काठमाडौँ : बुद्धिसागर नेपाली साहित्यमा चर्चित नाम हो । जसले त्यो बेला कैलालीदेखि कालिकोटसम्मको हाट यात्राबारेको कर्णाली ब्लुज लेखेर आफ्नो नाम कमाए । मीनबहादुर भाम मुगुका हुन् । जसले कालो पोथी नामको फिल्म बनाएर नेपाली फिल्म क्षेत्रमा कर्णालीको अर्गानिक स्वाद दिए ।
यस्ता नाम कर्णालीमा सयौँ छन् । तीमध्ये एक हुन्, हिरा बिजुली । जो १० वर्षदेखि कर्णालीमा थियटर खोल्ने सपना पूरा गर्न संघर्ष गरेर लागिरहेका छन् । मुगुको भामबाडामा जन्मिएर उच्च शिक्षाका लागि काठमाडौँ आएका हिराले ६० को दशकमा नाटक सिकेका हुन् ।
नाटक सिकेपछि काठमाडौँलाई उनले कर्णालीको नाटकको स्वाद चखाए । कर्णाली दख्खिन बग्दो छ नाटक खेलेर यसबारे पर्याप्त सम्भावना देखाएका बिजुली अहिले काठमाडौँ, मुगु र सर्खेत ओहोरदोहोर गरिरहन्छन् ।
यसबीचमा उनको ठूलो सपना कर्णालीमा नाटकघर अर्थात थियटर खोल्ने छ । जसका लागि उनले २०६८ सालदेखि निरन्तर प्रयास गरिहेका छन् । तर पनि सकेका छैनन् ।
'हामीले जग्गा लिजमा लिएर भएपनि नाटकघर खोल्ने योजनासहित निरन्तर प्रयास गरिरहेका छौँ' उनले कर्णाली खबरसँगको कुराकानीमा भने, 'तर अहिलेसम्म पनि कर्णालीमा थियटर खोल्न सकिएको छैन ।'
उनले यसका लागि स्थानीय तह, कर्णाली प्रदेश सरकारदेखि केन्द्रीय नेताहरुसँग पनि हार गुहार गरेको सुनाए । तर सबैले चाखलाग्दो तरिकाले सुनेपनि बचन पूरा गर्न नसकेको उनको भनाई छ ।
कर्णालीमा कला र साहित्यको प्रचुर सम्भावना छ । कर्णालीका हरेक बस्तीमा कला र साहित्य लुकेको छ । त्यसलाई बाहिर ल्याउन थियटरको आवश्यकता टड्कारो भएको उनको भनाइ छ ।
यसका लागि कर्णाली प्रदेश सरकार जिम्मेवार भएर लाग्नुपर्ने पनि उनी बताउँछन् । 'हामीले पटक पटक प्रयास गरेका छौँ । मन्त्रीदेखि मुख्यमन्त्रीसम्मलाई भनेका छौ,' उनले भने, 'तर सम्बोधन भएको छैन । अब चन्दा मागेर भएपनि कर्णालीमा नाटकघर खोल्ने योजना साकार पार्ने योजना छ ।'
यतिबेला काठमाडौँ आएका उनी कर्णालीमा नाटकघर खोल्नेबारे छलफल तथा परामर्श गरिरहेका छन् । कति स्वदेशी र कति विदेशीसँग पनि उनी निरन्तर छलफल गरिरहेका छन् । कर्णाली आर्टस् सेन्टर खोलेर कर्णालीमा रंगमञ्चको थियटर सपना पूरा गर्न लागिरहेका बिजुली सबैको साथ सहयोगको आवश्यकता रहेको पनि औल्याइरहेका छन् ।
'हामी सिर्फ हाम्रा लागि थियटर खोल्न लागेका होइनौँ,' उनले कर्णाली खबरसँग भने, 'थियटर गर्न काठमाडौँ आउनुपर्ने बाध्यता, कला सिक्न राजधानी पुग्नुपर्ने सकस र नयाँ पुस्ताका लागि आफ्नै माटोमा कला सिक्न पाउने अवसर दिलाउन थियटर खोल्न लागेका हौँ । आशा छ, यो चाडैँ पूरा गर्नेछौँ ।'