दैलेखः कारितास नेपालले दैलेख अस्पताललाई झण्डै २६ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिमार्फत जिल्ला अस्पताललाई उक्त, सामग्री हस्तान्तरण गरिएको हो ।
कारितास नेपालले २६ लाख ३२ हजार ६ सय रुपैयाँ बराबरको सामग्री सहयोग गरेको हो । कारितास नेपाल क्षेत्रिय कार्यालय कोहलपुर बाँकेका क्षेत्रिय संयोजक जनकप्रसाद शर्माका अनुसार अस्पताललाई २० थान अक्सिजन सिलिण्डर, १० थान अक्सिजन कन्सन्ट्रेटर, ३४ थान पल्सअक्सिमिटर, ४ सय ५० थान पीपिई सेट, ५ सय १५ बक्स सर्जिकल मास्क, १ सय बक्स सर्जिकल ग्लोब्स र २ सय १० वटा हेण्डसेनीटाइजर सहयोग गरिएको हो ।
मंगलवार सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मी, दैलेख अस्पतालका डा। जगत थापा लगाएतको उपस्थितीमा सामग्री हस्तान्तरण गरिएको छ ।
कारितास नेपालले दैलेख अस्पतालमा आपत्तालिन अवस्थामा कोभिड–१९ को उपचारमा आउनु बिरामीहरुलाई आपत्तकालिन सेवा प्रदान गर्न ३ जना स्वयंमसेवकहरु खटाएको क्षेत्रिय संयोजक शर्माले जानकारी दिए । उनका अनुसार स्वंयमसेवकहरुबाट २ सय ३० जना व्यक्तिहरुले प्रत्यक्ष रुपमा मनोसामाजिक परामर्श लगाएतका सेवा प्राप्त गरिसकेका छन् ।
उक्त सेवालाई थप प्रभावकारी बनाउन हेल्पलाइन नम्बर ९८०१५७३०३१ सञ्चालन गरिने क्षेत्रिय संयोजक शर्माले बताए । उनका अनुसार स्वयंमसेवकहरुले कोभिड–१९ बाट प्रभावित र अति जोखिममा परेका व्यक्ति तथा परिवारहरुलाई एक जना बराबर दुई हजार दुई सयका दरले ४ सय ८२ जनालाई १२ लाख २५ हजार ४८५ रुपैयाँ बराबरको आइसोलेशन किट उपलब्ध गराउने भएको छ ।
कारितासले मानव अधिकार प्रवर्द्धन, शान्ति निर्माण, सामुदायिक विकास परियोजना, गरिबी तथा विपद् जोखिम न्यूनिकरण परियोजना र आपत्तकालिन मानवीय सेवाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
करिब ३० बर्षदेखि नेपालका ५० बढि जिल्लामा कल्याणकारी सेवा प्रवाह गर्दै आएको संस्थाले हाल दैलेखसहित नेपालका १४ वटा जिल्लाहरुमा नेपाल कोभिड–१९ प्रतिकार्य परियोजना सञ्चालन गरेको छ ।