राणा प्रधानमन्त्रीहरुमा चन्द्र शमशेरले भने धेरै विवाह गरेनन् । केवल १५ वर्षको उमेरमा चन्द्र लोकभक्त लक्ष्मी देवीसँग विवाह गरेका थिए । विसं १९६१ माघ ३० गते चन्द्र लोकभक्त लक्ष्मी देवीको देहान्त भएपछि विसं १९६२ मा बालकुमारीसँग विवाह गरेका थिए ।
बालकुमारीसँग विवाह गर्दा उनी बनारसमा बस्थे । तर उनको माइती गाउँ जाजरकोट थियो । बालकुमारी जाजरकोटी राजा जङ्गबहादुर शाहकी नातिनी थिइन् । जाजरकोट दरबार पुग्न भेरी नदी तर्नुपर्ने बाध्यता थियो । वर्षातमा भेरीलाई डुङ्गाबाट पनि तर्न समस्या हुन्थ्यो । अझ गाउँलेको लागि त अझ कठिन थियो ।
राणा प्रधानमन्त्री चन्द्रशम्शेरले देशैभर अति आवश्यक ठाउँमा पक्की र आधुनिक झोलुङ्गे पुलहरु निर्माण गर्न थालेका थिए । राणाकालमा आफ्नो क्षेत्रमा आधुनिक पक्की झोलुङ्गे पुल निर्माणको लागि पनि अहिलेको झै माथिल्लो निकायसम्म पहुँच हुनुपर्थ्यो । अन्यथा दुर्गम स्थानहरुमा पुलको आवश्यकता रहेको थाहा नै हुँदैन्थ्यो ।
माइती गाउँको समस्यालाई मध्यनजर गर्दै जाजरकोटको भेरी नदीमा पुल राख्नको लागि चन्द्रशम्शेरकी रानी बालकुमारीले चन्द्र शमशेरलाई आग्रह गरिन् । जसले गर्दा चन्द्र शमशेरले तत्कालिन इञ्जिनियर कुमार नरसिंह राणालाई पुलको डिजाइन गर्न लगाए । पुलका सामग्रीहरुको लागि सम्पूर्ण जिम्मा बेलायतको स्कटल्याण्डमा रहेको जोन एम हेन्डरसन कम्पनीलाई नै दिइएको थियो ।
चन्द्रशम्शेरको अगुवाइमा विसं १९५४ देखि नेपालमा झोलुङ्गे पुल राख्ने अभियान नै चलाएका थिए । यी झोलुङ्गे पुलहरु केवल काठमाडौको लागि बनाइएका थिएनन् । दुर्गम गाउँहरुमा पनि राखिएका थिए । ४० वर्ष अगाडिसम्म पनि गुलजार नभएका गाउँहरु नजिकैका खोलाहरुमा पनि झोलुङ्गे पुलहरु बनाइएका थिए ।
झोलुङ्गे पुलको लागि आबश्यक फलामे सामानहरुको लागि नजिकैको भारत होइन । यूरोपको एक छेउमा रहेको स्कटल्याण्डको उत्तरी शहर एबरडीनसँग नाता गाँसिएको थियो । भौगोलिक रुपले भनौ भने ७००० किमी भन्दा टाढा थियो । तर त्यहाँ देखि आजभन्दा ११८ वर्ष अगाडि फलामे सामग्रीहरु ल्याएर नेपालमा झोलुङ्गे पुलहरु बनाइएका थिए । अहिलेका दलिय नेताहरुमा त्यतिको सोच भेटिदैन ।
नेपालमा पहिलो झोलुङ्गे पुल विसं १९५७ मा नुवाकोटको त्रिशुली नदीमा बनाएका थिए । त्यसबेला झोलुङ्गे पुलका सम्पूर्ण निर्माण सामग्रीको जिम्मा भने स्कटल्याण्डको एबरडीनमा रहेको लुइस हार्पर एण्ड कम्पनीलाई दिइएको थियो । यस कम्पनीले विसं १९६७ सम्म १० वर्षको अवधीमा नेपालमा जम्मा ७ वटा आधुनिक झोलुङ्गे पुलको निर्माण गरे ।
विभिन्न कारणवस लुइस हार्पर एण्ड कम्पनीले विसं १९६७ पछि झोलुङ्गे पुलको निर्माण सामग्री बनाउन बन्द गरे । तर नेपालले भने लुइस एण्ड हार्पर कम्पनी बन्द हुनु केही अगाडि नै स्कटल्याण्डको एबरडीनमा रहेको अर्को कम्पनी जोन एम हेन्डरसनलाई आधुनिक झोलुङ्गे पुल निर्माणको जिम्मा दिएको थियो । यस कम्पनीले भने नेपालमा सय भन्दा बढी झोलुङ्गे पुल बनाएका थिए ।
जोन एम हेन्डरसन कम्पनी, एबरडीन, स्कटल्याण्डमा रहेको पुल तथा अन्य कामको लागि आबश्यक फलामका लट्ठा तथा केबलहरु तैयार बनाउने कम्पनी थियो । यस कम्पनीका एक्ला मालिक जोन मैकडोनाल्ड हेन्डरसन एक प्रतिभाशाली इञ्जिनियर थिए । केही न केही नयाँ प्रयोग गरिरहने यि इञ्जिनियरले सन १८६६ मा आफ्नै कम्पनी खोलेर बिभिन्न निर्माण सामग्रीहरु तैयार गर्न थालेका थिए । १८८० सम्म आइपुग्दा फलामे पुलका सामग्रीहरु तैयार गर्न थालका थिए भने १९२७ मा आइपुग्दा पानीजहाज कारखाना पनि शुरु गरेका थिए ।
जोन एम हेन्डरसनले नेपालमा पहिलो झोलुङ्गे पुल सिन्धुली र रामेछापको बिचमा सुनकोशी नदी माथि खुर्कोटमा विसं १९६४ बनाएका थिए । यसरी झोलुङ्गे पुल बनाउने जिम्मा पाएको जोन एम हेन्डरसनले जाजरकोटको मटेलामा पनि भेरी नदी माथि झोलुङ्गे पुल बनाउने जिम्मा पायो । डिजाइनका लागि इञ्जिनियर कुमार नरसिंह राणालाई जिम्मा दिए पनि पुलको सर्भे गर्न भने बेलायती इञ्जिनियरहरु नै आएका थिए ।
झोलुङ्गे पुलका लागि आबश्यक सामग्रीहरु स्कटल्याण्डदेखि कलकत्ता सम्म पानी जहाजमा ल्याइएको थियो भने कलकत्तादेखि भारतीय शहर बहराइच सम्म रेलमा ल्याइएको थियो । बहराइचबाट भारतीय सिमा कोइलावास सम्म भारतीय मजदूरहरुले बोकेर ल्याइएको थियो ।
कोइलावासबाट मटेलासम्म भने हात्ती तथा जाजरकोटी जनताहरुले बोकेर ल्याएका थिए । सम्पूर्ण सामग्री ढुवानी गर्न स्थानिय जनता र २० वटा हात्तीलाई झण्डै दुइ महिना लागेको थियो । सयौ स्थानिय जनताले दुइ छाक खाना मात्र खाएर निःशुल्क पुल निर्माणमा श्रमदान गरेका थिए ।
९० मीटर लामो यो पुल विसं १९८२ मा तयार भएको थियो । पुल तयार भएपछि जनताहरु धेरै खुसी भएका थिए । राणा प्रधानमन्त्री चन्द्र शमशेरको जयजयकार गरेका थिए । मटेलाको पुल नामले अहिले पनि प्रख्यात यो झोलुङ्गे पुल हाल भने जीर्ण हुन थालेको छ । हाल भेरी नगरपालिका वडानम्बर ११ मा रहेको यस पुलको समयमा नै संरक्षण तथा पूनर्निर्माणमा समयमा नै ध्यान नदिने हो भने मटेलाको पुल पनि इतिहासमा नै हराउन सक्नेछ ।
चन्द्रशम्शेरले मटेलाको पुल निर्माणको समयमा नै खलंगाबासीलाई पिउने पानीको पनि समस्या रहेको अवगत गराएपछि खलंगामा १० वटा कलधारा पनि निर्माण गराएका थिए ।
बुदबुदीमा पानीको ट्याङ्की निर्माण गराइ खलंगा विसं १९८४ मा पानी आपूर्तिको ब्यबस्था गरिएको थियो । जाजरकोट दरवारमा एक, चन्द्रशम्शेरको ससुराली हरिबिक्रम शाहको घरमा एक, ठाँटीबजारमा एक तथा अन्य सर्वसाधारण जनताका लागि ६ वटा सार्वजनिक कलधारा जडान गरिएको थियो ।
(यो सामग्री तयार पार्ने सुनिल उलक इतिहासकार हुन् । हामीले यो सामग्री प्रस्तुत गर्न पाउँदा उलकप्रति आभारी छौँ – सम्पादक )