सल्यानः कर्णाली प्रदेशको नाका सल्यानको कपुरकोटमा होल्डिङ सेन्टरका लागि ट्रस्ट भवन निर्माण गरिएको छ । भारत लगायत तेस्रो मुलुक विभिन्न जिल्लाबाट फर्किने नागरिकलाई कोरोना संक्रमण परीक्षण अवधिसम्म राख्नका लागि नाकामा होल्डिङ सेन्टर निर्माण गर्न लागिएको हो ।
होल्डिङ सेन्टरको लागि कपुरकोट गाउँपालिकाले डेढ महिनामै वडा नं ३ स्थित प्रहरी चेकपोष्ट नजिकै ट्रस्ट भवन निर्माण गरेको हो ।
होल्डिङ सेन्टरको मंगलबार गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भिमबहादुर सेन, सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडा, सिमखर्क ब्यारेक सल्यानका प्रमुख सेनानी कञ्चन कृष्ण बस्नेत, सल्यान जिल्लाका प्रहरी प्रमुख गोविन्द थापा, कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का लगायतले अनुगमन समेत गरेका छन् ।
कर्णाली प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले भवन निर्माण गरेको हो । सम्भावित कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर उपभोक्ता समितिमार्फत होल्डिङ सेन्टर निर्माण गरिएको गाउँपालिका अध्यक्ष सेनले बताए ।
यद्यपी होल्डिङ सेन्टर सञ्चालनका लागि अझै पनि समस्या रहेको बताउदै उनले यसको ब्यवस्थापनका लागि सबैको साथ र समन्वय आवश्यक रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहितको मंगलबार कपुरकोट गाउँपालिकामा बसेको बैठकले कोभिड नियन्त्रणका लागि पालिकाले गरेका कार्यको प्रगति समिक्षा समेत गरिएको थियो । २५ लाख रुपैयाँ लागतमा होल्डिङ सेन्टरका लागि भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
शंकर केसीको सहयोगमा