सिमकोटः उत्तरी चीनसँग सिमाना जोडिएको हिमालपारीको गाउँ लिमी पुग्न हिमालवाट बगेर आएको हिमनदी तर्नु पर्ने बाध्यता रहेको छ । नाँम्खा गाउँपालिका– ६ को लिमी जान दुई मध्य एउटा खोला र अर्को नदी भएको तथा दुबैमा पुल नहुँदा मानिसले पानीमै तर्नु परेको हो ।
लिमीको हल्जी गाउँका फुन्जोक तामाङले लिमी आउजाउ गर्न बर्खामा बढेको खोला र नदी तर्नुपर्ने बाध्यता रहदै आएको बताए । उनका अनुसार न्यालु लेकबाट लिमी जाँदा ताक्चीमा अपाएक पर्ने र लामो बाटो हुर्ने भएपछि मानिसहरु तुम्लिङमा कर्णाली नदीको सहायक नदीमा तर्दै आएको जानकारी दिए ।
लिंङ खोला र तुम्लीङको सहायक नदी बाटो मै पर्छन । यो नदीमा यातायात सुचारु भए गाडीमा जाने भएपनि यसवर्ष हिउँदबाटै भत्केको बाटो मर्मत नभएको हुँदा गाडी सुचारु भएको छैन ।
यसरी पानी तर्नु पर्ने भएको हुँदा मानिसहरु ज्यानै जोखिममा राखेर पानी तर्न बाध्य हुँदै आएका छन् । मानिस एक्लै हुँदा तर्न नसकिने र चार पाँच जना साथी मिलेपछि हात जोडेर तर्ने गर्दै आएका छन् ।
तुम्लीङमा धेरै पहिलेबाट पुल निर्माणका लागि आवाज उठाएको भएपनि हालसम्म निर्माण हुन सकेको छैन । लिमीमा सामाजिक सुरक्षा भत्ता बुझाउन गएकी वडा सचिब हिरा शर्मा मगरले तीन जना साथी मिलेर तुम्निङमा नदी तरेको बताइन् ।
काम पर्ने भएको हुँदा जोखिम उठाएर नदी तर्नुको विकल्प नदेखिदा जानै पर्ने बाध्यता रहेको उनले बताइन् । लिमीमा सामाजिक सुरक्षा भत्ता बुझाउन उनीहरुको टोली गएको हो ।
वडाध्यक्ष पाल्जोर तामाङका अनुसार मंसिरपछि पानी कम भएपनि बर्खामा बढेको नदीमा पानी तर्नु परि रहेको जनाए । युवा युवतीलाई केही सहज भएपनि वृद्धवृद्धा र बालबालिकाहरु भने तर्न नसक्ने बताउँदै कर्णालीको सहायक नदी समेत रहेको तुम्लिङमा पुल बनाउन सम्बन्धित निकायसँग आग्रह समेत गरिएको छ ।
हिउ पग्नेर आउने भएको कारण पानी पनि निक्कै चिसो हुने भएको कारण पानी तर्न पनि समस्या हुने गरेको छ । तर लिमीमा काम विशेषले जाने मानिसलाई पानी तर्नुको अन्य कुनै बिकल्प छैन ।