दैलेखः समग्र दैलेखी जनताको अधिकार प्राप्तिका लागि सामाजिक अभियन्ता समेत थिए स्वर्गीय पत्रकार डेकेन्द्रराज थापा । अग्रज पत्रकार थापाको रगतले सिंचित दैलेखको पत्रकारिता झाँगिदै छ । आज १७औं स्मृति दिवस मनाइरहँदा पत्रकार थापाको न्यायको लडाइँ जारी छ ।
दैलेख जिल्लामै जन्मेका दैलेख जिल्लामा नै कार्यक्षेत्र बनाएका थापालाई द्वन्द्वकालमा माओवादीले अपहरण गरेर हत्या गरेको थियो । माओवादीको नियन्त्रणमा राखिएका डेकेन्द्रको ०६१ साउन २७ गते द्वारी–१ स्थित नेरा निमाविको कक्षाकोठामा हत्या गरिएको थियो । ०६१मा माओवादीद्धारा अपहरित डेकेन्द्र चार वर्षपछि जंगलमा गाडिएको अवस्थामा भेटिएका थिए ।
गाउँले, पत्रकार महासङ्घ, मानव अधिकारवादी संघ–संस्थाको पहलमा चार वर्षपछि डेकेन्द्रको अस्थिपञ्जर भेटियो– दैलेखको द्धारी गाउँमा । भीरको खोंचमा गाडिएको अवस्थामा मानव अधिकारकर्मी र सुरक्षाकर्मीले खाल्डो खनेर एकएक अस्थिपञ्जर सङ्कलन गरेका थिए ।
थापाको हत्या भएको ८ वर्ष पछि प्रहरीले ५ जना अभियुक्तलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एकीकृत नेकपा माओवादी तथा नेकपा–माओवादीका जिल्ला स्तरीय नेता/कार्यकता थिए ।
द्धन्द्धको समयमा दैलेख बजारमा खानेपानीकोे विवाद मिलाउन भन्दै अपहरण गरी २०६१ साउन २७ गते उनको हत्या भएको थियो । उनको हत्या गरिएको दिनको सम्झनामा डेकेन्द्र चोकको स्थापना गरि स्मृति दिवस मनाउँदै आइएको छ । पत्रकार थापाको हत्यापछि राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चौतर्फी निन्दा समेत भयो ।
न्यायको लडाइँ भन्दै नेपाल पत्रकार महासंघ, मानव अधिकारवादी संस्थाहरुले अहिले पनि निरन्तर संघर्ष गरिरहेका छन् । थापाको हत्या भएको १७ वर्ष बितिसक्दा समेत हत्यामा संलग्न मुख्य आरोपितहरु अझै कानुनको दायरामा आउन नसकेको पत्रकार भुपेन्द्र शाही बताउँछन् ।
आरोपित मध्ये संलग्न रहेको भनिएका ६ जनाले दैलेख जिल्ला अदालतको फैसला अनुसार कसुर अनुसारको सजाय गरिसकेका छन् । हत्या घटनामा संलग्न ३ जना मुख्य आरोपि अहिले पनि फरारको सूचीमा रहेको नेपाल पत्रकार महासंघ दैलेखले जनाएको छ ।
पत्रकार थापाको हत्यामा संलग्न मुख्य आरोपितलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघ दैलेखले बुधबार ज्ञापनपत्र बुझाएको छ । पत्रकार डेकेन्द्रराज थापाको स्मृति दिवसका अवसरमा महासंघले जिल्ला प्रशासन कार्यालय दैलेख र जिल्ला प्रहरी कार्यालय दैलेखलाई ज्ञापन समेत बुझाएको हो ।
जिल्लास्थित पत्रकारहरुको उपस्थितमा महासंघका अध्यक्ष यज्ञराज थापाले सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद देवकोटा र प्रहरी नायब उपरिक्षक डिएसपी अनुपम श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य आरोपीतहरु पक्राउ पर्न नसक्नुले मुलुकमा पत्रकारको हत्या तथा प्रेस स्वतन्त्रता हनन् घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउने वातावरण अझैसम्म सृजना नभएको पत्रकार महासंघले ठहर गरेको छ ।
महासंघले पत्रकार थापाको हत्याको घटनामा संलग्न मुख्य आरोपीहरुलाई तत्काल पक्राउ गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग समेत गरेको छ ।