काठमाडौँ : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशमा फेरि कुलमान घिसिङ आएपछि कर्णाली उज्यालो हुने आशा बढेको छ । कूलमान गएपछि सुर्खेतमा धुरुक्कै रुवाउने बत्ती जाने समस्या पनि हट्ने अनुमान गरिएको छ ।
यद्यपी दुर्गमको यो समस्या कत्तिको हट्छ हेर्न बाँकी छ । तर कुलमान फेरि प्राधिकरणको नेतृत्वमा आएपछि कर्णालीमा धेरै आश र भरोसा थपिएको छ । यो साच्चिकै आशलाग्दो कुरा हो । तर कहिले पूरा हुन्छ ? हेर्न बाँकी छ ।
तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माले कूलमानलाई प्राधिकरणको नेतृत्वमा ल्याएका थिए । उज्यालो नेपालका नायकका रुपमा चिनिएका जनार्दनको बोल्ड निर्णयकै कारण कूलमानले नेपालको १८ घण्टे पट्यारलाग्दो लोडसेडिङ हटाएका थिए ।
लोडसेडिङ हटाएसँगै कूलमानमाथि भरोसा बढेको थियो । जुन अहिले पनि कायमै छ । यसले साच्चिकै जनतामा आशा, भरोसा र नयाँ उज्यालोको कल्पना गर्ने शक्ति बढेको थियो । त्यही आश, भरोसा र विश्वासले गर्दा कूलमानलाई फेरि माओवादी र कांग्रेसको संयुक्त सरकारले प्राधिकरणमा ल्याएको हो ।
कर्णाली उज्यालो हुने भरोसा
कर्णालीका पहिलो ऊर्जामन्त्री जनार्दन शर्मा, दोस्रो ऊर्जामन्त्री महेन्द्रबहादुर शाही हुँदा नै सुर्खेत, दैलेख, सल्यान, कालिकोट र जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगिसकेको छ । सुर्खेत, दैलेख र सल्यानमा यसअघि नै प्रसारण लाइन पुगेपनि कालिकोट र जुम्लामा यसपटक पुगेको हो ।
जाजरकोट, रुकुममा पनि यसअघि नै प्रसारण लाइन पुगेको थियो । प्रसारण लाइन पुगेपनि जुम्ला र कालिकोटमा अहिले पूरा समय बिजुली बलेको छैन । त्यसमाथि राष्ट्रिय प्रसारण लाइनकै तार चुडिएर झ्याप्प झ्याप्प बत्ती जाने समस्या उस्तै छ ।
यद्यपी जनार्दन र महेन्द्र शाहीबाट सुरु भएको कर्णाली उज्यालो बनाउने अभियान कुलमान फेरि प्राधिकरणमा आएपछि थप आशा बढेको छ । जनार्दन अहिले अर्थमन्त्री छन् । महेन्द्र शाही कर्णाली प्रदेशका मुख्यमन्त्री छन् ।
उनीहरु जिम्मेवार पदमा रहेकै कारण पनि कूलमानको काम गर्ने आधुनिक शैलीका कारण यसै वर्ष हुम्ला, मुगु र डोल्पामा पनि राष्ट्रिय प्रसारण लाइन पुग्ने आशा गरिएको छ । यद्यपी हुम्ला सदरमुकाम सिमकोटमा अहिले पनि गाडी पुगेको छैन ।
राष्ट्रिय प्रसारण लाइन पुर्याउनकै लागि कर्णालीका नेताहरु रातदिन लागिपरेका छन् । जुन एक असाधारण कुरा हो । यसका लागि प्रयास पनि भइरहेको छ । तर कूलमान फेरि प्राधिकरणमा आएपछि सबैभन्दा धेरै आशा पलाएको छ । यो सुखद विषय हो । तर मूल कुरा उनले आफ्नै थपिएको दोस्रो कार्यकालमा कर्णाली उज्यालो बनाउन सक्लान ? नेताहरुले आफ्नो भिजन कूलमानको काम गर्ने शैलीबाट पूरा गर्न सक्लान ? साच्चिकै सोचनीय विषय छ ।
सुर्खेतमा झ्याप्प बत्ती जाने समस्या हट्ला ?
कूलमानको आवश्यकता सबैभन्दा धेरै सुर्खेतमा बसेका कर्णालीबासीलाई महसुस भएको छ । कूलमान जानेवित्तिकै सुर्खेतमा सबैभन्दा धेरै झ्याप्प झ्याप्प बत्ती जाने समस्या बढ्दो छ । यो समस्या आउनुमा कोहलपुर सुर्खेत प्रसारण लाइन अवरुद्ध भएको कारण नेपाल विद्युत वितरण केन्द्र सुर्खेतले बताउने गरेको छ ।
यसअघि कूलमान हुँदा यो समस्या धेरै थिएन । तर अहिले पटक पटक बत्ती जाने र घण्टौ लाइन नआउने कारण सुर्खेतबासी वाक्क भएका छन् । यसले हैरान भएका कर्णालीबासी अब कुलमानको आगमनसँगै यो समस्या हट्ने अनुमान गरिएको छ ।
यसअघि कुलमान हुँदा चौबिसै घण्टा बिजुली बत्ती पाउने सुर्खेतबासी कूलमान नहुँदा घोटाला भएको आशंका गरिरहेका छन् । जनतालाई दुःख दिएर इलेक्ट्रोनिक सामान बेच्ने जुक्तिका रुपमा पनि यसलाई हेर्न थालिएको छ ।
अब कुलमान प्राधिकरणको कार्यकारी निर्देशकको कुर्सीमा बसेपछि यो समस्या हट्छ वा हट्दैन हेर्न बाँकी छ । तर कम्तीमा कुलमान आएपछि सुर्खेतमा दैनिकजसो दुःख दिने बत्ती जाने समस्या हट्ने आशा सुर्खेतबासीमा छ ।