गण्डकी : दुई शताब्दीभन्दा अघिदेखि अस्तित्वमा आएको पोखरा महानगरपालिका–१३ आर्बास्थित महाप्रभुधाम, मणिद्विपलगायत धार्मिकस्थललाई समेटेर धार्मिक पर्यटकीयको रूपमा विकास गरिने भएको छ ।
यहाँको पर्याप्त धार्मिकस्थलका प्रचारप्रसार हुन नसकेको अवस्थामा सङ्घ, प्रदेश र स्थानीय तहले धार्मिक पर्यटकीय विकासका लागि ध्यान दिनुपर्ने महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष धर्मराज बरालल बताउनुहुन्छ । पोखराको मुख्य बजारबाट नजिकै रहेको आर्वा प्राचीन धार्मिक एवं ऐतिहासिकस्थल भएर पनि उचित प्रचारप्रसार र भौतिक पूर्वाधार विकासको अभावमा ओझेलमा परेको उनको भनाइ छ ।
यहाँ आउने पर्यटकले पोखरा उपत्यकाको दृश्यावलोकनसहित अन्नपूर्णदेखि लमजुङ हिमालसम्मका रमणीय दृश्य एकसाथ नियाल्न पाउनाका साथै ऐतिहासिक एवं धार्मिक पक्ष प्रत्यक्ष अवलोकन गर्न सक्छन । महाप्रभुधाम, मणिद्विपलगायत स्थानको प्रचारप्रसार एवं पूर्वाधार विकास गर्न सके यो क्षेत्रलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।
आजभन्दा झण्डै दुई सय वर्षअघि स्वर्गद्वारीबाट महाप्रभु आएर यहाँ दुई महिनासम्म यज्ञ गरेर मनोकांक्षा पूरा गर्नुभएकाले यहाँको गरिमा बढेको बताइन्छ । अध्यक्ष बरालकानुसार तत्कालीन समयमा महाप्रभुहरूले यज्ञ गरेका कुण्ड अझै सुरक्षित रहनाका साथै वरपरका गुफा, गणेश तथा शिवजीको मन्दिर, रतन पाण्डे थान आदि धार्मिक एवं ऐतिहासिकस्थल पनि छन् ।
प्रत्येक वर्ष धान रोप्ने र भित्र्याउने समयमा रतन पाण्डे स्थलमा आर्वालीले श्रद्धापूर्वक पूजाआजा गर्ने प्रचलन रही आएको छ । पूजाका दिन आर्वा क्षेत्रमा हलो नचल्ने प्राचीन प्रचलन अझै पनि कायमै छ । महाप्रभुधामसँगै यहाँको अर्को धार्मिक पर्यटकीयस्थल मणिद्विप हो । आर्वामा बस्ती स्थापना हुँदा गाउँको पूर्वमा मणिद्विप नागेश्वर महादेव स्थापना गरिएको थियो ।
स्थानीयवासीका अनुसार शक्तिशाली शक्तिपीठका रुपमा रहेको यस मन्दिरमा धेरै पटक नाग प्रकट भएको थियो । मन्दिरमा भक्तिपूर्वक पूजा गर्दा निःसन्तान दम्पतीलाई सन्तान प्राप्त भएकाले टाढाटाढाबाट दर्शनार्थी आउने गरेको स्थानीयवासी बताउँछन् । नागको दोषका कारण स्वास्थ्यलगायत समस्यामा परेका व्यक्ति पनि यहाँ आएर श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेर फर्केपछि समस्याबाट मुक्त भएको विश्वास अझै यहाँका बासिन्दा गर्छन् ।
प्राचीनकालदेखि नै सन्यासी बस्दै आएको यस स्थानको खरले छाएको मन्दिर २०६२ सालमा पुनःनिर्माण गरिएको तत्कालीन मन्दिर निर्माण समितिका सञ्चार संयोजक शिरोमणि बराल बताउनुहुन्छ । उनका अनुसार २०६३ सालमा हरिद्वारका महामण्डलेश्वरसहित विशिष्ट व्यक्तिको उपस्थितिमा मणिद्विपमा महायज्ञ गरी उक्त मन्दिरमा नर्मदा नदीबाट ल्याइएको शिलाको प्राण प्रतिष्ठा गरिएको थियो ।
प्रतिष्ठापनका बेला शिलामा लामो समयसम्म पसिना आएको स्थानीयवासीको भनाइ छ । त्यसयता ती धाम तथा द्विपमा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन मेला लाग्ने तथा शतबीज छर्ने प्रचलन छ । शिलाको प्राणप्रतिष्ठा भारतबाट आएका १००८ स्वामी बालसन्त महामण्डलेश्वर रामेश्वरजी महाराज, १००८ स्वामी सोमेश्वरजी महाराज, १००८ स्वामी विष्णुराजजी महाराज, स्वामी सुतिक्षणजी महाराजलगायत सन्तमहन्तले गर्नुभएको थियो ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले आज आर्वा क्षेत्रको अवलोकन गर्नुभएको छ । धाम, र द्विप तथा यहाँका दुर्गा, महाकाली, र राधाकृष्ण मन्दिरलगायत धार्मिकस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।
यहाँका धार्मिक एवं ऐतिहासिकस्थलको दीर्घकालीन विकासका लागि गुरुयोजना तयार गरी अघि बढाउनुपर्ने र त्यसका लागि प्रदेश सरकारकातर्फबाट आवश्यक साथ र सहयोग दिइनेमा मन्त्री कँडेल जोड दिए । रासस