनि राजा हो । अर्थात जति पनि नीति नियम छन्, ती सबैमाथि राजनीतिबाट मात्रै नियन्त्रण गर्न सम्भव छ । अन्यथा यो व्यवहारिक हुँदैन । तर शिक्षामा गरिने राजनीति र राजनीतिले विकासको बाटोमा जाने शिक्षाको वास्तविकता फरक छ ।
आँखाको ज्योति भनेर चिनिने शिक्षा सँधै उस्तै र उही हुँदैन । समयक्रम अनुसार यो परिवर्तन हुँदै जान्छ । यसका लागि पाठशाला, विद्यालय, विश्वविद्यालय खुल्दै गएका हुन् । शिक्षाको विकास र विकासमा पनि शिक्षाको उपयोगिता बढ्दै गएको हो ।
नेपालमा हरेक व्यवस्था परिवर्तनको मुख्य सुरुवात शिक्षाका पाठशालाहरुबाटै भएको देखिन्छ । शिक्षाका मुख्यालयमा राजनीतिक चेत सबैभन्दा धेरै देखिन्छ । तर राजनीतिक चेत दिलाउने शिक्षाका मुख्यालय नेपालमा भने ध्वस्त हुँदै गएका छन् ।
विश्वजगत आधुनिक प्रविधिमा अभ्यस्त भएका बेला, हुँदै गएका बेला नेपालमा भने विश्वविद्यालयको राजनीतिक, सामाजिक र स्वयंम शैक्षिक स्तर पनि खस्किदो छ । विश्वविद्यालयमा पढाई हुने विषय र माध्यम बदलिदै गएपनि विश्वविद्यालयभित्रको वातावरण र राजनीतिक कुकृत्य झन् बढ्दो छ ।
यो हामी सबैका लागि लाजमर्दो विषय हो । हालै कर्णालीको मुटुमा रहेको मध्यपश्चिम विश्वविद्यालयमा यस्तै कुकृत्य बाहिरिन थालेको छ । कर्णालीका राजनीतिक दल, नेता, कार्यकर्ता, सरोकारवाला र शैक्षिक अगुवाको अथक मेहनतबाट स्थापित भएको मध्यपश्चिम विश्वविद्यालयमा अहिले दैनिक आन्दोलनको आगो मात्रै देख्न सकिन्छ ।
विभिन्न विद्यार्थी र प्राध्यापक संगठनको नाममा भइरहेको आन्दोलन समाधानमा जानेभन्दा झन् उत्कर्षमा जाने भइरहेको छ । यो साच्चिकै कर्णाली र मध्यपश्चिम विश्वविद्यालयका लागि हितमा छैन । तर यस्तो अहितको काम गर्ने अरु नभई स्वयंम राजनीतिक दल, तिनका संगठन र राजनीतिक स्वार्थमा अल्झिएका नेता कार्यकर्ता छन् । जहाँ विद्यार्थी र प्राध्यापक संगठन ढाल भइरहेका छन् ।
विश्वविद्यालय शिक्षाको मुख्यालय बनाउने कि आन्दोलनको रणभूमि ?
एउटा विश्वविद्यालयमा तपाई कस्तो वातावरण महसुस गर्नुहुन्छ ? अवश्य पनि एउटा नयाँ जीवन र अध्यायको सुरुवात गर्ने ठाउँमा कुनै कुराको कमी हुँदैन । पढ्ने वातावरण, सिक्ने वातावरणको कमी हुनु हुँदैन ।
तर मध्यपश्चिम विश्वविद्यालयमा पछिल्लो एक वर्षदेखि झण्डै लगालग आन्दोलन भइरहेको छ । विद्यार्थी नेताहरुले विभिन्न माग राखेर आन्दोलन गरिरहेका छन् । प्राध्यापक संगठन पनि त्यही शैली पछ्याएर आन्दोलन गरिरहेका छन् ।
वास्तवमा उनीहरु अरु कसैको एजेन्डा भन्दा पनि दलीय झण्डा बोकेर आन्दोलनमा उत्रिएका छन् । दलीय झण्डा उनीहरुका लागि आन्दोलन चर्काउने अस्त्र भइरहेका छन् । यो शिक्षाको एजेन्डा बोक्ने, शिक्षा सुधार चाहने र शिक्षामा केही गर्नेका लागि चरम निराशाको विषय हो ।
विश्वविद्यालयलाई कार्यकर्ता भर्ती केन्द्र कहिलेसम्म बनाउने ?
भ्रम नरहोस, अहिले मध्यपश्चिम विश्वविद्यालयमा उत्पन्न सबै आन्दोलनको जड कार्यकर्ता भर्ती केन्द्र नै हो । विश्वविद्यालयमा कार्यकर्ता भर्ती केन्द्र बनाउँदा वर्षेनी विद्यार्थी र प्राध्यापकको आन्दोलन चर्किने गरेको छ ।
ठीक यतिबेला मध्यपश्चिम विश्वविद्यालयमा नेकपा एमालेले कार्यकर्ता भर्ती केन्द्र बढाउँदा अरु राजनीतिक दलहरु आन्दोलित छन् । उनीहरु अरु माग होइन, अर्थात अरु कसैले आन्दोलन चर्काएको होइन, आफ्नो आस्थाका नेता कार्यकर्तालाई विश्वविद्यालयमा भर्ती गर्नुपर्ने माग राख्दै आन्दोलन चर्काइरहेका हुन् ।
अरुको दलको व्यक्ति विश्वविद्यालयमा पुग्दा एउटा दलका नेता कार्यकर्ता विद्यार्थीलाई ढाल बनाएर आन्दोलन चर्काउँछन् । एउटा दलको राम्रै व्यक्ति भएपनि विश्वविद्यालयको जिम्मेवार पदाधिकारी बन्दा अर्को दलको नेता कार्यकर्ता आफ्नो भाग खोज्दै विश्वविद्यालयमा आगो सल्काउने हर्कत गर्छन् ।
यो रोग काठमाडौँको त्रिभुवन विश्वविद्यालयबाटै सल्केको रोग हो । अहिले यो रोग आगोमा परिणत भइरहेको छ । र देशभरका सबै जसो विद्यालयमा सल्किदै गएको छ । त्यही दलीय कार्यकर्ताको भर्ती केन्द्रले गर्दा विश्वविद्यालयमा विध्वंश भइरहेको छ ।
मध्यपश्चिम विश्वविद्यालयमा पनि एमाले, कांग्रेस र माओवादी नेताहरुबीच यतिबेला टकराव देखिएको हो । एमालेका नेताको स्वार्थ र रोजाईमा उपकूलपति लगायतका व्यक्ति पदाधिकारी बन्दा कांग्रेस र माओवादीले आन्दोलनको आगो दन्काइरहेका छन् ।
विगतमा कांग्रेस र माओवादी निकट प्राध्यापकहरु पदाधिकारी बन्दा एमालेका नेता कार्यकर्ताले आन्दोलन गरेर विध्वंश राजनीति मच्चाउँथे । यो राजनीति आखिर कहिलेसम्म ? यसको जवाफ कांग्रेस नेता जीवन शाही, एमाले नेता यामलाल कँडेल र माओवादी नेता तथा मुख्यमन्त्री महेन्द्र शाहीले दिनुपर्छ ।
कम्तीमा प्रदेश सरकारको नेतृत्वकर्ताका हिसाबले पनि मुख्यमन्त्रीले आफ्नो प्रदेशको गरिमा बढाउन यस किसीमका घृणित खेल अन्त्य गर्न जरुरी छ । विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा शान्ति ल्याएर शैक्षिक जगतलाई सफल बनाउन सबै राजनीतिक दल जिम्मेवार बन्न आवश्यक छ ।
यो पनि पढौं...