सुर्खेत : ०७२ साउन २५ गते । अर्थात् आज ‘अखण्ड मध्यपश्चिम’को आन्दोलनमा चार जना सहिद भएको दिन । उक्त आन्दोलनमा सुर्खेतका तीन जना र जुम्लाका एकजना व्यक्ति सहिद भएका थिए । आज ६ वर्ष पुग्यो ।
प्रत्येक वर्ष साउन २५ गते आउँदा सहिद यामबहादुर बिसीका परिवारलाई स्वर्गीय उनकोे यादले सताउँछ । सहिद बिसीकी बहिनी भगवती बिसी भन्छिन् ‘‘मेरो दाईसँगै अन्य तीन जनाको बलिदानले ‘कान्छो प्रदेश’ बन्यो । धेरै मान्छे सत्तामा पुगे ।’
भगवतीले थपिन् ‘केही व्यक्तिहरू हाल पनि सत्तामा पुग्नैका लागि कर्णालीमा लुछाचुँडी गँदै छन् । तर, घरपरिवारमा अहिलेको अवस्था हेर्दा पनि शान्तिको सास फेर्ने अवस्था छैन, सहिद भएको पनि ६ वर्ष बित्यो ।’
२०७२ साल साउन २१ गते नेपाल सरकारले संघीयता निर्माणका लागि प्रदेशहरुको नक्सांकन गरेको थियो । उक्त सिमांकनमा साविकका भेरी र कर्णाली अञ्चललाई सुदुरपश्चिम प्रदेशमा मिसाउने केन्द्रीय सरकारले निर्णय जारी गर्यो । सरकारको निर्णयले साविक भेरी र कर्णाली अञ्चलका नागरिकलाई उपयुक्त भएन । उक्त निर्णय विरोधमा अहिलेको कर्णाली प्रदेशका केही वुद्धिजीवि, शिक्षक तथा विद्यार्थीले आन्दोलनको घोषणा उत्रिएका थिए ।
बाँके, बर्दियासहित साविक ‘अखण्ड मध्यपश्चिम’ का लागि सिङ्गो भेरी, कर्णालीका नागरिहरूको भीड सडकमा ओर्लियो । अखण्ड मध्यपश्चिम नै हुनुपर्छ, हामीलाई सिरदेखि पाउसम्मको भुगोल चाहिन्छ भन्दै आन्दोलन चर्कियो ।
अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानीको मुद्दामा केन्द्रित भयो । अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानीको मुद्दालाई सुर्खेती जनता लगायत कर्णालीबासीले एकमतले अनुमोदन गरे ।
नागरिक समाजका केही अगुवाहरूले संघर्ष समिति गठन समेत गरी सरकारविरुद्ध थप आन्दोलनका घोषणा गर्न योजना समेत बनाए । हाल कर्णाली प्रदेशका दैलेख, कालिकोट, जुम्ला र सुर्खेत जिल्लाका विभिन्न ठाउँमा आन्दोलन चर्कियो । हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा उर्लिएको आन्दोलनले जिल्ला प्रशासन कार्यालयमा क्षती समेत हुन पुग्यो ।
विभिन्न नेताहरूका घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो । अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानीको मुद्दाको आन्दोलन दिन प्रतिदिन चर्किदै गयो ।
उक्त आन्दोलन नियन्त्रण नभएपछि आन्दोलनमा एकैदिन अर्थात् साउन २५ गते तीन जनाको मृत्यु भयो । उक्त आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर सुर्खेतका टीकाराम गौतमको घटनास्थलमै ज्यान गएको थियो ।
सुर्खेतका यामबहादुर बिसी धमलाचोक नजिकै रहेको अवस्थामा प्रहरीले चलाएको गोली लागेर ढले । सुर्खेतको मंगलगढीचोकमा आएको आन्दोलनले गोपालसिंह रजवार भाग्ने क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर सदाका लागि उनि पनि बिदा भए । त्यस्तै साविक कर्णालीका पाँचै जिल्लामा आन्दोलन चर्किएको थियो ।
त्यस्तै जुम्लामा पनि प्रहरीले आन्दोलनकारीलाई दमन गरी चलाएको गोली लागेर हरिबहादुर कुँवर घाइते भए । घाइते कुँवरलाई उपचारको लागि काठमाडौं पुर्याइयो । तर पनि गम्भीर घाइते भएका कुँवरले साउन २६ गते शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा ज्यान गयो ।
उक्त आन्दोलनमा जुम्लाबासीले ‘बरु रोटी खादैनौं हामी डोटी जादैनौँ’ भन्ने नारा लगाएका थिए । भदौ ४ गते नेपाल सरकारले भेरी र कर्णालीका १० जिल्लालाई नयाँ सिमांकन गर्दै ६ नम्बर प्रदेशको घोषणा गर्न बाध्य भयो ।
पछि सरकारले चारै जनालाई सहिद घोषणा गरेको हो । नेपालमा भएका विभिन्न चरणका आन्दोलनहरुमा शहादत प्राप्त गरेकाहरुको लाइनमा तत्कालिन ६ नम्बर प्रदेश अर्थात् (कर्णाली प्रदेश)का चार जनाको नाम समेत थपियो । उनीहरुको बलिदानीका कारण अहिले कर्णाली प्रदेश प्राप्त भएको हो ।
यता नयाँ प्रदेशको लागि ज्यान गुमाउनेहरु प्रति कर्णाली सरकारले कुनै चासो नदेखाएको सहिद परिवारहरुले गुनासो गरेका छन् । पीडित परिवाहरुले आफ्नो परिवारको सदस्य गुमाउनेहरुको घाउमा अझैसम्म पनि मलहम लाग्न नसकेको बताउँछन् ।
छैटौं सहिद स्मृति दिवसको सम्झनामा वृक्षारोपण
आज सोमबारका दिन छैटौं सहिद स्मृति दिवसको सम्झनामा वीरेन्द्रनगर नगरपालिका–११ देउती बज्यै सामुदायिक वनमा वृक्षरोपण कार्यक्रम गरिएको छ ।
उक्त कार्याक्रम कर्णाली प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीताकुमारी नेपाली, वीरेन्द्रनगर–११ का वडा अध्यक्ष नन्दलाल शर्मा लगायत सहिद यामबहादुर बिसीको परिवारको समेत उपस्थिति रहेको थियो ।
सोमबार सहिद दिवसको अवसर पारेर सहिदको सम्झनामा याम बिसी स्मृति प्रतिष्ठानको आयोजनामा वृक्षारोपण गरिएको होे । गत साल यही समयमा देउती बज्यै सामुदायिक वनको चौखेढुङ्गामा सहिद यामबहादुर बिसीका बुबा शेरबहादुर बुढाले बर र आमा बाली बुढाले पीपल रोपेका थिए ।