जुम्लाः वीरेन्द्रनगर ६ सुर्खेतमा घर भएका हाल सुकेधारा काठमाण्डौँमा बस्ने १८ वर्षीय सुजल सापकोटा अक्सिजन सिलिण्डर ल्याएर जुम्ला पुगेका छन् । उनले २० वटा अक्सिजन सिलिण्डरसहित उनी जुम्ला पुगेका हुन् ।
उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २० लिटरका २० वटा अक्सिजन सिलिण्डरसहित पुगेका हुन् । आफुले ल्याएको अक्सिजन सिलिण्डर अस्पतालका निर्देशक डा। राजिव शाह र द्धन्द्धबहादुर शाहीलाई हस्तान्तरण गरे ।
उनले भने,‘ ‘कोरोना महामारीका बेलामा अक्सिजनको चरम अभाव देखिएको छ । अहिलेदेखि अक्सिजन सिलिण्डरको जोहो गरेपछि धोका पाइने छैन । तेस्रो भेरियन्ट बालबालिका केन्द्रीत भएकोले अझ संवेदनशिल बन्न जरुरी देखिन्छ । यी सिलिण्डर पनि यही भेरियण्टमा प्रयोग हुनेछन । ’
एनआरएनए युगाण्डाको आर्थिक सहयोगमा प्राप्त अक्सिजन सिलिण्डर ल्याएर जुम्ला पुगेका सुजलले कोभिड महामारीबाट कसैले पनि अक्सिजन अभावका कारण मुत्यु हुन परोस् भन्ने मान्यता रहेको प्रतिक्रिया दिए ।
उनले भने,‘ ‘कोरोनाको तेस्रो भेरियन्ट आइसकेको छ । यसले बालबालिकालाई प्रभावित बनाउने देखिन्छ । कर्णालीका बालबालिकालाई थोरै भएपनि राहत मिलोस् भनेर अक्सिजन सिलिण्डर प्रदान गरिएको छ ।’
युगाण्डास्थित एनआरएनएसँग सुजल र डा। सुहेल सापकोटाले अक्सिजन सिलिण्डरको लागि सहयोग गर्न पहल गरेका थिए । उनले भने, ‘भौगोलिक रुपमा कर्णाली अति दुर्गम छ । दुर्गममा रहेको सुविधा सम्पन्न अस्पतालमा अक्सिजन दिदा धेरैभन्दा धेरै बिरामीले उपयोग गर्ने विश्वास छ ।’
सुजल र डा।सुहेल दाजुभाई हुन । सुजलले भने,‘ कर्णालीमा अक्जिसन अभावले बिरामी छट्पटीएको समाचार सुन्न पाइन्छ । त्यो देखेर एनआरएनएसँग समन्वय गरेर अक्सिजन प्राप्त भएको हो । यो सिलिण्डर भौतिक उपस्थितीमा दिन पाउँदा उत्साहित छु ’ उनले थपे, ‘मैले सिलिण्डर ल्याएर बुझाएको छु । दाजु डा. सुहेल सापकोटाको भौतिक उपस्थिती भएन । उहाँ जहाँ भएपनि तनमन कर्णालीमै छ ।’