म्याग्दी : बेलायती गोर्खा सैनिकबाट सेवानिवृत्त भएपछि जन्मथलोको विकासमा श्रम, सीप र धन खर्चेका जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका राजु पुन र उहाँकी श्रीमती गीताले मृत्युपछि समाधिका लागि आफैले विकास गर्न खोजेको ठाउँलाई रोजेका थिए ।
एक दशकदेखि धार्मिक पर्यटकीय सम्भावना बोकेको खयरभारानी र खोपाराको विकासमा नेतृत्व गरिरहेका पुनले उपचारका क्रममा गत हप्ता काठमाडौँमा दिवङ्गत भएकी श्रीमती गीताको शव मङ्गलबार हेलिकोप्टरबाट ल्याएर इच्छाइएको ठाउँमा लगेर समाधि गराएको छ । “हामी दम्पतीले टुटुङ्गाको डाँडामा समाधि गर्ने ठाउँ खोजेका थियौँ, श्रीमती दिवङ्गत भएपछि उनको इच्छानुसार यहीँ ल्याएर समाधि गरेको हो”, राजुले भने “मलाई पनि यहीँ ल्याएर समाधि गर्न परिवार र आफन्तलाई भनेको छु ।
बाइस वर्ष सेवा गरेपछि बेलायती गोर्खा सैनिकबाट सेवानिवृत्त हुनुभएका ६९ वर्षीया लेफ्टिनेन्ट राजु विसं २०६८ देखि भौगोलिकरूपमा दुर्गम क्षेत्रमा पर्ने ओझेलमा परेको खयरभारानी क्षेत्रको पूर्वाधार विकास, प्रचार र तीर्थालुको सेवामा समर्पित अगुवा हुनुहुन्छ । विश्वकै विकसित र सुविधासम्पन्न देश बेलायतको सरकारबाट पाएको आवासीय सुविधा छाडेर दुर्गम ठाउँको विकासमा लाग्नुभएका राजुलाई सघाउन नेपालमै रहेकी गीताको गत हप्ता काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । बेलायतमा रहेका छोरीहरु सोमबार नेपाल आएपछि गीताको शवलाई समाधिका लागि एयर अल्टिच्युटको हेलिकोप्टर चार्टर गरेर ल्याइएको हो ।
समाधि गर्ने ठाउँभन्दा एक घण्टा पैदल हिँडेपछि पुगिने दहमा अवतरण गरेको गीताको शव बोकेको हेलिकोप्टर मौसम खराबीका कारण मङ्गलबार काठमाडौँ फर्कन सकेन । मौसमकै कारण अन्नपूर्ण गाउँपालिकाको घारमा अवतरण गरेको उनीहरुका चार बहिनी छोरी चढेको हेलिकोप्टर त्यहीँबाट काठमाडौँ फर्किएको थियो । समाधिका लागि पाउद्वारका बासिन्दा, दाजुभाइ र आफन्त सोमबार नै खोपारामा गएर बास बसेका थिए । पाउद्वारबाट खोपारा पुग्न पूरै दिन उकालोमा पैदलयात्रा गर्नुपर्छ ।
पाउद्वारका लीलबहादुर पुनले राजुका दम्पतीले समाधिका लागि पनि खयर क्षेत्र रोज्नुलाई उहाँहरुको यस क्षेत्रको विकासप्रतिको लगावलाई पुष्टि गर्ने बताए । “सुख, सुविधा बिर्सिएर यस्तो दुर्गम ठाउँलाई विकास गराउन उहाँले धेरै योगदान गर्नुभएको छ”, लीलबहादुरले भन्नुभयो, “मत्युपछि पनि यही ठाउँ रोजेर उहाँले देखाएको लगाव र समर्पण सम्मानयोग्य, उदाहरणीय र प्रेरणादायी छ ।” राजुको नेतृत्वमा ‘खयरभारानी थान तथा क्षेत्र संरक्षण कोष’ मार्फत दाताबाट करोडौँ सहयोग जुटाएर पदमार्ग निर्माण/सुधार, थान (मन्दिर) र धर्मशाला निर्माण भएको छ ।
म्याग्दीकै पर्यटकीयस्थल पुनहिलमा मेजर टेकबहादुर पुनको स्मृतिमा भ्यूटावर बनाउने कामको नेतृत्व गरेका राजुको अगुवाइमा खयर क्षेत्रमा निर्माण भएका पूर्वाधारले पर्यटक र तीर्थयात्रीलाई सहज भएको छ । स्थानीयवासीले आफन्तको नाममा पाउद्वारबाट खोपारा हुँदै चार हजार ७०० मिटर उचाइमा रहेको खयरभारानी ताल जाने १० किलोमिटरभन्दा बढी दूरीको पदमार्ग र चौतारी बनाएका छन् । कोषले स्वदेश तथा विदेशमा सहयोग जुटाएर खोपारा र खयर क्षेत्रको पूर्वाधार विकासमा रु डेढ करोडको हाराहारीमा लगानी गरेको छ ।
समुद्री सतहबाट चार हजार ७०० मिटर उचाइमा मुटु आकारमा रहेको खयरभारानी तालमा जनै पूर्णिमाका दिन पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । तीन हजार ६६० मिटर उचाइमा अवस्थित खोपारा हिमशृङ्खला, सूर्याेदय, ग्रामीण जीवनशैली झल्काउने भेडा, चौँरीगोठ, जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण गन्तव्य हो ।
पदमार्ग निर्माण भएपछि पर्यटक, पाहुना र भक्तजन उकालो, चिप्लो, साँघुरो बाटोमा चिप्लने, लड्ने र बाटो बिराएर हराउने समस्या हटेको छ । आश्रयस्थल भएपछि खान र बस्नका लागि सहजतासँगै सुरक्षित भएको पाउद्वारका दलप्रसाद तिलिजाले बताए । रासस