काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले स्थानिय तहहरुलाई पनि खाद्यान्न दिदै आएको छ । कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले राहत वितरणका लागि भन्दै स्थानिय तहले पनि खाद्यान्न लगेका बताएकी हुन ।
ललितपुर महानगरपालिकाका २९ वटै वडा, किर्तिपुरका सम्पूर्ण वडा, काठमाडौं महानगरपालिकाका अधिकांश वडाहरुका लागि कर्पोरेशनबाट सामान उठाएका छन् ।
बुढानिलकण्ठ र चन्द्रागिरीबाट पनि बुझ्न कर्पोरेशनमा पुगेका छन । गत विहिवार र शुक्रबार कालिमाटीमा भिड थियो । राहतका लागि भनेर आउने मोटरहरुको लाम पनि निकै लामो छ । उपत्यका बाहिर चाहि राहतका लागि भनेर अधिकांश ठाउँमा नुन र चिनी लगेका उनले बताइन ।
त्यस्तै बिक्री कार्यलाई ब्यवस्थित तुल्याउने हेतुले हामीले उपत्यका स्थित पाँच स्थानमा बिक्री कक्ष संचालनमा भइरहेको र उपत्यकामा ३ वटा मोबाइल भ्यान परिचालन गरिएको श्रेष्ठले जानकारी दिइन । चितवनमा खुद्रा पसल संचालित छ भने देशैभर जति पनि हाम्रा कार्यालय र डिपोहरु छन् ।
सो स्थानहरु मध्ये सम्पूर्ण स्थानबाट सर्वसाधारण समेतलाई नुन बिक्री भइरहेको छ । संभव रहेका स्थानमा चिनी पनि बिक्री गर्दै आएको साथै कैलालीको धनगढीमा नगरपालिका स्वयले मोटरको ब्यवस्था मिलाएकाले घुम्ती सेवा मार्फत पनि खाद्यान्न बिक्री गर्न थालिएको छ ।
एक बर्षलाई खाद्यान्न मौज्दात
लकडाउन लम्बिदै जाँदा नुन र चिनीको अभाव हुन्छ कि भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रस्ट पार्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नौदेखी दश महिनासम्मलाई पुग्ने नुनको मौज्दात राखिएको छ ।
चिनीको हकमा राहतका लागि एकै चोटी बढि परिणाम पालिका सरकारले लिइरहेका छन । अहिलेको परिस्थितीलाई हेर्दा घरायसी प्रयोजनका लागि करिब एक डेढ महिनालाई पुग्ने मौज्दात हामीसँग छ, त्यस बाहेक अघिपछि पनि हाम्रो नियमित स्टलसम्म आउनु हुने हाम्रा नियमित ग्राहक र सबै त होईन अन्य सिमित महानुभावको माग धान्ने गरि अझ भनौ एक डेढ महिनासम्मका लागि चामल, तेल, गेडागुडी, चियापत्ती आदी वस्तुहरु हामी दिन सक्छौ, साथै ग्यासको पनि समस्या नरहेको उनको भनाई छ ।
आयातमा अवरोध नभएका कारण सामान आउने क्रम पनि जारी छ । मजदुर अभावका कारण लोड अनलोडमा आँशिक समस्या देखिकाले केही खाद्यान्नहरु आउन केही समय लाग्न सक्ने उनको भनाई छ ।
नुन र चिनीको बजार माग अत्याधिक रहेको जानकारी दिदै उनले नुनको खुद्रा मुल्य प्रति केजी २० रुपैया र चिनी प्रति केजी ७३ रुपैया रहेको पनि स्पष्ट पारिन । त्यसैगरि, कर्पोरेशनका विभागिय प्रबन्धक पंकज जोशीले मोबाईल भ्यान मार्फत प्रवाह हुँदै आएको बताए ।
उनका अनुसार दैनिक ३ वटा मोबाईल भ्यान मार्फत उपत्यका स्थित नौ दश स्थानसम्म पुगी कर्पोरेशनले खाद्यान्न बिक्री गर्दै आएको छ । हालसम्म भित्री शहरी बस्ती क्षेत्र देखी लिएर काठ क्षेत्रसम्म गरि करिब एक सय साठि सत्तरी टोल छिमेकसम्म पुगिसकेको छ, यो निरन्तर जारी छ । मोबाईल भ्यान मार्फत नुन, चिनी, आटा, मैदा, चामल, सेनिटाईजर लगायतका अत्यावश्यकिय सामाग्रीहरु बिक्री भइरहेको छ ।
इन्डक्सन चुलोको पनि बिक्री शुरु
उनका अनुसार केही दिन यताबाट इन्डक्सन चुलो पनि बिक्री शुरु गरिएको छ । गर्न थालिएको छ । बजार माग र पकेट क्षेत्रको आधारमा स्थान छनौट गर्ने गरिएको छ । कर्पोरेशनबाट स्थानिय तह बाहेक पनि चेम्बर अफ कमर्श, उद्योग वाणिज्य संघ र अन्य संघ संस्थाहरुले राहतका लागि भनेर खाद्य सामाग्री लगेको उनले बताए ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालको जटिल परिस्थितीको गाम्भिर्यतालाई मनन गर्दै अत्यावश्यक सामाग्री खरिदका क्रममा सामाजिक दुरी कायम राख्न आम उपभोक्ता वर्गमा आग्रह गर्नुका साथै आफूलाई आवश्यक पर्ने अत्यावश्यक सामाग्रीको लागि कर्पोरेशनलाई खबर गरेको अवस्थामा घर टोलसम्म सामाग्री पुर्याउने जिम्मेवारी साल्ट ट्रेडिङले पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन ।