खलंगाः जुम्लाको तिला गाउँपालिकामा सिमी जोन कार्यक्रम संचालन गर्ने भएको छ । स्याउ सुपर जोन परियोजना कार्यक्रम अन्तर्गत सिमी जोनको रुपमा गाउँपालिकाले विस्तार गरिने भएको हो । परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समिति वैठकले तिलामा सिमी जोनको लागी सिफारिस गरेको हो ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाको अध्यक्षतामा बसेको बैठकले कृषि प्राविधिकहरुको प्रतिवेदन अनुसार तिला गाउँपालिका छनौट गर्ने निर्णय गरको हो । त्यस्तै वैठकले स्याउ जोन लागु हुन बाँकी पातारासी गाउँपालिकाको वडा नम्बर १,२ ३ र गुठिचौरको १ र २ मा स्याउ सुपरजोन कार्यक्रम लागु गर्ने निर्णय समेत गरिएको स्याउ सुपरजोन परियोजना इकाई कार्यालयले बताएको छ ।
प्रमुख गंगा पोख्रेलले स्याउ सुपर जोन परियोजना यस अघि जुम्लाको चन्दननाथ, तातोपानी, गुठिचौर र पातारासी क्षेत्रका अन्य वडामा काम भइरहेको बताइन् । कार्यालय प्रमुख गंगा पोख्रेलका अनुसार यस अघि सुपर जोनले सिंजा क्षेत्रमा स्याउ सुपरजोनमा काम गर्न सिफारिस गरिएको बताइन् ।
उनले भनिन, ‘थोरै जनक्तिले सुपर जोनमा काम भइरहेको भन्दै स्थानीय तह र सम्वन्धित सरोकारवाला कार्यालय मार्फत काम गर्न आवश्यक रहेको छ ।’ सिफारिस गरिएका कार्यक्रमहरु स्वीकृत भने केन्द्रले गर्नुपर्ने स्याउ सुपर जोन परियोजना कार्यालयले जनाएको छ ।
बैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख बुढाले जुम्लालाई कृषि क्षेत्रमा अब्बल बनाउन सुपरजोन कार्यक्रम प्रभावकारी हुदै आएकाले बताए । उनले तिला गाउँपालिका दलहन जोनका लागि सिफारिस भएकोमा थप राम्रो हुने बताए । उनले अव सिञ्जाका ३ वटा तहमा पनि स्याउ सुपरजोनको कार्यक्रम अगाडि बढाउन संघीय सरकारले प्रथामिकता दिने विश्वास छ ।
लामो समयदेखि क्षेत्र (क) मा काम गरिरहेको सुपर जोनले पछिल्लो समय बृहत चक्लाबन्दी बगैंचा घेरवार सिंचाई, स्याउ कार्टन उपलब्ध गराउने काम गर्दै आएको छ । यता क्षेत्र नम्बर (ख) मा भने कार्यक्रम संचालन गर्नुपर्नेमा माग हुदै आएको छ ।
क्षेत्र (ख) अन्तर्गत हिमा, सिञ्जा, कनकासुन्दरी र तिला गाउँपालिका पर्दछन् । जिल्ला परियोजना समितिले तिलामा सिमी जोन र अन्य ३ वटा गाउँपालिकामा स्याउ कार्यक्रमका लागि सिफारिस गरेको छ । समितिको वैठकमा जिल्ला समन्वयका उपप्रमुस गाउँपालिकाका प्रमुखहरु, सरोकारवाला कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।