महोत्तरीः महोत्तरीमा मुख्य राजमार्ग र सडकनै आहाल पानी जमेका ठूलठूला खाल्डा बनेका छन् । पूर्व–पश्चिम राजमार्गको पूर्वमा रातु पुलदेखि पश्चिममा बाँके नदीसम्मको महोत्तरीमा पर्ने १७ किलोमिटर दूरीमा नियमित मर्मतसम्भार नपाएर ठूलाठूला खाल्डा बनेका हुन् । खाल्डामा बर्खाको पानी जमेपछि गहिर्याइ थाहा नहुँदा सडक दुर्घटनाको जोखिम निकै बढेको छ ।
राजमार्गको अतिव्यस्त बर्दिबास नगरक्षेत्रको रातु पुलदेखि भप्सीपुलसम्मको करिब दुई किलोमिटर दूरीको सडक भत्केर बनेका आहालले यातायात साधन मात्र नभएर सडकमा हिँड्ने पैदलयात्रु पनि सकसमा पर्ने गरेका छन् । राजमार्गको दुरावस्थाबारे नगरपालिका र सम्वद्ध सडक कार्यालय बेखबर बनेका बर्दिबासबासीको गुनासो छ ।
पूर्व–पश्चिम राजमार्ग मात्र नभएर बर्दिबास–रामगोपालपुर–जलेश्वर सडक पनि बेहाल अवस्थामा पुगेको छ । यो सडकको बर्दिबासस्थित लावसन्तचोकदेखि मसनघट्टासम्मको करिब चार किलोमिटर दूरीभित्र ठूलाठूला आहाल बनेका छन् । मर्मतसम्भार र पुनःनिर्माणको कामका लागि तीन वर्ष पहिलेदेखि ठेक्का स्वीकृत भएको बताइए पनि काम अघि नबढ्दा अब सडक नै छुट्याउन नसकिने बनेको छ ।
“राजमार्ग र जिल्लाका मुख्य सडकमा स्थानीय तहले काम नगर्ने र सडक सम्वद्ध कार्यालय कानमा तेल हालेर बसेपछि यो बेहाल बनेको हो” बर्दिबास–१४ का बासिन्दा हरि दाहाल भन्नुहुन्छ, “कोही थितिमा नचलेपछि के लाग्छ ।”
मुख्य राजमार्ग र सडकमा असङ्ख्य खाडल बनेपछि ट्राफिक प्रहरीको हैरानी बढेको छ । “हामीले खाडल बनेका ठाउँमा ढुङ्गा र अन्य चिन्ह राखेर दुर्घटना जोखिम घटाउने प्रयत्न गर्दै आएका थियौं”, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रमुख तथा प्रहरी निरीक्षक राजुप्रसाद ढकाल भन्छन्, “अब खाल्डा धेरै बढेका छन् , कहाँकहाँ चिन्ह राख्ने ।” ट्रफिक प्रहरीले खाल्डा वरिपरी चिन्हका लागि राखेका ढुङ्गा पनि पानीले छोपिँदा झन् बढी दुर्घटना जोखिम बढेको सर्वसाधारण बताए ।
पूर्व–पश्चिम राजमार्ग र जिल्लाका मुख्य सडकको मर्मतसम्भार र पुनःनिर्माणकार्य सम्वद्ध सडक डिभिजन कार्यालय जनकपुरधाम र हुलाकी सडक कार्यालयबाट हुने हुँदा स्थानीय तहले आफ्ना योजनामा समावेश नगरेको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताए
“हामीले यस्ता सडकमा योजना छान्ने र रकम विनियोजन गर्ने गरेका छैनौं, यो सडक डिभिजन कार्यालय र हुलाकी सडक कार्यालयको काम हो”, कार्की भन्छन, “जनसरोकारका यी कामबारे सम्वद्ध कार्यालयको ध्यानाकर्षण गराउँदै आएका छौं, चाँडै काम थालिने विश्वास पाइएको छ ।” पछिल्लो पटक सडक डिभिजन कार्यालय जनकपुरधामले पूर्व–पश्चिम राजमार्गका ठूलाठूला खाल्डा पूर्ने काम थालिएको जनाएको छ ।
राजमार्गका खाल्डा पुर्न उपकरणसहित जनशक्ति कार्यस्थल पुगेको कार्यालय प्रमुख सञ्जय मिश्रले बताए। “राजमार्गका खाल्डा पुर्न त हामीले काम थाल्यौं, तर बर्दिबास नगरक्षेत्रमा ढल नाला व्यवस्थापन नगरिँदासम्म यो स्थायी समाधान भने हुन्न”, डिभिजन प्रमुख मिश्र भन्छन, “सडक पुनःनिर्माण, मर्मतसम्भारसँगै ढल व्यवस्थापन गर्नसके मात्र काम टिकाउ हुनसक्छ ।”
नगरपालिकाका जनप्रतिनिधि र सडकसम्वद्ध कार्यालयका प्रतिनिधिले एकअर्कोलाई देखाएर आपूm ‘ओभानो’ देखिन खोज्ने गरेका यस भेगका वुद्धिजीवी बताउँछन् । “हिउँदभरी के गरेर बस्छन् कुन्नी ।”बर्दिबास–१ का बासिन्दा स्थानीय सामाजिक कार्यकर्ता शङ्कर फुयाँल आक्रोश पोखे, “बर्खा लागेपछि जेसिभी पठाएर काम देखाउन खोज्छन् ।” बर्खाबीच राजमार्गका खाल्डा पूर्न अहिले आएका सडक कार्यालयका उपकरणले अहिले झन बढी हिलो बढाएको फुयाँलको भनाइ छ ।
पछिल्ला एक वर्ष कोभिड–१९ महाव्याधिले नियमित मर्मतसम्भारको काम गर्न नसकिएको सडक सम्वद्ध कार्यालयका प्राविधिक पनि स्वीकार गर्छन् । सडक मर्मत,सम्भार र पुनःनिर्माणका काम असोजदेखि वैशाखसम्म गरिए दिगो र बढी गुणस्तरयुक्त हुने सर्वसाधारणको भनाइ छ । “अहिले मध्य बर्खामा जेसिभी उपकरण चलाइएको छ, खाल्डा त पुरिएलान, तर हिलो झन बढ्यो”, बर्दिबासको भोलावसन्तचोकका पान पसल सञ्चालक श्याम महतो भन्छन, “अहिलेको काम त ‘जब प¥यो राति, अनि बुढी ताती’ उखानजस्तै पो भयो ।”
यसैबीच सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख मिश्रले अहिले मर्मत, सम्भार र पुनःनिर्माण नभइ खाल्डा मात्र पुर्न लागिएको स्पष्ट पारे । सडकका मुख्य काम बर्खापछि नै थालिने उनको भनाइ छ । रासस