कञ्चनपुर : कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक बढ्न थालेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ । बजार, सार्वजनिकस्थल र सार्वजनिक सवारीसाधनमा बढ्दो भिडाभाडसँगै स्वास्थ्यका मापदण्ड पालना नगर्दा कोरोना सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्न थालेको हो ।
बिहीबार मात्रै भीमदत्त नगरपालिकामा चार, दोधारा चाँदनीमा एक, कृष्णपुरमा एक, पुर्नर्वासमा दुई र गड्डाचौकीमा एक जना गरी नौ जनामा सङ्क्रमण देखिएको छ । गएको पाँच दिनको अवधिमै ६६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमण देखिएकामध्ये चारको आइसोलेशनमा र ११६ को होम आइसोलेशनमा उपचार भइरहेको छ । वैशाख महिनादेखि हालसम्म छ हजार ९९१ जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ८२३ जनामा कोरोना सङ्क्रमण देखा परेको थियो ।
त्यसैगरी २९ हजार ५०१ जनाको एन्टेजेन परीक्षण गर्दा दुई हजार ४५९ जनामा सङ्क्रमण देखिएको थियो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार २११ पुगेको छ । तीमध्ये सात हजार ८८५ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणबाटै कञ्चनपुरमा १८८ जनाले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमण बढ्न थालेपछि स्थानीय तहले सक्रियता देखाउन थालेका छन् । स्थानीय तहले सरोकारवालासँग छलफल गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुझाव लिने र योजना बनाउने कार्य अगाडि बढाएका छन् । शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले कोरोना रोकथामका लागि योजना बनाउनका लागि सरोकारवालासँग छलफल गरी सुझाव माग गरिएको बताए ।
सुझावअनुसार नगरपालिका क्षेत्रभित्रका मुख्य बजारमा हुने भिडभाड नियन्त्रण गर्नका लागि प्रहरीसँग समन्वय गरी स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न लगाउने कार्यमा जुटेका छौँ । मास्क नलगाई बजार क्षेत्रमा हिँडडुल गर्ने कार्यलाई निरुत्साहित गर्नका लागि प्रहरीले कडाइ गर्न थालेको छ ।” बजार क्षेत्रमा मास्क नलगाइ हिँडेको पाइए सम्झाउने बुझाउने र मास्क लगाउनका लागि अह्राउने कार्य भइरहेको छ । मास्कको व्यवस्था गर्न नसक्ने व्यक्तिलाई निःशुल्करुपमा मास्क उपलव्ध गराउने व्यवस्था भइरहेको बताए । कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै नगरपालिकामा रहेको कोभिड अस्पतालमा अक्सिजन, औषधिको व्यवस्थाका लागि स्वास्थ्य शाखालाई निर्देशन दिइसकिएको उनको भनाइ छ ।
यसैगरी पुर्नर्वास नगरपालिकाले उपलब्ध संरचना तथा सेवा, होल्डिङ सेन्टर, स्वास्थ्य तथा सहायता कक्षको व्यवस्थापन र स्तरोन्नति गर्ने कार्यलाई अगाडि बढाएको छ । नगर प्रमुख जीवनराज थापाले कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै सर्तकता अपनाइएको बताए । “कोभिड–१९ विरुद्ध प्रतिकार्यका लागि योजना तथा कार्यविधि निर्माण गर्ने कार्यलाई समेत अगाडि बढाएका छौँ ।
नगरपालिकासँग जोडिएको सीमानाका डोकेबजार गौरिफण्टालाई स्वास्थ्य जाँचको कार्यलाई व्यवस्थित बनाउनका लागि गैरसरकारी सङ्घसंस्था र प्रदेश सरकारसँग समन्वय गरी अगाडि बढेका छौँ । रासस