मुगु : कोरोना महामारीको मार जताततै छ । यस्तो महामारीमा ठूलाबडा र हुने खानेलाई उति सारो समस्या छैन । तर दुर्गम बस्तीका पीडा हेरि सक्नु छैनन । कोरोनाले बिहान बेलुकाको खर्च जुटाउने रोजीरोटी पनि खोसेपछि गरिब निमुखा परिवारको बिचल्ली भएको छ ।
अझ दुर्गम कर्णालीको समस्या सानो छैन । कोरोनाका कारण घरखर्चको मेसो मिलाउन स्कुल जाने उमेरका कलिला उमेरका बालबालिकाहरूले गिटी कुट्नु परेको छ ।
ओठ निचोरेर दूध निस्कने उमेरका बच्चाबच्चीले गिटी कुटेरै पढाइ खर्च र घरको चुह्लो बाल्नु परेको छ । शिरमा नीलो टोपी, नीलै स्विटर लगाएका बालबालिकाका हातमा फलामे हथौडा बोक्नुपरेको छ ।
जसले कलम समाएर लेख्नुपर्ने थियो । उनैले हथौडा समातेर ढुंगाको मुटु फोर्नुपर्ने बाध्यता छ । यसरी उनीहरु ग्ट्टिीको थुप्रोमा बसेर दैनिकी गुजार्नुपर्ने बाध्यतामा छन् । यसरी आधा दर्जन बढी बालबालिका ढुंगासँगै पौठेजोरी खेलिरहेका भेटिन्छन् ।
हिजोआज उनीहरूको साँझ बिहान दैनिकी ढुंगासँगै बित्ने गरेको छ । ढुंगा, माटोसँगै उनीहरूको दैनिकी गुजारा चलिरहेको छ । एकातिर कोभिड १९ ले विद्यालय बन्द छन् । स्कुल पनि जान पाएका छैनन् ।
अर्कोतिर घरमा बिहान बेलुका छाक टार्ने गास पनि छैन । एक जोर फेर्ने टालो पनि छैन । कापीकलम किन्ने आयस्रोत त छँदै छैन । कर्णालीका हिमाली जिल्लाका बालबालिकालाई पढाइसँगै दैनिक खाना जुटाउने पिरलोले सताएको छ ।
कर्णालीका १० मध्ये मुगु झनै पिरोलिएको छ । आर्थिक, भौतिक, सामाजिक, स्वास्थ्य शिक्षाले त्यसै पनि पछि छ, मुगु । कोरोनाले गत चैतदेखि अहिलेसम्म मुगुमा निषेधाज्ञा जारी छ । विद्यालय बन्द भएको समय आम्दानीका लागि यहाँका बालबालिकाका गिटी कुटेरै आयस्रोत जुटाउन लागेका छन् ।
विशेषगरी छायानाथ रारा नगरपालिका वडा नम्बर ४ का दलित बस्तीका बालबालिकाले गिटी कुटाइलाई आम्दानी बनाइरहेका छन् । मुगुकै सम्पन्न बालबालिका बिहान उठ्नेबित्तिकै पठनपाठनमा सरिक हुने भए पनि दलित परिवारका छोराछोरी पढ्नुको साटो काममा लाग्ने गरेका छन् ।
‘घरका कुनै पनि सदस्यको नियमित आम्दानी छैन । बाआमाको जागिर नभएपछि पढ्न पनि सकिँदैन । काम पाइहाले पनि थोरै मात्रा दाम आउँछ । त्यसले खान पुग्दैन । त्यसैले गिटी कुट्न आएको हुँ’, सेतिबाडा आधारभूत विद्यालय कक्षा ५ मा अध्ययनरत छात्रा जुमाना विश्वकर्माले भनिन् ।
उनी अहिले १४ वर्ष पुगिन् । घरमा जहानपरिवार छन् । खाना लाउन पुग्दैन । लगातार गिटी कुट्दा मासिक २ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले सुनाइन् । उनी मात्र होइनन्, ९ वर्षीय बालसखा सन्तोष विश्वकर्माको अवस्था पनि उस्तै छ । उनको घरमा उमेर ढल्लेका बुबा छन् । बुबाको काम आरन व्यवसाय हो । तर, यो पेसाले दैनिकी चल्दैन ।
पुराना पुस्ताले यो पेसालाई निरन्तरता दिए पनि नयाँले गर्दैनन् । गिटी कुटेर महिनामा ५ सय रुपैयाँसम्म आम्दानी हुने गरेको सन्तोष बताउँछन् । अझ गिटी कुट्ने काम पनि धौ धौले पाइने गरेको उनको गुनासो छ । यहाँका स्थानीय सरकारले महामारीको समय बालबालिकाको नियमित अध्ययनमा ध्यान दिन सकेको पाइँदैन ।