फूटबल भन्नेवित्तिकै धेरैले पेलेको नाम लिन्छन । ब्राजिलका पेलेलाई फूटबलका महान खेलाडी भन्नेवित्तिकै म्यारोडोनाको नाम जिब्रोमा आइहाल्छ । अर्थात पेलेजत्तिकै उत्कृष्ट र अर्का महान खेलाडी हुन, डियगो म्यारोडोना । जसले छोटो समयमै आफ्नो परिचय बनाए ।
फुटबललाई पागपन करियर रुपमा अघि बढाए । र विश्वभर नयाँ नामले चिनिए । अर्जेन्टिनाका यी खेलाडीले जति सफलता हात पारे, त्यो भन्दा विवाद निम्त्याए र केही असफलता पनि व्यहोरिरहे । उनको जीवनलाई हेर्ने हो भने अहिले पनि विवादका पर्याय म्यारोडोना हुन ।
बाल्यकाल र फूटबल
सन् १९६०, अक्टोबर ३० मा अर्जेन्टिनाको राजधानी ब्युनर्स एयर्सको लानुसमा म्यारोडोना जन्मिएका हुन । उनको बाल्यकालको नाम डिएगो अर्मान्डो म्याराडोना फ्रान्को हो । उनका तीन दिदी र दुई भाई छन । कमजोर पारिवारिक अवस्थामा जन्मिएका उनी तीन दिदी र दुई भाईमध्यै सबैभन्दा चर्चित र विश्वले गर्व गर्ने व्यक्ति बने ।
८ वर्षको उमेरमा म्यारोडोनाले स्थानीय क्लब इस्ट्रला रोजामा खेले । प्रतिभाको खोजी गर्दै आएको स्काउटले उनको फुटबलको जादु देखेर चकित भयो । पछि अर्जेन्टिनाको राष्ट्रिय टिमको जुनियर टिमका लागि भइरहेको परीक्षणमा उनी अब्बल मात्रै होइन, अर्जेन्टिनाले विश्वकप जित्न सक्ने खेलाडीका रुपमा छनौट भए । जबकी त्यो परीक्षण जुनियर अर्थात बालकहरुको थियो ।
‘जब म्याराडोना जुनियर टिमका लागि ट्रायल दिन आए, म चम्मित भए म्याराडोनाका युवाकालका प्रशिक्षक त्यसबेलाको परिस्थितीबारे भन्छन, मैले जे देखेँ पत्याउनै सकिन। त्यो कला देखाउने मात्रै ८ वर्षको बालक थियो। हो ऊ उमेरले बालक थियो तर उसको फुटबल कला परिपक्व। उसले हामीलाई टिममा अटाउन विश्वास गर्न बाध्य बनायो।’
पहिलो गोल र सपनाको क्लब
टिममा छनौट भएपछि १२ वर्षको उमेरमा उनले अर्जेन्टिनाको पहिलो डिभिजनको एक खेलमा मौका पाए । त्यसलाई स्वर्णिम बनाए । तर उनले व्यवसायिक खेल भने १९७६ अक्टोबर २ मात्रै शुरु गरेका हुन । १६ बर्षको उमेरमा १६ नम्बरको जर्सी लगाएर मैदान छिरेका म्याराडोनाले आफ्नो पहिलो गोल १४ नोभेम्बर १९७६ मा माप्रलाटेन्सी क्लबविरुद्ध गरे ।
पाँच वर्ष अर्जेन्टिनोस जुनियरमा बिताएका उनले १ सय ६६ खेलमा १ सय १६ गोल गरे। त्यसपछि उनी ‘बोका जुनियर’मा अनुबन्धित भए। अरु क्लबले राम्रो रकमसहितको अफर गरे पनि म्याराडोना आफ्नो सपना पूरा गर्नका लागि बोका जुनियर तर्फ लागे। उनमा ‘बोका जुनियर’ क्लबबाट खेल्ने सपना लामो समयदेखि बाँचेको थियो।
म्यारोडोनाले आफ्नो सपनाको क्लब बोका जुनियरबाट पहिलो खेलमै दुई गोल गरे। सबै भनेजस्तो हुँदैन नै। बोकामा उनले राम्रो गरिरहेका थिए तर क्लबका प्रशिक्षक सिल्भिओ मार्जोलिनीसँग उनको सम्बन्ध सहज बन्न सकेन। त्यसो हुँदाहुँदै पनि बोकाले लिगको उपाधि जित्यो। उनले अर्जेन्टिनाको घरेलु लिगमा जितेको यो नै पहिलो र अन्तिम उपाधि बन्यो। म्याराडोना नामले त्यसैबेला देखिने आकार लियो।
बार्सिलोना यात्रा
सन् १९८२ को जुनमा म्याराडोना त्यसबेलाको विश्व कीर्तिमानी मूल्य ७६ लाख अमेरिकी डलरमा स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित भए। सन् १९८३ मा उनले बार्सिलोनाबाट प्रशिक्षक सेसर लुइस मेनोट्टीको प्रशिक्षणमा रियल मड्रिडलाई हराएर कोपा डेल रे तथा एथ्लेटिको बिल्बाओलाई हराएर स्पेनिस सुपर कपको उपाधि जिते।
सन् १९८३ को जुन ३० मा म्याराडोनाले विश्व फुटबलमा सबैभन्दा भव्य क्लब प्रतिस्पर्धा एल क्लासिकोमा गोल गरे। त्यही बेला उनी रियल मड्रिडका समर्थकले पनि सम्मान गर्ने बार्सिलोनाका पहिलो खेलाडी बने।
यसका बाबजुद चोट, बिरामी र मैदान बाहिरको व्यवहारका कारण बार्सिलोनामा म्याराडोनाको समय निकै कठीन रह्यो। यहीँ उनले लागुऔषध कोकिनसँगको संगत सुरु गरे। त्यसलाई बानी नै बनाए। फुटबलको लतसँगै कुलतको लतमा परे म्यारोडोना। बार्सिलोनाका निर्देशकसँगको लामो विवादपछि उनले बार्सिलोनासँगको यात्रा टुंग्याए। त्यसपछि रोजे इटालियन सिरी ए क्लब नापोली।
नापोली र ड्रग्स
बार्सिलोनामा कीर्तिमानी मूल्यमा गएका म्याराडोना नापोलीमा पनि अर्को कीर्तिमानी मूल्यमा अनुबन्धित भए। बार्सिलोनाबाट उनी ६९ लाख पाउण्डमा नापोलीमा अनुबन्धित भएका थिए। सन् १९८४ को जुलाई ५ मा नापोलीले उनलाई आफ्नो खेलाडीका रुपमा भव्य स्वागत गर्यो। उनको स्वागतमा ७५ हजार समर्थक रंगशालमा जम्मा भएका थिए।
नापोलीमा उनले आफ्नो खेल जीवनको उचाइ समाते। उनी क्लब र समर्थकको मनमा बस्न सफल खेलाडी बने। पाँच वर्षको नापोलीसँगको यात्रामा उनले दुई पटक ‘सिरी ए’को उपाधि जिते भने दुई पटक उपविजेता बने। यस्तै एकपटक युइएफए कप र एक पटक कोपा इटालियाको उपाधि पनि उचाले।
हातले गरेको त्यो विश्वकप गोल
म्याराडोनाको कुरा गर्दा बिर्सनै नहुने कुरा हो, विश्वकप फुटबल। म्याराडोना र विश्वकपको कुरा गर्दा सम्झनामा आउँछ उनले सन् १९८६को विश्वकपमा हातले गरेको गोल। क्वाटरफाइनलमा इंग्ल्याण्डविरुद्ध उनले हातले गरेको गोल विश्व फुटबलको एक अनौठो गोल मानिन्छ। जुन गोल पछि ‘ह्याण्ड अफ गड’का रुपमा परिचित भयो। सोही वर्ष म्याराडोनाले विश्वकपको उपाधि उचाले।
विश्वकप सुरु हुनु अघिदेखि नै म्याराडोनालाई रोक्न सक्ने को होला भन्ने बहस चलिरहेको थियो। हुन पनि उनलाई रोक्न कि त लडाउनु नै पर्ने थियो कि त पूरा डिफेन्सिभ। होइन भने म्याराडोनाको कठिलो शरीर र तिव्रतालाई उछिन्न अरुलाई मुस्किल नै थियो। अझ त्यसमा बल ड्रिबल गर्ने उस्तै खतरनाक शैली।
चार वर्षअघि विश्वकपमा डेब्यु गरेका उनले गोल्डेन बुटसँगै उपाधि उचाले। तर चार वर्ष पछिको विश्वकपमा उनले त्यसअघिको जस्तो उचाइ लिन सकेनन्। यो पटक पनि उनकै कप्तानीमा थियो अर्जेन्टिना। तर चोटका कारण म्याराडोनाले लय समात्न सकेनन्। सन् १९९४ को विश्वकप भने उनका लागि बिर्सन लायक बन्यो। लागुऔषध परीक्षण असफल भएका कारण उनी बीचबाटै घर फर्किन बाध्य भए। १६ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका म्याराडोनाले ९१ खेलमा ३४ गोल गरे।
बार्सिलोनामा हुँदा सुरु भएको म्याराडोनाको कोकिनसँगको प्रेमले नापोलीमा लतको रुप लियो। मैदानमा बलसँग रमाउने उनी त्यसबाहिर कोकिनमा झुम्न थाले।
कोकिनको संगत र परिणाम
बल, गोल र उपाधिले घेरिएका म्याराडोनासँगै सञ्चार माध्यममा विभिन्न विवाद र कोकिनका कुरा पनि छाउन थाले। यसले उनलाई फुटबलबाट १५ महिनासम्म प्रतिबन्धको अँध्यारोमा धकेल्यो। सन् १९९१ मा कोकिनको परीक्षणमा सफल हुन नसकेपछि उनीमाथि १५ महिनाको प्रतिबन्ध लागेको थियो।
नापोलीमा म्याराडोनाको यात्रा यही कोकिनका कारण टुंगियो। उनले आफ्नो उचाइ फेरि लिने प्रयास गरे। १५ महिनाको प्रतिबन्धपछि उनी स्पेनिस क्लब सेभियामा गए। त्यसपछि न्युवेल्स ब्वाइजमा गए। दुवै क्लबमा राम्रो प्रदर्शन गरे। अनि सन् १९९४ को विश्वकपका लागि पनि अर्जेन्टिनाको टिममा परे।
विश्वकपमा उनले ग्रिससँगको खेलमा सुन्दर गोल गरे। गोलभन्दा त्यसको सेलिब्रेसन झनै स्मरणीय थियो। तर यसपटक पनि विवाद उनीबाट टाढा थिएन। लागुऔषध परीक्षण असफल भएपछि उनी घर फर्किन बाध्य भए। उनी नापोलीमा रहँदा कोकिनकै कारण प्रशिक्षण र खेलमा पछि उपस्थित हुन सकेनन्। त्यसका लागि उनले जरिवाना पनि तिर्नु परेको थियो।
१५ महिना लामो प्रतिबन्धभन्दा पनि विश्वकपको बीचबाटै घर फर्किन बाध्य हुनु म्याराडोनाका लागि जीवनमा भोगेको दुःखको गहिराइ बन्यो।
झण्डै मृत्युको मुखबाट फर्किएको जीवन
म्याराडोनामा कोकिनको मात्रै होइन रक्सीको लत पनि बसेको थियो। यसले गर्दा उनले सार्वजनिक रुपमा गर्ने व्यवहारले उनलाई थप एक्ल्याउँदै लग्यो। सन् १९९८ मा चार वर्षअघि पत्रकारलाई बन्दुक हानेको आरोपमा उनलाई जेल सजाय पनि भयो। कोकिन र रक्सीको लतका कारण उनको शरीरमा विभिन्न समस्या आए। उनी निकै मोटो भए। सन् २००४ मा उनमा हृदयघातसमेत भयो।
गम्भीर प्रकृतिको हृदयघातले म्याराडोना कोमामा गए। उनको जीवनमा फुटबल थियो। गोल थियो। उपाधि पनि थिए। जसले उनलाई कदभन्दा कयौं गुणा अग्लो बनायो। तर होच्याउन त्योभन्दा पनि कमजोर बनाउन लागि परेका थिए उनको कुलत। पैसा, रक्सी, महिला र कोकिन उनका कमजोरी बनेका थिए। यो गल्तिबाट बाहिर आउन उनलाई होशमा रहेका बेला बल आएन।
जब उनी कोमामा गए त्यसबेला उनकी छोरीले गरेको आग्रहले उनलाई गहिराइबाट बाहिर निस्कन सहयोग ग¥यो। हस्पिटलमै रहेका बेला छोरीले आफ्ना लागि भए पनि यो कुलत छोड्न आग्रह गरिन्। मधुरो सुनिएको यो आग्रहले म्याराडोनालाई बाँध्यो। झण्डै २० वर्ष अघिदेखिको कुलत उनले छोड्ने निर्णय गरे।
म्याराडोनाले कोकिन लिन सुरु गर्दा २४ वर्षका थिए, जुनबेला उनी बार्सिलोनाबाट खेल्थे। पहिले त्यसमै रमाएका म्याराडोनाले कोकिन आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती रहेको स्वीकार गरेका छन्। छोरीको आग्रहले आफूलाई उठाएको बताउने म्याराडोनाले जीवनको अर्को अध्यायको सुरुवात गरे।
प्रशिक्षकको भूमिका र विवाद
त्यो अर्को अध्यायमा उनी प्रशिक्षकका रुपमा देखिए। म्याराडोनाले खेलाडी हुँदा नै प्रशिक्षक बन्ने प्रयास नगरेका होइनन्। सन् १९९१ मा १५ महिनाको प्रतिबन्धमा रहेका बेला डिपोर्टिभो म्यानडियु तथा रेसिङ क्लबमा उनले प्रशिक्षक बन्ने प्रयास गरेका थिए। तर सफल हुन सकेनन्।
त्यसपछि सन् १९९४ र १९९५ मा पनि साथीसँग मिलेर उनले केही क्लबको जिम्मेवारी सम्हाले। तर उनले प्रशिक्षकका रुपमा पूर्ण जिम्मेवारी सन् २००८ मा पाए, जुनबेला उनले कोकिनको कुलत छोडेको चार वर्ष भइसकेको थियो। २९ अक्टोबर २००८ मा उनी अर्जेन्टिना राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भए।
प्रशिक्षकका रुपमा पहिलो खेलमा उनी विजयी भए। स्कटल्याण्डसँगको खेलमा त्यही वर्षको नोभेम्बर १९ मा अर्जेन्टिना १–० ले विजयी भयो। त्यसपछि विश्वकप छनोटमा सुरुका तीन खेल जितेको अर्जेन्टिना चौथो खेलमा बोलिभियासँग ६–१ ले हा¥यो। तर पछिका खेलमा राम्रो गरेर टिमले विश्वकपमा स्थान बनायो।
प्रशिक्षक हुँदा पनि उनले अभद्र भाषा प्रयोग गर्न भने छोडेनन्। त्यही कारण उनले सन् २००९ को अन्त्यमा दुई महिनाको प्रतिबन्ध पनि खेप्नु परेको थियो। तर पनि उनले टिमलाई विश्वकपको यात्रा तय गराए। विश्वकपमा क्वाटरफाइनलमा जर्मनीसँग पराजित भएर उनको टिम बाहिरियो। त्यसपछि उनको राष्ट्रिय टिमको जिम्मेवारी पनि लामो समय रहन सकेन।
सन् २०११ मा उनी दुबईको क्लब अल वास्ल एफसीको प्रशिक्षक बने। एक वर्षपछि उनी बर्खास्तीमा परे। केही वर्ष खाली रहेका उनी २०१७ देखि २०१८ मा एक वर्ष दुबईकै फुजाइराह क्लबको प्रशिक्षक बने। त्यसपछि उनी बेलारुसको डाएनामो ब्रेस्ट र मेक्सिकोको फुटबल क्लब डोराडसमा एक वर्ष प्रशिक्षक रहे। अहिले उनी अर्जेन्टिनाकै ला पाल्टा सहरमा रहेको जिमानासिया ला पाल्टा क्लबको प्रशिक्षक छन्।
बाँकी जीवन तर विवादित
जीवनका सफलताको उकालो र कुलतको आरोलो ओर्लेका म्याराडोनाको यात्रा अहिले स्थिर बनेको छ। कुनै बेला प्रशंसाले घेरिएका अनि आलोचनाले बाँधिएका उनी अहिले स्वतन्त्र छन्। साँचो अर्थमा जीवन बाँचेका छन्।
कुनै बेला आफैं फसेको कुलतविरुद्ध उनी अहिले वकालत गर्छन्। सजिलो अप्ठ्यारो भोगेका म्याराडोनाले अहिले साँच्चिकै फुटबल बाँचेका छन्। किनकि विश्व फुटबलका सर्वकालीन उत्कृष्ट खेलाडीको नाम लिँदा उनको नाम ब्राजिलका पेलेसँगै आउने गर्छ। यसको प्रमाण विश्व फुटबलको प्रशासकीय निकाय फिफाले पेले र म्याराडोनालाई संयुक्त रुपमा बिसौं शताब्दीको उत्कृष्ट खेलाडीका रुपमा नामांकित गर्नु हो।
कुलतलाई जितेका म्याराडोनाले बेला बेलामा भन्ने गरेका छन्, ‘लागुऔषधले बाँच्न दिँदैन, बाँचेर पनि मरे जस्तो बनाइदिन्छ। मात्रै दिन्छ जिउँदो भएजस्तो भ्रम। दिँदैन जीवन।’
म्यारोडोनालाई अहिले पनि सम्झिने केही कारण छन भने ती विवाद हुन । उनले आफ्नो विगत जति स्वर्णिम बनाएका छन । त्यो विगत झस्काइरहन फेरि विवाद शुरु गर्छन र आफ्नो लिगेसी जबर्जस्त रुपमा फुटबल पारखीको दिमागमा घुसाउँछन । साच्ची भन्ने हो भने रिसाहा, सन्की र विवादित नबनुन त म्यारोडोना, म्यारोडोना रहदैन थिए । अहिलेसम्म पेले भइसक्थे ।
बायोग्राफी डटकम लगायत एजेन्सीको सहयोगमा