खलंगाः जुम्लाको चन्दननाथ नगरपालिका - ९ का अन्दाजी २५ वर्षीय धन गिरीको परिवार ११ महिनादेखि न्यायको पर्खाइमा छ । गिरीलाई २०७७ असोज १५ गते अपहरण गरी बेपत्ता बनाइएको थियो । गिरीकी श्रीमती मिना ११ महिनादेखि न्यायको पर्खाइमा छन् ।
चन्दननाथ – ९ बयालकाटियाका धन गिरी ट्रयाक्टर चालक हुन् उनी ०७७ असोज १५ गते निर्माण सामग्री लिएर गुठिचौर गाउँपालिकाको मणिसाँघु तीर लाग्दै थिए । उनी चन्दननाथ - ५ का रेणु शाहीको ट्रयाक्टर चलाउँदै आएका थिए । निर्माण सामग्री सरीया सिमेन्ट लिएर गएका उनी घर फर्केनन् ।
उनकी श्रीमती मिना गिरी भन्छिन् ‘०७७ असोज १५ गते करिब रातिको १२ बजे धनगिरीले चलाउँदै आएको ट्रयाक्टरको साउनीले फोन गरेर तिम्रो श्रीमान घर आयो कि नाई भनेर सोध्नु भयो । मैले आउनु भएको छैन भन्न नपाउँदै फोन राख्नु भयो । ’
आफ्नो श्रीमानको घटनामा साउको मिलेमतो रहेको उनले बताइन् । अहिलेसम्म चालक गिरी न त घर फर्किएका छन, न त कुनै ठाउँमा रहेको खबर छ । सम्पर्क विहिन नै छन् । नत परिवारले सास पाएको छ । नत लास नै । गएको असोज १५ गतेदेखि सम्पर्क विहिन भएका गिरीको परिवारले अपहरण गरी बेपत्ता पारेको भन्दै गुठिचौर गाउँपालिका बस्ने भोटे भनिने विमल महत, दन्दबहादुर भण्डारी, सागर गिरी र बिनोद गिरीको नाममा मुद्धा चलाएका छन् ।
यस्तै २०७८ जेठ ७ गते तातोपानी गाउँपालिका ५ श्रीनगरस्थित चौर भन्ने ठाउँमा तिला नदिको छालमा एक सडेको अवस्थामा शव भेटियो । प्रहरीले उक्त शवलाई निकाल्यो । त्यो शव सबै मासु सडेर नष्ट भइसकेको अबस्थामा भेटिएको थियो । छातीको केही भाग र हड्डी मात्र बाँकी थियो । शव नचिनिने अवस्थामा थियो । शवको लम्बाइ, चौडाइ, उचाइ र छातिको भाग हेर्दा धन गिरीको शरिरको बनावटसँग मिल्दो थियो ।
बेपत्ताका परिवारले आफ्नै भाइछोराको शव हो भनेर जिल्ला प्रहरी कार्यालय जुम्लामा पोष्टमार्टमको लागि समेत आग्रह गरेका थिए । शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो । तर बेपत्ताका परिवारलाई कुनै जानकारी नदिएर केही दिनपछि पोष्टमार्टम भयो, भन्ने प्रहरीले खवर गरेको आफन्त तुलराज गिरी बताउँछन् । उनी भन्छन् ‘ प्रहरी कार्यालयले उमेरले तपाईको मान्छेसँग मिल्दो भएन तपाईको शव होइन भनेर प्रहरीले खबर गरेको थियो । ’
आफन्त गिरीले भने, ‘प्रहरीको त्यो जवाफ प्रति शंका उब्जियो । हामीले विश्वास कसरी गर्ने । यो सरासर पीडित पक्षको आखाँमा छारो हाल्ने काम प्रहरीले नै गरेको छ । ’ पोष्टमार्टममा उमेरले समस्या सिर्जना गरेपछि प्रहरीले डिएनए परिक्षण गर्न सुझाव दिएको थियो ।
डीएनए गर्दा कुनै फरक पर्दैन्, पोष्टमार्टमको रिपोर्टले उमेरको तलमाथि देखाएपनि डीएनएको रिपोर्ट सही हुन्छ, प्रहरी प्रमुखको भनाइ भन्दै तुलराजले भने, ‘त्यसपछि विधि विधान प्रयोगशालामार्फत डीएनए परिक्षण गरी पाउँ भनेर श्रीमती मिना गिरी र छोरा तिलक गिरीको रगतका साथ जेठ १० गते जिल्ला प्रहरी कार्यालय जुम्लामा निवेदन दियौँ’ उनले भने, ‘डीएनए परिक्षण गरि पाउँ भनेर जिल्ला प्रहरी कार्यालय जुम्लामा निवेदन दिएको दुई महिना बित्यो । विडम्बना डीएनए रिपोर्ट आएन । रिपोर्ट कुरेर बसेका छौं । प्रहरीले कुनै चाँसो दिएको छैन । उल्टै गैरजिम्मेवार तर्क गरेर फर्काउने गरिरहेको छ ।’
आफन्तजनले पटक पटक गुनासो सुन्ने अधिकारी समक्ष डीएनए रिपोर्टका बारेमा जानकारी लिने प्रयास गरे । प्रहरीले रिपोर्ट नआएको भन्दै टार्ने गरेको छ । निवेदन बुझाएपनि अधिकतम एक महिना भित्र रिपोर्ट आएर टुंगो लाग्ने बताइएको थियो । उक्त घटनाको दुई महिना बितिसक्यो । रिपोर्ट आएको छैन । परिवारले प्रहरीमाथि नै शंका गरिरहेका छन् । आफन्तजनले घटनाको वास्तविक प्राविधिक कुरासँग जोडेर अनुसन्धान गर्ने विषयमा अनुसन्धानकर्ताको चासो नदेखिएको बताए ।
हड्डी मात्रै भएको अवस्थामा भेटिएको त्यो शव बोरामा बाँधेको अवस्थामा बगेर आइरहेको प्रत्यक्षदर्शी बताउँछन् । त्यो शव भेटिएको दुई महिना बितिसकेको छ । शवको हकदावी कसैको पनि परेको छैन । ‘शवलाई बेवारिसे शवका रुपमा प्रमाणित गर्न प्रहरीले खोजिरहेको छ । यो मान्य हुने छैन । छिटो भन्दा छिटो डीएनए परिक्षणको रिपोर्ट ल्याएर परिवारलाई बुझाउँनु पर्ने देखिन्छ’ स्थानीय बताउँछन् ।
धनगिरीका आफन्तले एक हप्ता भित्र घटनाको सत्य तथ्य प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन । पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न आग्रह गरेका छन् ।प्रहरीबाट एक हप्ता भित्र चित्तबुझ्दो जवाफ आउन नसकेको खण्डमा उत्पन्न हुने जोखिमपुर्णस्थितीको जवाफदेही स्वयं प्रहरी नै हुनु पर्ने चेतावनी समेत दिएका छन ।
बेपत्ताका दाजु भैर गिरीले तत्काल शवको बिषयमा टुंगो लगाउन र घटनाको सत्य तथ्य विवरण सार्वजनिक गरि हामीलाई न्यायको अनुभुति गराउन आग्रह समेत गरेका छन् ।
प्रहरीको वेवास्ताका कारण डीएनए रिपोर्ट नआउँदा दुई महिनादेखि शव अस्पतालको शव गृहमा छ । उनीहरुले चालक धन गिरीलाइ जबरजस्ती ट्रयाक्टर रोक्न लगाइ हातपात गरेर ढुंगामुडा गरेर अलपत्र पारेका दाबी गरेका छन । चालक जीवित छन् या मृत अत्तोपत्तो छैन । प्रहरीले यो घटनाको अनुसन्धानमा चरम लापरबाही गरिरहेको पीडित परिवारको गुनासो छ ।