सिमकोटः न बाटो छ , न भुगोलको अनुभव सुरक्षाकर्मीलाई तर पनि उत्तरी चीनसँगका सिमा स्तम्भहरुको अनुगमन गर्न जाने भर्ने बाध्यता रहेको छ ।
सिमानाको सुरक्षा गर्ने र अनुगमन गर्ने मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले पछिल्लो समय यस्तै समस्या भोग्दै ३ नम्बर सिमास्तम्भमा पुग्नु परेको थियो ।
पाँच हजार मिटर अग्ला स्थानमा निर्माण भएका चीन र नेपालका सीमास्तम्भरुको अनुमगन गर्न सुरक्षाकर्मीलाई सास्ती खेप्नु परेको ।
कतै बस्ती नै नभएका ती क्षेत्रमा रहेका सीमास्तम्भहरुको अनुगमन गर्न सुरक्षाकर्मीले खर्कका गोठालासँग रात बिताउँनु पर्ने र उच्त लेकमा लेक लाग्ने समस्याबीच अनुगमन गर्नु पर्ने बाध्यता रहदै आएको हो ।
चिसोबाट बच्नु , लेक लाग्ने समस्याबाट जोखिनु, बासको समस्या, हिउँ छिचोल्नु पर्ने र पैदल हिड्दा थकानकाबीच उत्तरी चीनसँगका सीमास्तम्भहरुको अनुगमन गर्न सशस्त्र प्रहरी बाध्य हुँदै आएको छ ।
त्यसमाथि पाँच हजार मिटर अग्ला हिमालमा चढ्दा अक्सिजनको कमी अर्को समस्या छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरीका डिएसपी गेहेन्द्र भण्डारीले चुनौतीका बिच सिमास्तम्भको अनुगमन गर्नु पर्ने बताए ।
दुख भएपनि सुरक्षाकर्मी हालसम्म सरकारी पक्ष नपुगेको ठाउँमा पुग्न पाउदा र सीमास्तम्भको अनुगमन गर्दा भने दुख बिर्सने गरेको बताउछन् ।
पिलर नम्बर ३ मा पुग्यो सुरक्षाकर्मी
नाँम्खा गाउँपालिका– ५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमास्तम्भ नम्बर ३ मा सशस्त्र प्रहरी बलको एक टोली पहिलो पटक पुगेको छ ।
स्थापना भएदेखि जिल्लाबाट हालसम्म सरकारी स्तरमा उक्त सीमास्तम्भको अनुगमन नभएको बेला सशस्त्र प्रहरीका डीएसपी गेहेन्द्र भण्डारीको टोलीले निक्कै सास्ती खेपेर सो स्थानको अनुगमन गर्न सफल भएको हो ।
सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरीका डिएसपी भण्डारी नेतृत्वको टोली उक्त सीमास्तम्भमा पुग्न सफल भएको हो ।
उनले केही बाटो गाडीमा जाँदा तीन दिन पैदल लगाएर ३ नम्बर स्तम्भमा पुगेको जानकारी दिए । पाँच हजार १०८ मिटर अग्लो स्थानमा रहेको सिमा स्तम्भमा पुग्न सहज भने नभएको उनले बताए ।
कतै पाटन, कतै उकालो, भीर पाखा छिचोलेर टोली उक्त स्थानमा पुग्न सफल भएको हो । टोलीले पाँच हजार दुई मिटर अग्लो स्थानसम्म चढ्नु परेको थियो ।
सशस्त्रको हेड क्वाटर रहेको सदरमुकाम सिमकोटको ४४ नम्बर गुल्मबाट नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को यारीसम्म कर्णाली करिडोरको सडक हुँदै गाडीमा पुगेको टोली पहिलो दिन उतै बास बस्नु परेको थियो ।
सिमास्तम्भको मुख्य अनुगमनको जिम्मा पाएको टोलीले त्यसको पछिल्लो दिन नेम, ह्याङ्सी हुँदै घी खर्कमा दोस्रो बास बसेको थिलो ।
तेस्रो दिन याङ्जो पोखरी, चिलिमे भञ्ज्याङस्थित ३ नम्बर सिमास्तम्भमा पुग्न सफल भएको होे । नेपाल र चीनको ३ नम्बर सिमास्तम्भ सुरक्षित रुपमा रहेको प्रहरी बताउछ ।
हिड्ने बाटो नभएको अग्लो पाटनमा सुरक्षाकर्मीको हातमा रहेको जिपिएसको भरमा टोली स्तम्भको पहिचान गर्न सफल भएको हो ।
अक्सिजनको मात्रा कम भएको कारण लेक लाग्ने उत्तिक्कै संभावना रहेको सो क्षेत्रमा सशस्त्रको सुरक्षाकर्मी संभावित आउन सक्ने चुनौतीलाई सामना गरेर अगाडी बढेको थियो ।
उनले भाग्यबस टोलीका कुनै पनि सदस्यहरुलाई केही नभएको र सुरक्षित रुपमा स्तम्भमा पगेर अनुगमन गरि टोली फर्केको जानकारी दिए ।
टोली सिमानामा पुगेको दश मिनेटपछि कुहिरोले ढाक्दा केही समय अगाडी नपुगेको भए पश्चतापमा पर्ने थियो । पछि सिमास्तम्भ भएको स्थान कुहिरोले ढाक्दा पहिले देखिएको पिलर पनि देखिन छोडेको थियो ।
दश देखि एघार महिना हिउँले ढाक्ने सो क्षेत्रमा उपयुक्त समयमा गएको कारण सिमास्तम्भको पहिचान गर्न सफल भएको हो । टोलीले आफुलाई आबश्यक पर्ने सबै कुरा बोकेर सिमानाको अनुगमन निस्कनु परेको थियो ।
उनले बस्ती कतै नभएको कारण ब्यवस्थित रुपमा जानुको अन्य कुनै विकल्प नरहेको बताए ।
सुरक्षाकर्मीको टोलीले एउटा खर्कमा बाहेक अन्य कतै मानिसहरुसंग भेटघाट समेत भएको थिएन । डिएसपी भण्डारीको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीका सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।
टोलीले आधारभुत औषधी समेत बोकेको थियो । एक हप्ता लामो समय लगाएर डिएसपी भण्डारी नेतृत्वको टोली सिमा अनुगमन गरेर फर्केको थियो।