खलंगा : जब हिमाली कालो भालुको चाल प्राकृतिक वासस्थान भित्रै स्वतन्त्र हुन्छन् त्यसबेला प्रकृतिले पनि गर्व गरिरहेको हुन्छ । जब भालुले बाटो बदल्छ, उसको सिधा ‘फाइट’ मानिससँगै हुन्छ ।
विहिबार बाटो बिराएको एउटा हिमाली कालो प्रजातिको भालु जुम्लाको खलंगा बजारमा आयो । तीनजना मानिसलाई आक्रमण गर्यो ।
जुम्लाको जंगलमा बेलाबेलामा डढेलो लाग्ने गरेको छ । डाँडा काँडा नाङ्यो भएका छन् । नयाँ रुख बिरुवा रोपिएका छैनन् । जुनसुकै ठाउँमा पनि मानिसहरुको बाक्लो उपस्थिती छ । यति जंगल फडानी गरेर घर टहरा बनाइरहेका छन् ।
अधिकांश क्षेत्रमा वन विनाश भइरहेको छ । जसका कारण जंगली जनावरहरु बजार क्षेत्रमा पसिरहेका छन् । ती जनावरहरुले मानिसहरुलाई आक्रमण गर्ने समेत गरिरहेका छन् । यो कहिलेसम्म ?
बिहिबार बजार पसेको भालुलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको टोलीले गोली हानेर मार्यो । त्यो भालु भोक मेटाउन आहाराको खोजीमा थियो । खलंगाको मुख्य बजारको आँगनमा रहेको धारामा पस्यो । र, दुई दम्पतीलाई आक्रमण गर्यो ।
आक्रमणमा पर्ने मोबाइल पसल राखेका दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका– ९ घर भइ हाल जुम्ला सदरमुकाम खलंगा कार्कीबाडा बस्दै आएका २९ वर्षीय हिमबहादुर रोकाया र २६ वर्षीया उनकी पत्नी निर्मला थापा रोकाया हुन् ।
हिमबहादुर सामान्य घाइते भएकाले अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पत्नी निर्मलाको अनुहारको अप्रेशन भइरहेकोे छ । यस्तै सदरमुकाम क्षेत्रमा भालुको खोजी भइरहेका बेला नजिकैको चन्दननाथ नगरपालिका- ४ सिंगाचौरका २५ वर्षीय आशिष नेपालीलाई समेत भालुले आक्रमण गरेको थियो ।
नेपालीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । भालुले आक्रमण गरेपछि एकाबिहानैदेखि मानिसहरुको चहल पहल बढी भइरहेको थियो ।
बजारमा भालु पसेको खबर पाउन वित्तिकै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयको टोली भालुलाई नियन्त्रणमा लिन र जंगल तीर पठाउने प्रयत्न गरिरहेका थिए ।
टोलीले भाुललाई सुरक्षित पूर्वक जंगलतिर लखेट्न खोज्दा सुरक्षाकर्मीमाथि नै आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिन सकिएको थिएन । भालु सिंगाचौर गाउँको एक घरको तल्लो तलामा (गोठ) बसेको थियो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी दानबहादुर थापाले सकभर भालुलाई सुरक्षित जंगल तिर पठाउने प्रयत्न भइरहेको बताएका थिए ।
घरबाट बाहिर निकाल्न अनेक प्रयत्न भए । घरबाहिर कराउनेदेखि ग्याँस हान्नेसम्मका कार्य पनि भए । तर भालु टस न मस भयो । न भालु बाहिर निस्कियो । नत कुनै प्रतिक्रिया नै दियो ।
नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले भने, ‘घरमुलीसँगको सल्लाहमा छतदेखि भत्काएर भालु भगाउने प्रयत्न भइरहेको थियो । भालुले उल्टै सुरक्षाकर्मीलाई चिथोर्न खोज्थ्यो ।’
जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारीले भालुलाई गोली हानेर मार्ने आदेश दिएपछि गोली हानियो । भालु मर्यो । डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजङ्ग खत्री सुरक्षितस्थल तिर लखेट्न खोज्दा समेत भालु गाउँ पसेर आतंक मच्चाउन थालेपछि गोली हानी मारिएको बताउँछन् ।
गाउँ पसेको भालु सहजै रुपमा नियन्त्रणमा नआउने देखियो । गाउँमा कोलाहल मच्चियो । भालुदेखि सुरक्षित हुन निकै कठिन बन्यो । तर भालु गाउँदेखि भगाउने कुनै पनि उपाय सफल हुन सकेनन् । झन भालुले गाउँमै बसेर मानवीय क्षति गर्ने संकेत देखियो । भालु बहुला प्रकृतिको, नरभक्षी प्रकारको थियो ।
भालुको आतंकले सदरमुकाम खलंगा नै त्रसित बन्यो । सात घण्टाको तनावपछि भालुलाई गोली हान्न बाध्य भएको डिभिजन वन कार्यालय जुम्लाले जनाएको छ ।
भालुले नछोड्ने संकेत देखिएपछि गाउँलेले भालु मारिदिन स्थानीय प्रहरी प्रशासनलाई आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाइले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम गोली हान्ने आदेश दिएको बताइन् ।
'ऐनमा कुनै पनि जंगली जनावरले वनक्षेत्र बाहिर गएर मानिस वा घरपालुवा पशुपंक्षीलाई धेरै नोक्सान गर्ने वन्यजन्तुलाई मार्नु पर्ने ठहराएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन र लखेट्न सकिने व्यवस्था छ ' उनले भनिन् ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना डिभिजन वन कार्यालयको सक्रियतामा मारिएको भालुलाई डिभिजन वन कार्यालयमा लिएर पशु प्राविधिकले मृत घोषित गरेका थिए ।
बिहिबार ४ बजेको झिसमिसे बिहान जब त्यो भालु आहाराको खोजीमा बजार आएर मानिसलाई झम्टियो । उसले जंगलमा आहारा पाएको थिएन । भोको भालु आहाराको खोजीमा गाउँ पसेको थियो । यसले आहारा होइन् गोली खानु पर्यो ।
भालुले बस्तीमा वितण्डा गर्यो, मानिसले उसको वासस्थानमाथि..
वन्यजन्तु संरक्षण ऐन अनुसार मार्न नपाइने भन्ने प्रष्ट छ । तर जुम्ला आएर आक्रमण गर्ने यो पहिलो भालु होइन । यस अघिपनि नेपाली सेना, प्रहरी लगायतको टोलीले यसैगरी जुम्लामा भालुलाई गोली हानेर मारेका छन् ।
भालुलाई कुनैपनि सुइ औषधि प्रयोग गरिदैन् । प्रयोग गरिन्छ् प्रमुख जिल्ला अधिकारीको आदेश र नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको गोली ।
मानिसहरु पनि त्यस्ता जनावर भेटेपछि उनीहरुको ज्यानै लिने प्रयत्न गर्छन् । नसके हल्लीखल्ली गरेर त्यसलाई जंगलतीर लखेट्छन् ।
जुम्लामा योसहित चार वटा भालुलाई मारिसकेका छन् । भालु आहाराको खोजीमा बस्तीमा पस्ने अनि यसले मानवीय क्षेति गर्छ भन्दै उसलाई गोली हानेर मारिदिने । गोलि हानेर मारेका भालुले वालीनाली क्षति गरेपनि मानवीय क्षति नगरेको स्थानीय बताउँछन् । बाँच्नका लागि संघर्ष त, हरेक प्राणिको नियमनै हो । तर त्यही टकरावले उसलाई मार्नु के सही हो ?
एउटा भनाइ छः ‘भगवानले जनावरलाई प्रेम गरेर जंगल बनायो । तर, मान्छेले जनावरलाई प्रेम देखाउन पिँजडा बनायो । ’ मानिस र प्रकृतिबीचको तालमेल यही भएर बिग्रिएको हो ।
जनावर र मानिस वर्षौ प्रकृतिसँग छन् ....
जब एकअर्काको ‘अस्तित्व’मा प्रभाव पार्न खोजेपछि द्धन्द सुरु हुन्छ् । ‘मानिसहरुको जनसंख्या बढीरहेको छ । जंगल जताततै जंगल फडानी भइरहेको छ । जंगलभित्रै मानिसहरुले घर टहरा भनाइरहेका छन् ।
जंगली जनावरको वासस्थान उठाइदिएका छन् । समुदाय अनि राज्यस्तरकै प्रयासबाट अहिले जंगली जनावरको संरक्षणको लागी भनेर संरक्षण ऐन बनाएका छन् । विडम्बना जुम्लामा प्रमुख जिल्ला अधिकारीको आदेशले आहाराको खोजीमा रहेका जंगली जनावरहरुलाई मारिरहेका छन् ।
वन्यजन्तुको संख्या त बढ्यो तर, वासस्थान मानिसहरुले भत्काइदिएका छन् । वन्यजन्तु संरक्षण नहुँदा जुम्ला जिल्ला वरिपरी झनै यस्ता घटनाहरु घटिरहेका छन् ।
भालुको बजासमा चहल पहल सुरु भएको पाँच वर्ष जति भयो । मानिसहरुले पनि भालुको वासस्थान भत्काएको उत्तिकै भयो ।यसबीचमा सीडीओोको आदेशले भालुलाई मार्ने गरिएको छ । जुम्लामा वन क्षेत्रको जग्गा अतिक्रमण साथै वन्यजन्तु तथा वासस्थान संरक्षणका विषयमा सम्बन्धीत निकायले चाँसो दिएका छैन् । अझै निकायनै हत्या गर्नुपर्छ भन्ने चाँसो देखाइरहेका छन् । यो वन्यजन्तुका लागि उपयुक्त हो ?
डिभिजन वन कार्यालय जुम्लाले वनन्यजन्तु संरक्षण सम्बन्धी कुनै पनि कार्यक्रम गरेको छैन । सरकारी वन क्षेत्र अतिक्रमण भइरहेको अवस्था र आगामी दिनकालागी रणनीति नअपनाउँदा वन्यजन्तु दिनौँ मारिदै गएका छन् ।
डिभिजन वन कार्यालयले सरोकारवाला निकायहरुबीच समन्वय स्थापित गर्न र ऐन, कानुनले निर्देशित कार्य सञ्चालन गर्ने कार्य गरेको छैन । यसको व्यवस्थापनको चुनौती थपिएको छ ।
त्यसका लागि वन कार्यालयले उसको आहाराको विशेष ब्यवस्थापन गर्न जरुरी देखिन्छ । दिनदाहडै भालु मानिसको चहल पहल भइरहेको छ । सीडीओको आदेशले यस्ता वन्यजन्तु संरक्षण भन्दा गोली कहिलेसम्म हान्ने ?
यो पनि पढौं...