सिमकोटः निर्माण उपभोक्ता समितिका सदस्यले पुरस्कृत भएपछि जिम्मेवारी बोध भएको जनाएका छन् । जिम्मा पाएको काम समयमै सम्पन्न गराए सफल र गुणस्तरीय कार्य गरे बापत हौसला प्रदान गर्न र आयआर्जनमा वृद्धि गर्नका लागि पुरस्कृत गरिदा थप हौसला बढेको हो ।
अब उक्त सिंचाई कुलोको मर्मत संहार र संरक्षणको जिम्मा पनि समितिले लिने बताउँदै अर्का समितिका सदस्य शिव शर्मा उपाध्यायले रात दिन नभनि समितिको काम खटिदाको प्रतिफल राम्रो पाएको जनाए । यो राम्रो काम गरेको परिणामले थप जिम्मेवारी बोध गराएको उनले बताए ।
खार्पुनाथ गाउँपालिका– ४ को छिप्रा गाउँकी सिद्धकली रावलले समयमै जिम्मा पाएको काम सम्पन्न हुँदा सिंङ्गो उपभोक्ता समिति पुरस्कृत भएको बताइन् । ठुला खोला सिंचाई कुलोलाई निर्धारित समयमा काम सम्पन्न गरि सञ्चालनमा ल्याउँदा समिति पुरस्कृत भएको हो ।
उपभोक्ता समिति र स्थानीय बासिन्दा मिलेर योजनाको सबै काम लागत अनुमान अनुसार सम्पन्न भएको हो । समिति पुरस्कृत भएपछि जिम्मेवारी बोध भएको बताउदै उनले थप हौसला बढेको जानकारी दिइन् । आफ्ना कुरा आफै भन्नु भन्दा पनि निर्माण भएको योजना देखेर स्थानीय खुसी रहेको पाईदा त्यसैमा गर्भ लाग्ने गरेको बताइन् ।
सिंचाई कुलोका लागि लागत साझेदारी गर्ने निकाय ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका प्राविधिक देबजंग हमालले जिल्ला भरि राम्रो काम गर्ने उपभोक्ता समितिलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार ठुलाखोला सिंचाई योजनाको निर्माण उपभोक्ता समितिलाई सम्मान तथा पुरस्कृत गरिएको बताए ।
उनले समितिले निर्माण कार्य समयमै सम्पन्न गरेको, गुणात्मक कार्य गरेको र समुदायले लागत साझेदारी गरेको कारण पुरस्कृत गरिएको जनाए । पुरस्कृत हुने समितिका सबै सदस्यहरुलाई बेमौसमी तरकारी खेतीका लागि पाल, बीउ, हजारी , ड्रम, प्लाष्टिकको पाइप वितरण गरिएको हो ।
यसबाट किसान समेत रहेका समितिका सदस्यहरुको पोषणमा सुधार र आयआर्जनमा वृद्धि हुन सहयोग पुग्ने विश्वास आयोजनाले लिएको छ । उक्त सिंचाई कुलो योजना आयोजना, गाउँपालिका र समुदायको लागत साझेदारी रहेको छ भने स्नोल्याण्ड एकिकृत बिकास केन्द्र नेपालले सहजिकरण गरेको हो ।