काठमाडौँ : ढिलोचाँडो कर्णाली र खाली रहेका प्रदेशसभा क्षेत्रमा उपचुनाव हुँदैछ । निर्वाचन आयोगले उपचुनाव गर्ने तयारी पनि गरिरहेको छ । तर मंगलबार एक कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कर्णालीमा फ्लोर क्रस गरेका नेताहरुलाई ढुक्क हुन आग्रह गरे ।
उनले आगामी उपचुनाव जिताएर फेरि जिताउने दाबी गरे । कठिन परिस्थितीमा देखाएको बहादुरी र साहसको योगदान खेर नजाने भन्दै नेता नेपालले ढुक्क हुन आग्रह गरे । उसो त आगामी उपचुनाव जित्ने दाउ फ्लोर क्रस गरेका चारै जनाको छ ।
जसरी उनीहरुले फ्लोर क्रस गरेर माओावादी केन्द्रको सरकार जोगाए, त्यसैगरी उपचुनावमा एमालेलाई भोट दिएर माओवादीले जिताउने अपेक्षा चारै जना पद तथा पार्टीविहीन नेता एवंम मन्त्रीहरुको छ । साच्चै माधव नेपालले भनेजस्तै उनीहरुले चुनाव जित्ने सम्भावना छ त ? केही बाहना, सम्भावना र नमूना खेलको अंकगणित हेरौँ ।
पार्टी, उम्मेद्वारी र प्रभाव ?
प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मर थापा र कुर्मराज शाही अहिले एमाले सांसद छैनन् । सल्यान घर भएका ज्वाला प्रभावशाली नेता हुन् । उनी आफ्नो क्षेत्रमा वलियो छन् । उनलाई थोरै मात्रै माओवादी वा कांग्रेसले साथ दिएमा उनले चुनाव जित्न सक्छन् ।
उनले पार्टीसँगै व्यक्तिगत पकड पनि राम्रै बनाएका छन् । त्यसैले उनलाई चुनाव जित्न गाह्रो छैन । यो उनका लागि स्वभाविक हो । यसमा शंका छैन । तर माओवादी कांग्रेसले खुलेर सहयोग गर्छन वा गर्दैनन् हेर्न बाँकी छ ।
यस्तै नन्दबहादुर बुढा डोल्पाबाट निर्वाचित भएका थिए । उनको पनि डोल्पामा राम्रै पकड छ । हिमाली जिल्ला डोल्पामा पार्टीगत भन्दा बढी आधारभूत आवश्यकताको कुरा आउँछ । त्यहाँ उनी दुई पटक मन्त्री भएको बेला जनतालाई राम्रै विश्वास दिलाएको मान्न सकिन्छ ।
डोल्पामा उनलाई माओवादीले मनैदेखि समर्थन गर्न सक्छ । यसमा शंका छैन । कालिकोटमा कुर्मराज शाहीलाई सोचेजस्तो सजिलो छैन । उनी मुख्यमन्त्री महेन्द्र शाहीकै कारण मन्त्री बने । उनले मन्त्री बनाउनेसम्मको राजनीति र प्रभाव जमाउन सकेका छैनन् । यसर्थ उनको आगामी प्रदेशसभाको राजनीति मुख्यमन्त्री शाहीको हातमा छ ।
दैलेखमा अम्मरबहादुर थापालाई पनि सहज छैन । भौतिक पूर्वाधार मन्त्री भएका उनी यसअघिदेखि नै विवादमा छन् । फ्लोर क्रस नगरेको भए उनी मन्त्री बन्न योग्य नेता होइनन् । उनको व्यक्तिगत राजनीतिक धरातल नै संकटमा परेका बेला माओवादी र कांग्रेसले समर्थन गर्छन् गर्दैनन् ? हेर्न बाँकी छ ।
एमाले कि स्वतन्त्र उम्मेद्वार ?
माधव नेपालले उपचुनाव जिताएर पठाउने बताइरहेका बेला चारै जना एमालेद्धारा कारबाहीमा परेका नेता हुन् । जो अहिले पार्टी र सांसदविहीन छन् । यस्तो अवस्थामा उनीहरुले पार्टीबाट टिकट पाउने सम्भावना छैन ।
यसलाई बागमतिमा राष्ट्रियसभाको उपचुनाव जसरी लिनु उपयुक्त मानिन्छ । जहाँ रामबहादुर बादल भर्सेज खिमलाल देवकोटोका उम्मेद्वारी थिए । एमालेका आधिकारिक उम्मेद्वार तत्कालिन गृहमन्त्री समेत रहेका बादल थिए ।
मा
माधव नेपाल समेतको समर्थन देवकोटा विपक्षी र स्वतन्त्र उम्मेद्वार थिए । स्वतन्त्र उम्मेद्वार रहेका देवकोटाले चुनाव जिते । बादल पराजित भए । कर्णालीमा पनि ठीक यही शैली भित्रिन सक्छ । एमाले मिल्ने सम्भावना तत्काल देखिएको छैन ।
यस्तो बेला प्रकाश ज्वालासहितका नेताहरुले एमाले ओली संस्थापन पक्षबाट टिकट पाउँदैनन् । सोही कारण उनीहरु स्वतन्त्र उम्मेद्वार भएर चुनावमा जानुपर्ने हुन्छ । यता एमालेले आफ्नो पार्टीको उम्मेद्वार उठाउन सक्छ । चर्चित भइसकेका नामविरुद्ध नयाँ अनुहार अगाडि सारेर चुनाव जित्न सजिलो हुँदैन ।
यदि माधव नेपालकै शब्दमा उपचुनाव जिताउन प्रचण्ड र शेरबहादुर देउवाले चाहेको खण्डमा कर्णालीको सरकारलाई समेत फेरि धक्का दिने गरी उपचुनावको राजनीतिक रस्साकस्सी बढ्न सक्छ ।