खलंगाः जुम्लामा नेपाल मास्क अभियान सुरु भएको छ । बुधबार चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवाल, जुम्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बिजयाकुमारी प्रसाई, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटा लगायतका सुरक्षाकर्मीको टोली मास्क अभियानमा हिँडेका हुन् ।
तपाईको मास्क खोई भन्दै उक्त टोली सडकमा आएको हो । साथमा सडकमा मास्क नलगाएर भेटिएकाहरुलाई मास्क दिइएको छ । महामारी कोरोनालाई रोकथाम तथा नियन्त्रणमा लिनको लागि तपाईको मास्क खोई अभियान सुरु गरिएको बताइएको छ ।
सीडीओ प्रसाईले भनिन्, ‘नियमित मास्कको प्रयोग गर्नुहोला । आफू बचेर आफ्नो घरपरिवारलाई बचाउने काम गर्नुहोला । यो भेरियन्ट निकै असर गर्न सक्छ । ’
जुम्लामा मास्क बैंक स्थापना गर्ने
प्रसाईले जिल्लामा मास्क बैंक स्थापनादेखि कोरोना संक्रमणबाट बच्न सचेतनाका क्रियाकलाप अघि बढाइने बताइन् । नेपाल सरकारले थालेको मास्क अभियान अन्तर्गत सडकमा निस्किएकी उनले भनिन्‘, ‘यो अभियान सदरमुकाममा मात्रै केन्द्रित हुदैन् । ग्रामीण क्षेत्रमा पनि चल्नेछ ।सबै मिलेर महामारीलाई परास्त गर्नु अहिलेको आवश्यकता हो । यो अभियानमा साथ सबैले दिन जरुरी छ । ’
त्यस्तै चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले कोरोना भाइरसको तेस्रो भेरियन्ट लाग्न नदिनको लागि उच्च सावधानी अपनाउन नगरबासीलाई आग्रह गरेकी छन् ।
उनले भनिन् ‘कोरोना भाइरस एक जना व्यक्तिको समस्या होइन । विश्वकै समस्या हो । यस्तो समस्यालाई सामूहिक एकता र प्रतिवद्धताको खाँचो छ । सबै मिली कोरोना भगाऔँ, बालबालिका जोगाऔँ ।’
जिल्ला प्रशासन कार्यालय अगाडिदेखि सुरु भएको मास्क अभियान कालेखोली, बसपार्क, टुडिखेलदेखि प्रतिष्ठान हुँदै जिल्ला प्रशासन कार्यालय जुम्ला नजिकै पुगेर सकिएको थियो ।