खलंगा : स्याउको राजधानी नै भनेर चिनिने जुम्लाको पहिचान स्याउ हो । पहिलेको तुलनामा जुम्लाका धेरै कृषकले स्याउ खेती गर्ने गरेका छन् । जुम्लाको मुख्य आम्दानीको स्रोत भनेकै स्याउ हो । तर स्याउ हरेक बर्ष जस्तै यस बर्ष पनि काँचो बिक्री हुँदै आएको छ ।
यसरी किसानले काँचो स्याउ बेच्दा जुम्लाको पहिचान गुम्ने खतरा भएको कृषि विकास कार्यालय जुम्लाले बताएको छ । परिपक्क स्याउ टिप्न किसानलाई सल्लाह सुझाव दिएपनि कृषक र व्यापारीले अटेर गर्ने गरेको, कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए ।
उनले भने , ‘भदौ महिनाको दोस्रो सातासम्म स्याउ परिपक्क हुने र गुलियो भरिने र रातो रंगदिने गरेपनि यहाँका कृषक हरेक बर्ष काँचै साउन महिनामै टिपेर बिक्री वितरण गर्दै आएको पाइएको छ ।
जुम्लाको स्याउ बाहिर जिल्ला बिक्री वितरण गर्नका लागि यहाँका गाउँ तथा वडापालिकाले सिफारिस गर्ने व्यवस्था छ । तर यहाँका स्थानीय तहको वडा तथा गाउँपालिकाका केही जनप्रतिनिधिले काँचो स्याउ निर्यात गर्नका लागि सिफारिस दिने गरेकाले यो समस्या हरेक वर्ष दोहोरिने गरेको हो । ’
कृषि विकास कार्यालय जुम्लाले भदौँ महिनाको १० गते भन्दा अगाडी कृषक तथा व्यापारीलाई स्याउ नटिप्न र बिक्री वितरण नगर्न स्थानीय तह तथा सरोकारवाला निकायलाई परिपत्र गरेको छ ।
यस प्रकारको परिपत्र गर्दा पनि स्याउ बिक्री लागि बाहिर जिल्ला सुर्खेत नेपालगज्ज लगायतका ठाउँहरुबाट पुग्ने गरेको सरोकारवालाहरुको भनाइ छ ।
जुम्ला सडकखण्डको हरेक प्रहरी चौकीमा काँचो स्याउ बिक्री वितरणका लागि निर्यात भएको रोक्न परिपत्र गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।
काँचो स्याउ व्यापारीले प्रति केजी ५०/६० रुपियाँमा खरिद गर्दै
जुम्लाको काँचो स्याउ पनि प्रति केजी ५०/६० रुपियाँमा खरिद गर्ने र सुर्खेत नेपालगज्जामा ११० रुपियाँमा केजीमा बिक्री भइरहेको जनाइएको छ । स्याउ परिपक्क र गुलियो भरिएर रातो रंग दिएपछि बाहिर जिल्लामा प्रतिकेजी १५० रुपियाँ भन्दा बढी मुल्यमा बिक्री हुँदै आएको थियो । तर व्यापारीहरुले काँचो स्याउ नै ५० देखि ६० सम्म खरिद गरेको पाइएको छ ।
यस्तै यहाँ रैथाने स्याउसहित उन्नत जातको फुजी स्याउ खेती गर्ने कृषक बढेका छन् । यहाँका झण्डै २३ जना कृषकले ६० हजार फुजी स्याउको बिरुवा रोपेर उन्नत जातको फुजी स्याउ खेती गर्दै आएका छन् । फुजी स्याउँ खेतीमा सरकारले पनि अनुदान दिदै आएका छ ।
स्याउ खेतीको क्षेत्रफल बढ्दै, उत्पादन घट्दै
३ हजार ८ सय हेक्टर जमिनमा स्याउँ खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक रहेको छ । यस मध्ये १ हजार ६ सय हेक्टर जमिनमा स्याउ खेतीमा उत्पादन भइरहेको छ । यस बर्ष १६ करोड बराबर स्याउ खेतीबाट आम्दानी हुने अपेक्षा गरिएको छ ।
गएको वर्ष झण्डै १२ करोड रुपियाँ बराबरको स्याउ बिक्र िवितरण भएको तथ्यांकमा उल्लेख छ । सय वर्ष स्याउको उत्पादनमा कमी आएउपछि स्याउ खेतीको क्षेत्रफल बढी भएकाले निर्यातका कम नआउने कृषि विकास कार्यालय जुम्लाको अनुमान छ ।
यहाँका कृषक र व्यापारीले काँचो स्याउ हरेक बर्ष बिक्री वितरण गर्दै आइरहेका छन् । यसलाई नियमन गर्न आवश्यक रहेको चन्दननाथ नगरपालिका जुम्लाका स्याउ कृषक सरोज शाहीले बताए । उनले भने, ‘पाकेको परिपक्क स्याउ बिक्री गर्दा आम्दानी राम्रो हुने गर्दछ । मैले उन्नत जातको फुजी स्याउ खेती गरेको छु । यो स्याउ असोज महिनामा मात्रै बिक्री गर्ने गरेको छु । ’
त्यस्तै काँचो स्याउँ निर्यात हुन थालेपछि प्रहरी चौकीमा रोक्न लगाएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने, ‘कृषक र व्यापारीलाई पाकेको परिपक्क स्याउ टिप्न र बिक्री वितरण गर्न सुझाए पनि हरेक बर्ष अटेर गर्ने गरेको पाइएको छ । ’ ‘ विशेष गरी बजारीकरण ऐन नभएका कारण नियमन निकायलाई नियमन गर्न समस्या भइरहेको छ ’ उनले थपे । अहिले कृषक र व्यापारीलाई हामी सचेतना र सुझाव दिदै आएको उनले बताए । जुम्लामा १५ हजार स्याउका बंगैचा रहेका छन ।